‘डाँडाका उज्यालाजून’ : पाका मान्छेका लागि परिपक्व विचार

पाका मान्छेका बारेमा एक पाका मान्छेले लेखेका तथ्यपरक, वैज्ञानिक तथा नवीनतम दृष्टिकोण सहितको यो कृति हरेकले पढ्नैपर्ने किसिमको रहेको छ । अझ पचास वर्ष उमेर पुगेर पाको उमेरतिर उन्मुख सज्जनले आफूलाई स्वस्थ, स्फूर्ति तथा चिन्तनशील र क्रियाशील बनाइरहनका लागि यो कृतिको एक एक अक्षर पढ्नुपर्ने देखिन्छ ।

सञ्जय साह मित्र

पाकाले पाकाका लागि लेखिने पाका विचारको साहित्यलाई पाका साहित्य भन्न सकिन्छ । सम्भवतः नेपालमै प्रादुर्भाव भएको ‘पाका साहित्य’लाई ‘बुढ्यौली साहित्य’पनि भनिन्छ । जस कसैले लेखे पनि हुन्छ तर पाका उमेरका मानिसका लागि लेखिएको साहित्य मात्र पाका वा बुढ्यौली साहित्य हुन्छ ।

साहित्यका अनेक भेद वा प्रभेदहरू रहेका छन् । यीमध्ये कसका लागि साहित्य सिर्जना गर्ने ? यसले पनि आधार दिन्छ । जसलाई लक्षित गरेर लेखिएको हो, त्यो लक्षित वर्ग अनुकूल भाषा, विषय, आयाम तथा प्रस्तुति हुन्छन् । नेपालमा स्पष्ट देखिएको बाल साहित्य र प्रौढ साहित्य हो । यससँगै महिला साहित्य पनि आएका छन् । विधामा भिन्नता होला तर युब्यौली अर्थात् युवा वयलाई मात्र केन्द्रित गरी र विषयवस्तु बनाई साहित्यको सिर्जना नगरिएको होइन । यसैगरी मुख्यतः कृष्णमुरारी गौतम (चट्याङ मास्टर)को वैचारिक तथा दार्शनिक अभियानमा सुरु भएको ‘बुढ्यौली साहित्य’ले विस्तार पाइएको छ । बुढ्यौली साहित्यलाई पाका साहित्य भन्न रुचाउनेमध्ये अग्रणी साहित्यकार हुन् – प्राडा मुकेशकुमार चालिसे ।

नेपालमा पहिलो बाँदर विशेषज्ञको रूपमा विश्वप्रसिद्ध जीववैज्ञानिक प्राडा चालिसे पछिल्लो समयमा उमेरले पाको भइसकेका मानिसका लागि पनि खोज र अनुसन्धान गरिरहेका छन् । विभिन्न तथ्य र वैज्ञानिक अध्ययनलाई आधार बनाएर प्राडा चालिसे पछिल्लो चरणमा सिर्जना गरिरहेका छन् । हालै भुँडीपुराण प्रकाशनबाट ‘पाका मान्छेका कुरा’ र इन्डिगो इन्क पब्लिकेसनबाट ‘मानिला मान्छेका धामा’ पुस्तकहरू प्रकाशन भएका छन् । यसै क्रममा प्राडा चालिसेको अर्को सार्थक प्रयास रहेको छ ः ‘डाँडाका उज्याला जून’ । यसलाई ‘पाका मान्छे बारेमा पाठ्य सामग्री’ भनिएको छ । फित्कौली अनलाइन मिडियाले प्रकाशन गरेको यस कृतिका सामग्रीहरू विषयवस्तु, विचार र दर्शन तथा तथ्य र विश्लेषण सबै दृष्टिकोणले उच्च कोटिका छन् । यस गहकिलो पुस्तकमा तीस विभिन्न शीर्षकमा समेटिएका विषयवस्तुले एकातिर पाठकको चेतनामा अभिवृद्धि गरेका छन् भने अर्कोतिर यस कृतिलाई आफूसित राख्नैपर्ने अनिवार्यता उभ्याइदिएको छ ।

