नगरको राजस्वमा करोडौँको क्षति

गुजरामा प्रशासकीय प्रमुखको चरम लापरबाही

मधेस ब्युरो । आर्थिक वर्ष सम्पन्न हुन लाग्दा पनि बकैया नदीको नदीजन्य पदार्थ ठेक्कामा लाग्न नसक्दा गुजरा नगरपालिकाको राजस्वमा करोडौँको क्षति भएको छ । प्रमुख प्रशासकीय अधिकृतको चरम लापरबाहीले नगरलाई करोडौँ घाटा हुने देखिएको हो ।

नगरपालिकाकाले प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ)का लागि प्रदेश सरकारलाई पठाएको कागजपत्र नै नमिलेपछि प्रदेशले पुनः वातावरणीय परीक्षण गराउन कागजपत्र फिर्ता पठाएपछि प्रमुख प्रशासकीय अधिकृत राजकुमार अधिकारीले कुनै पहल नै गरेका छैनन् ।

जेठ मसान्तसम्म मात्र नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा, ग्राबेल उत्खनन गर्न पाइने प्रावधान छ । चैत महिना बित्न लाग्दा पनि प्रमुख प्रशासकीय अधिकृत अधिकारीले न त पुनः वातावरणीय परीक्षण गराएका छन् न त वन कार्यालयसित समन्वय नै गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत अधिकारीको चरम लापरवाहीको कारण नगरपालिकालाई करोडौँको राजस्व घाटा भएको भन्दै जनप्रतिनिधिहरूले व्यापक असन्तुष्टि व्यक्त गरेका छन् । यसै गरी स्थानीयवासी नगरपालिकाको विकासमा खर्च हुने करोडौँ राजस्व नउठेपछि कार्यालय प्रमुख अधिकारीप्रति आक्रोशित देखिएका छन् ।

अधिकृत अधिकारीले प्रक्रिया नमिलेर टेन्डर हुन नसकेको स्वीकार गर्दै यस आवमा टेन्टर हुन नसक्ने बताए । अधिकारीले वनको सहयोग नभएको कारण टेन्डर हुन नसकेको बताएका छन् । आइइईको प्रक्रिया गलत भएका कारण दुई करोडभन्दा बढी राजस्व घाटा भएकोमा अधिकृतप्रति स्थानीय आक्रोशित देखिएका छन् ।

गुजरा नगरपालिकाका नगरप्रमुख सन्तलाल चौधरीले बकैया नदीको आइइई कन्सल्टेन्टले नै राम्रोसित नबनाएको कारणले नदीजन्य पदार्थको उत्खनन हुन नसकेको बताएका छन् । नदीबाट दुई करोड रुपैयाँ आउने भन्ने अनुमानको आधारमा बजेट विनियोजन गरिएको तर टेन्डर हुन नसक्दा विकास नै प्रभावित हुने अवस्था आइसकेको नगरप्रमुख चौधरीको भनाइ छ ।

एकातिर कार्यालय प्रमुखले आइइई गराउन नसकेको कारण खोलाको टेन्डर नभएर करोडौँ राजस्व घाटा भएको छ भने अर्कोतिर खोलाको नदीजन्य पदार्थको अवैध दोहन फस्टाइँरहदा पनि कार्यालय प्रमुख अधिकारीले रोक्न सकेका छैनन् । बकैया नदीबाट हरेक दिन बालुवा, गिट्टी, ग्राबेल अवैध रूपमा निकालेर बेच्ने काम भइरहेको छ । कार्यालय प्रमुखले ध्यान नदिँदा नगरपालिकालाई दोहोरो घाटा भइरहेको स्थानीयको आरोप रहेको छ ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया