महोत्तरी । रेडबुक उपलब्ध नगराएको भन्दै महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकामा सोमबार तालाबन्दी गरिएको छ । सो नगरपालिकाको विभिन्न शाखाहरूमा जनप्रतिनिधिहरूले नै तालाबन्दी गरेका हुन् ।
आइतबार सो नगरपालिकाका सबै वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूसहित ४०–४५ जनाको समूहले निमित्त प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा, लेखा शाखा, प्राविधिक शाखा र वरिष्ठ इन्जिनियरसहितको कोठामा तालाबन्दी गरेको जनाइएको छ ।
स्थानीय सरकार सञ्चालन ऐनमा भएको कानुन बमोजिम नगरसभा भएको मितिदेखि १५ दिनभित्र रेड बुक सर्वसाधारण जनतालाई पनि देखाउने गरी सार्वजनिक गर्नुपर्ने कानुन प्रष्ट रूपमा भए पनि हालसम्म बोर्डको सदस्य समेतलाइ पटकपटक माग गर्दा पनि रेड बुक उपलब्ध नगराएको जनप्रतिनिधिको आरोप छ ।
यसैगरी नगरसभा भएको नौ महिना बितिसक्दा पनि कुनै योजना सञ्चालन नगराएको, पटकपटक मौखिकरूपमा भन्दासमेत हालसम्म बोर्डको नियमित बैठक नगराएको, डोर कर्मचारीलाई डोर हाजिर काजमा नौ महिना बितिसक्दा पनि तलब–भत्ता नदिएको, नगरसभाको नौ महिना बितिसके पनि हालसम्म स्वास्थ्यचौकीका लागि औषधि खरिद नगराएको भन्दै तालाबन्दी गरिएको बताइएको छ ।
कार्यलयमा तालाबन्दी गर्ने क्रममा जनप्रतिनिधिको आरोप छ, आर्थिक वर्ष २०८०÷०८१ को भुक्तानी भएको शीर्षकको प्रतिलिपी उपलब्ध नगराएको, हालसम्म किसानहरूको हकहितको लागि कुनै पनि योजनाहरू नराखेको, जलेश्वर नगरपालिकाको कार्यको सार्वजनिक सुनवाई नगराएको, नगरपालिकामा कार्यरत कर्मचारीको विवरण नदिएको, १ देखि १२ वडासम्मको कर तिर्ने सफ्टवेयर सांग्रिलाको रकम भुक्तानी नगराउँदा जनताको काम दुई दिनदेखि अलपत्र गराएको लगायतका विषय छन् ।
महाेत्तरी
प्रतिक्रिया