प्राध्यापकहरु ६ वर्षदेखि सेवा–सुविधाबाट बञ्चित भन्दै प्रेस विज्ञप्ति

मुगु । मध्यपश्चिम विश्वविद्यालयअन्तर्गतका रारा बहुमुखी क्याम्पसका प्राध्यापकहरु ६ वर्षदेखि सेवा–सुविधाबाट बञ्चित भएका छन् । रारा बहुमुखी क्याम्पस आङ्गगिक क्याम्पसका रुपमा समायोजन भएको ६ वर्ष पुगिसक्दा पनि प्राध्यापकहरुले सेवा–सुविधा पाउन नसकेका हुन् ।

मध्यपश्चिम विश्वविद्यालयको आठौँ सिनेटले पास गरेको नियमावली अनुसार सेवा–सुविधा नपाएको र आफूहरु ६ वर्षदेखि सेवा–सुविधाबाट पीडित भएको भन्दै आइतबार रारा बहुमुखी क्याम्पस प्राध्यापक संघ ईकाई कमिटी मुगुले एक प्रेस विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा उल्लेख गरिए अनुसार मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पसका रुपमा समायोजन भएको झण्डै ६ वर्ष पुग्यो ।

आङ्गिक क्याम्पस हुँदाको समयमा विश्वविद्यालयको आठौँ सिनेटले पास गरेको नियमावलीमा उल्लेखित भएका नियमहरु ६ वर्षसम्म पनि सम्बोधन नभएकाले प्रेस विज्ञप्ति जारी गरेर मध्यपश्चिम विश्वविद्यालयको ध्यानाकर्षण गराइएको रारा बहुमुखी क्याम्पस प्राध्यापक संघ ईकाई कमिटी मुगुले जनाएको छ । रारा बहुमुखी क्याम्पस आङ्गगिक क्याम्पसमा कार्यरत प्राध्यापकहरु करार र आंशिक रुपमा नै काम गर्न बाध्य भएका छन् ।

अझ दुर्गम भत्ता, स्थानीय भत्ताबिना हालसम्म पनि प्राध्यापकहरुले अध्यापन गराइरहेका रारा बहुमुखी क्याम्पस प्राध्यापक संघ ईकाई कमिटीी मुगुका सभापति हिरा बोहोराले जानकारी दिए । उनका अनुसार आफ्नो पेशागत वृद्धि विकासमा अवरोध भएको र विश्वविद्यालयको आठौँ सिनेटले पास गरेका नियम अनुसार सेवा–सुविधा नपाएको र प्राध्यापकहरुको सेवा सुविधाका बारेमा क्याम्पस प्रशासन तथा विश्वविद्यालयलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाई नभएको सभापति बोहोराको भनाई छ ।

आगामी चैत २३ गते बस्ने मध्यपश्चिम विश्वविद्यालयको सिनेटको बैठकले कर्णाली प्रदेशभरका १० वटा आङ्गगिक क्याम्पसमा कार्यरत करार प्राध्यापकहरुलाई आन्तरिकबाट बढुवासहित स्थायी तथा दुर्गम भत्ताको व्यवस्थालगायतका मुख्य विषयहरुमा सम्बोधन गर्न प्रेस विज्ञप्तिमार्फत माग गरिएको छ । विश्वविद्यालयको सिनेटपश्चात् माग सम्बोधन नभएमा चरणबद्ध आन्दोन गरिने रारा बहुमुखी क्याम्पस प्राध्यापक संघ ईकाई कमिटि मुगुले जनाएको छ ।

प्रतिक्रिया