‘खजुरे ब्रो’ को पहिलो गीत

काठमाडौं । चलचित्र ‘खजुरे ब्रो’ को पहिलो गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले ‘लभ गर्ने मान्छे’ बोलको गीत सार्वजनिक गरेको हो । भट्टीको सेटिङमा गीतको भिडियो तयार पारिएको छ । भिडियोमा चलचित्रका मुख्य पात्र ‘खजुरे’ बनेका रियर राई तथा महेश त्रिपाठीका साथमा अन्य कलाकारलाई देखाइएको छ । सार्वजनिक गीतमा अनमोल गुरुङको शब्द तथा संगीत रहेको छ । यस्तै, गीतमा संगीतकार अनमोल र अनुपम गुरुङको संयुक्त स्वर रहेको छ ।

बैशाख २८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रका लेखक–निर्देशक सुरज सुनुवार हुन् । यसै चलचित्रबाट नीतिले ठुलो पर्दामा पाइला टेक्दै छन् । चलचित्रमा नीति, रेयर तथा महेशका साथमा नवीन मानन्धर, प्रकाश भुजेल, विनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, शान्तिला तामाङ, पवन लिम्बु, दीपचन्द्र राई (कान्छी) लगायतको अभिनय छ ।

दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन तथा मल्टिप्रपोज प्रालिसँगको सहकार्यमा निर्माण भएको यस चलचित्रका निर्माता नवीन मानन्धर तथा सुरज सुनुवार हुन् । अनिल मानन्धर र पिकेश मानन्धर यसका सहनिर्माता हुन् भने डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेका छन् । ‘खजुरे ब्रो’ मा शिशिर विशंखेको छायांकन तथा मित्र डि गुरुङको सम्पादन रहेको छ । अनमोल गुरुङ चलचित्रका संगीतकार हुन् । सिनेमालाई रोहित तथा रत्नको आरआर फिल्मस्ले वितरण गर्दैछ ।

प्रतिक्रिया