‘पाका मानिसबारे भ्रम नपालौँ’ शीर्षकले अहिलेसम्म समाजमा युवा, सामान्य नागरिक तथा स्वयं पाका मानिसहरूमा पनि पाका नागरिकबारे अनेक भ्रमहरू पालिएका रहेछन् जुनभ्रमरूपी अँध्यारोलाई यस आलेखको उज्यालोले चिर्न सफल भएको छ । ‘२०७९ को चुनाव, घोषणापत्र र पाका मान्छेका कुरा’ले पाका मान्छे अर्थात् ज्येष्ठ नागरिकको पक्षमा तथ्यहरूको विश्लेषण मात्र गरेको छैन, दलहरूको अलिकति भए पनि आँखा उघार्ने कामसमेत गरेको छ । यसै गरी ‘मानिलाका घुँडा र कम्मर समस्या’मा चाहिँ मानिला मानिस अर्थात् सबैले मान्ने उमेर भइसकेका मानिसमा आमसमस्याको रूपमा देखापर्ने घुँडा र कम्मरका समस्याको बारेमा चर्चा गर्नुका साथै दुःखाइबाट जोगिन वा दुःखाइ भएपछि उपचार गर्न सकिने तरिकाहरू बताइएका छन् । ‘मानिला मानिसमा सन्तुलनको समस्या’मा ज्येष्ठ नागरिकमा आउने केही उमेरजन्य असन्तुलनका विषयमा बडो गहन विचार प्रस्तुत गरिएको छ । ‘मानिलाहरू खुसी र सुखी हुने उपाय’ले चाहिँ खुसी र सुखी हुनका लागि आवश्यक टिप्सहरू दिनुका साथै असल बानीहरूको सम्यक परिचर्चा गरेको छ । ‘मानिलाहरूले खुसीहुने कसरी ?’ले चाहिँ हरेक दिनलाई विशेष दिन र हरेक दिनलाई सार्थक दिन बनाउने उत्प्रेरणाहरू प्रदान गरेका छन् ।


‘उमेरिँदो उमेरमा मासु नझोलिने उपाय’शीर्षकले नै बुढ्यौली उमेरतिर ढल्किरहेका वा पाको भइसकेकालाई समेत आकर्षित गर्दछ । शरीरमा जताततै मासु नझोलिने उपायहरू वैज्ञानिक तरिकाले यसमा बताइएको छ । ‘पाकाहरूको मस्तिष्क स्फूर्तिमा भिटामिन’ शीर्षकले चाहिँ उमेरदार मानिसहरूले के कस्ता भिटामिन कति मात्रामा र कसरी लिनुपर्ने भन्ने कुरा स्वास्थ्य विज्ञानअनुसार बताएको छ । जताजतै देखिने आधुनिक युगको एक समस्याको रूपमा रहेको मुटुलाई बुढ्यौली उमेरमा सुरक्षित राख्नेबारे निकै गहन आलेख हो, ‘पाका मान्छेका मुटुको हेरविचार’ ।

आनन्दको बाली आफ्नै मनको सुन्दर खेतमा लहलहाउँदो रहेछ भन्ने भावार्थ ‘अतिपाका मान्छेमा आनन्दको समस्या’ र ‘ठुल्दाइले आनन्द आफैँ मान्ने हो भन्थे’मा छ । ‘पाका मान्छेलाई साँझपख सम्हालौँ’ले वृद्धवृद्धालाई साँझको समयमा बढी हेरविचार गर्नुपर्ने त भनेको छ नै साथै आफैँ पनि सक्रिय रहनुपर्ने बताएको छ । यसै गरी ‘पाका मान्छेका सक्रियता कायम राखौँ’ पनि निकै हदसम्म भाव दोहोरिएको छ । ‘छालाको चाउरी त उमेरिँदाको सौन्दर्य हो नि’ले शीर्षकको भावलाई स्वीकार गर्दै छाला चाउरिनुको कारण, कसरी कम चाउरिन सक्छ आदिबारे सुन्दर विश्लेषण गरिएको छ ।

‘पाका मान्छेमा अलमल’विशेष पठनीय आलेख हो । ‘पाकामा साइटिकाको समस्या’ले आजभोलि ज्येष्ठ नागरिकहरूमा बढिरहेको साइटिका रोगबारे विस्तृत चर्चा गरिएका छन् । यसै गरी ‘पाका मान्छेमा रगतका कुरा’मा उमेर बढ्दै गएपछि सक्रियता कम हुने र शरीरको रगत बाक्लिने समस्या देखापर्ने तथा कहिलेकाही गम्भीर स्थिति सिर्जना हुन सक्ने भनी सचेत गराइएको छ । ‘पाका मान्छे सतर्क हुनुपर्यो’ शीर्षकअन्तर्गत पाका मानिसलाई स्वनिर्भर रहन विशेष सक्रियताको आवश्यकता औँल्याइएको छ । ‘पाका मान्छेलाई माया गरौँ’मा ज्येष्ठ नागरिकलाई तिनको स्थिति र अवस्थानकूल माया गरेर सम्मान गर्न सुझाव दिइएको छ । ‘पाका मान्छेको हैसियत’मा चाहिँ ज्येष्ठ नागरिकहरूको तथ्यांकीय हैसियतको परिचयात्मक विश्लेषण रहेको छ । ‘पाका मान्छेका केही गुन–बैगुनका कुरा’ शीर्षकले चाहिँ त्यस उमेरका मानिसमा देखा परिरहने गुनावगुनको चर्चा गरिएको छ । ‘पाका मान्छेलाई पत्याऊँ’ले नयाँ पुस्तालाई गहन सन्देश दिएको छ ।

