कालिकोटमा डढेलोबाट ज्यान गुमाएकाको परिवारलाई रकम हस्तान्तरण

कालिकोट । कालिकोटमा डढेलोबाट ज्यान गुमाएकाको परिवारलाई ‘बचाउ अभियान’ अन्तर्गतको रकम हस्तान्तरण गरिएको छ ।

जिल्लाको खाँडाचक्र नगरपालिका– ५ मा रहेको नवदुर्गा सामुदायिक वनमा लागेको आगोमा परी घाइते भएका बाबुछोरी १२ वर्षीया हेमन्ती चौलागाईं र ५० वर्षीय नन्दराम चौलागाईं बाख्रा चराउन जाँदा वनमा लागेको डढेलोमा परेर जलेका थिए ।

जंगलमा डढेलो लागेपछि आफ्ना बाख्रा जले–नजलेको हेर्दै जाने क्रममा उनीहरुसमेत उक्त डढेलोमा परेर जलेका थिए । जलेर गम्भीर घाइते भएका बाबुछोरीलाई बचाउनका लागि रकम संकलन अभियान चलाइएको थियो । तर उपचारकै क्रममा बाबुछोरीको मृत्यु भएको छ ।

उक्त दुखद घडीमा खाँडाचक्र नगरपालिकाले अभियानमार्फत संकलन रकम मृतकका परिवारलाई रु ३ लाख ८० हजार रकम आर्थिक सहयोग स्वरुपको चेक हस्तान्तरण गरेको हो । सामाजिक अभियान्ता तथा व्यवसायी हिरामणी चौलागाई सहितको टोलीले रकम संकलन गरेको हो ।

उपचारको समयमा केही रकम दिए पनि आइतबार १३औँ दिनको तिथिमा २ लाख, ४० हजार, ३८२ रुपैयाँको चेक हस्तान्तरण गरिएको सामाजिक अभियान्ता तथा व्यवसायी चौलागाईँले बताए । सामाजिक अभियान्ता चौलागाईँले दुखको समयमा सानो या ठूलो रकम सहयोग गर्ने सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद दिएका छन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया