प्रजातन्त्र सेनानी मथुरा प्रसादको २७ औं पुण्यतिथि मनाइयो

जनकपुरधाम । नेपालको लोकतान्त्रिक आन्दोलनका एक अविस्मरणीय योद्धा प्रजातन्त्र सेनानी मथुरा प्रसाद उपाध्यायको २७ औं पुण्यतिथि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
सो अवसरमा जनकपुरधामको श्री जानकी वृद्वाश्रममा नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिका–११ ले फलफुलसहितको राहत समाग्री वितरण गरेको छ ।

वडाका सभापति संजयप्रसाद साहको अगुवाइमा पूर्वमन्त्री तथा प्रदेशसांसद राम सरोज यादव सहितको विशेष उपस्थितीमा वृद्वाश्रमकी आमाहरुलाई राहत समाग्री वितरण गर्दै वृद्वाश्रमको वृहत हित, संरक्षण र विकासका लागि छलफल गरिएको छ । सो अवसरमा पुर्वमन्त्री यादवले जनकपुरधामको २५ वटै वडाबाट प्रतिनिधित्व गर्ने यस्ता योद्वाहरुको स्मरणमा विभिन्न कार्यक्रम गर्न एक समिति नै बनाएर अगाडि बढनुपर्ने बताए ।

वृद्वाश्रमका अध्यक्ष तथा वडा नं. ९ का अध्यक्ष परमेश्वर साहले वृद्वाश्रमको अवस्था बारे प्रकाश पारेका थिए । सो अवसरमा प्रदेश सदस्य जिवनाथ चौधरी, जिल्ला उपसभापति गणेश झा, युवा नेता प्रवेश चौधरी, सुरेश कोइराला, प्रमिला दास, प्रेस युनियनका नेता शैलेन्द्र झा सहितको उपस्थिती थियो ।

त्यसै गरी जनकपुरधाम–११ स्थित मनकामना सिद्व हनुमान मन्दिरको प्रांगणमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा वक्ताहरुले स्व. उपाध्यायले २०२८ सालदेखि २०३९ सालसम्म जनकपुरको नगरसभापतिको रुपमा पार्टीमा खेलेको भुमिका र त्यसबेलाको संगठन विस्तारको प्रशंसा गर्दै अहिले कांग्रेस भगवान भरोसे चल्ने गरेको बताए ।

जनकपुरधामका वर्तमान नगरसभापति तथा मेयर मनोजकुमार साहले जनप्रतिनिधी र कांग्रेसका वडा समिति बिच कुनै पनि समन्वय हुन नसक्दा संगठन सुस्त भएको बताए । एकआध वडा बाहेक कुनै पनि वडामा जनप्रतिनिधी र पार्टी बिच समन्वय हुन नसकेको उनले बताए ।

सो अवसरमा पार्टी धनुषाका उपसभापति गणेश झा, पुर्व नगरसभापति धिरेन्द्र मोहन झा, बस व्यवसायी संघका अध्यक्ष तथा नेता मनोज चौधरी, पेट्रोलिय डिर्लश एशोसिएसनका अध्यक्ष किशुनदेव साह, गौ संरक्षण मञ्चका अध्यक्ष जगदिश महासेठ, स्व. उपाध्यायका सुपुत्र नेता प्रफुल्ल राज घिमिरे सहितकाले स्व. उपाध्यायले उठान गर्ने गरेको समाजिक मुद्दाहरु र पार्टीको संगठनात्मक विस्तारका बाटो अबलम्वन गर्नुपर्नेमा जोड दिएका थिए ।

सो अवसरमा वक्ताहरुले स्व. उपाध्याय जस्ता पार्टी र समाजका लागि योगदान दिएका महान व्यक्तित्वको स्मरणमा गर्नुपर्ने यस्ता कार्यक्रमका लागि सबै वडा समिति सक्रिय हुनुपर्ने बताए । सो अवसरमा वडा सभापति संजयप्रसाद साहले विभिन्न व्यक्तित्वलाई सम्मान गरेका थिए ।

प्रतिक्रिया