कृतिको शीर्षकसमेत रहेको ‘डाँडाका उज्याला जून’भनेर वृद्धवृद्धालाई ‘डाँडामाथिको घाम’ ‘डाँडाको अस्ताउँदो घाम’ जस्ता निराशाजनक उखानको भावलाई परिमार्जन गरेको छ । यसमापाको मानिसलाई ‘उज्यालो जून’को सार्थक र आशावादी उपमा दिइएको छ । ‘पाका मान्छेको भोगाइ’मा सर्वसाधारणले नेदेखेका र नभोगेका धेरै पक्षलाई उजागर गरेको छ । ‘बा–आमा सन्तानबाट के चाहन्छन् ?’ शीर्षक पढेर पाका मानिसका चाहना आफ्नो घरपरिवारको सन्दर्भमा पनि बुझ्न सकिने गहन चिन्तनजन्य खुराकहरू पाउन सकिन्छ । ज्येष्ठ नागरिकलाई हेरविचार गरिदिने मानिस दक्ष नै हुनुपर्छ अन्यथा सही अर्थमा देखभाल सम्भव हुँदैन ।

‘बा–आमाका हेरालु कस्ता हुनुपर्छ ?’मा यस कुरालाई निकै गहनतापूर्वक प्रस्तुत गरिएको छ । कतै कतिपय अवस्थामा पाका मानिसलाई बोझको रूपमा लिने गरिएको पाइन्छ तर ‘पाका थुप्रिरहने होइन, केही गरौँ’ले निकै सकारात्मक सन्देश दिएको छ पाका मानिसका लागि र परोक्षमा सम्पूर्ण जिम्मेवार समाजका निम्ति पनि । ‘उमेरसँगै बढ्दै जाने महिलाका स्वास्थ्य समस्या’मापाको उमेरका महिलामा देखापर्ने स्वास्थ्य समस्या र तिनको समाधानबारे चर्चा गरिएको छ । पुस्तकको अन्तिम आलेखको रूपमा रहेको छ –‘पाकालाई काम देऊ’ । पाका उमेरका मानिसलाई पनि रुचि र क्षमता अनुसारको काम दिन सकिने यसमा बताइएको छ ।

पाका मान्छेका बारेमा एक पाका मान्छेले लेखेका तथ्यपरक, वैज्ञानिक तथा नवीनतम दृष्टिकोण सहितको यो कृति हरेकले पढ्नैपर्ने किसिमको रहेको छ । अझ पचास वर्ष उमेर पुगेर पाको उमेरतिर उन्मुख सज्जनले आफूलाई स्वस्थ, स्फूर्ति तथा चिन्तनशील र क्रियाशील बनाइरहनका लागि यो कृतिको एक–एक अक्षर पढ्नुपर्ने देखिन्छ । यस कृतिको सिर्जनमा स्वास्थ्य, विज्ञान र चेतनाको परिपाकलाई सन्तुलनमा राखिएको छ । देशको तथ्यांकलाई ज्येष्ठ नागरिकको दृष्टिकोणले विश्लेषण गरिएको छ । अहिलेसम्म वृद्धवृद्धा वा ज्येष्ठ नागरिक भनिएकालाई यस कृतिमा ‘सबैले मान्नुपर्ने मानिस, मानिला मानिस’तथा ‘उमेर र विचार दुवैले परिवक्व भइसकेका मानिस – पाकामानिस’ भनेको छ । यो आफैँमा सम्मान पनि हो । हो, यस कृतिले हरेक ज्येष्ठ नागरिकको सम्मान गरेको छ, अझ सम्मानजनक बनाउन आवाज बुलन्द गरेको छ ।

कृतिमा केही तथ्यको पुनरावृत्ति भएको र कुनै कुनै ठाउँमा चिकित्सकको स्रोत खोज्न अलमलिएको जस्तो लागे तापनि कृतिकार आफैँ वरिष्ठ जीववैज्ञानिक भएकाले कृतिका कुरामाथि विश्वास गर्नुपर्ने हुन्छ । पाका मानिसका बारेमा पाठ्य सामग्रीमा मुख्य गरी अधिकार, स्वास्थ्य, सचेतना तथा उमेरका धेरै प्रसंगहरू परेका छन् तर फित्कौली अनलाइन मिडियाले प्रकाशन गरेको हुनाले अलिकति हास्यव्यंग्यात्मकताको अभाव खट्किन्छ । किनभने फित्कौली हास्यव्यंग्य अनलाइन पोर्टल हो । नेपालको पहिलो बाँदरविद्का रूपमा ख्यातिप्राप्त प्राडा मुकेशकुमार चालिसे आफ्ना पछिल्ला तीन कृतिमार्फत ‘बुढ्यौली विशेषज्ञ’ का रूपमा पनि स्थापित भएका छन् । देश र विदेशका विभिन्न तथ्यहरू संकलन र विश्लेषण गरी प्रकाशन गरिएको ‘डाँडाका उज्याला जून’ प्राडा चालिसको साहित्य यात्राको सर्वोच्च प्राप्ति हो ।

प्रतिक्रिया