‘देवर भाउजू’को जबर्जस्ती विवाह गराइ गाउँ निकाला

राजविराज । सप्तरीको सुरुंगा नगरपालिकामा अनैतिक सम्बन्धको आशंकामा नाताले देवर भाउजू पर्ने बिच जबर्जस्ती विवाह गराएर गाउँ निकाला गरिएको खुलेको छ । सुरुंगा नगरपालिका –७ हरिपुरका ती देवर भाउजूलाई अनैतिक सम्बन्धको आरोप लगाएर विवाह गरी पञ्चायती बसी गाउँ निकाला गरिएको हो ।

पूर्ववडाध्यक्ष धनिकलाल साहको नेतृत्वमा भएको पञ्चायतमा यस्तो निर्णय गर्दै दुबैजनालाई गाउँ निकाला गरिएको हो । वडाध्यक्ष साहले पञ्चायतीमै दुवैको विवाह गराएर गाउँ निकाला गर्ने निर्णय भएको स्वीकारेका छन् ।

घटना गत सोमबारको हो । दुबैजनालाई एउटै कोठामा देखेपछि गाउँलेले रातभर बाँधेर राखेका थिए । दुई छोरा र नातिनातिना रहेका महिलाका पति र दुवै छोरा रोजगारीका लागि विदेशमा छन्  ।

मंगलबार बिहान हरिपुरका पूर्ववडाध्यक्ष धनिकलाल साहसहित स्थानीयले गाउँमै पञ्चायती राखेर विवाह गराएर गाउँ निकालाको निर्णय गरेको थियो । सोही निर्णयअनुसार पञ्चायतीमै आरोपित पुरुषलाई भाउजू नाता पर्ने महिलाको सिउँदोमा सिन्दुर हाल्न लगाइएको थियो । पञ्चायती बसेकै वेला सिन्दुर हालिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा छताछुल्ल छ । भाउजू नाता पर्नेसँग विवाह गराई गाउँ निकाला गरिएपछि आरोपित पुरुषका श्रीमती र दुई नाबालक सन्तान बिचल्लीमा परेका छन् ।

सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढुंडीराज न्यौपानेले घटनवारे बिहीबार मात्र थाहा पाएको बताए । अनैतिक सम्बन्धको आशंकामा गाउँलेले विवाह गराएर गाउँ निकाला गरेपछि दुबैजना सम्पर्कविहीन रहेको र घटना बारे अनुसन्धान गरिरहेको डिएसपी न्यौपानेले बताए । अनैतिक सम्बन्धको आशंकामा समाजबाट बहिष्कार गर्नु कानुनविपरीत रहेको दलित अधिकारकर्मी जीवन रामले बताए ।

प्रतिक्रिया