प्रचारप्रसारको कमीले ओझेलमा परेको पारसनाथ

आरके श्रीवास्तव

फलाम छुवाउँदा सुन बन्ने पत्थरलाई ‘पारसमणि’ भनिन्छ । भगवान् पशुपतिनाथको अर्को नाम पनि ‘पारसनाथ’ नै हो । यही पशुपतिनाथको विकल्पका रूपमा हजारौँ वर्ष पहिले स्थापित पर्सा जिल्लाको प्रसिद्ध ‘पारसनाथ’मन्दिर अहिले ओझेलमा पर्दै गएको छ ।

भनिन्छ, नेपालका तीन नाथ पशुपतिनाथ, स्वयम्भूनाथ र मुक्तिनाथकै समरूपमा पारसनाथ हुन् । यस मन्दिरको इतिहास पनि हजारौँ वर्षको रहेको छ । यसै मन्दिरको नामबाट पर्सा जिल्लाको नामकरण भएको भनाइ पनि छ ।

पारसनाथ मन्दिर हाल वीरगञ्जबाट १५ किलोमिटर पश्चिम सखुवा प्रसौनी गाउँपालिका–५ महुवन गाउँमा अवस्थित छ । जसको नामबाट जिल्लाको नामकरण भएको छ, त्यस जिल्लाको पहिचानको मूल आधार पारसनाथ मन्दिर नै हो । पारसनाथ मन्दिरलाई करिब एक हजार दुई सय वर्ष पुरानो मानिएको छ ।

प्राचीनकालमा मन्दिरको निर्माण कुनै बाबा भानुनाथद्वारा भएको यहाँका बासिन्दाहरूको भनाइ छ । बाबा भानुनाथ मधुवनको जंगलको बीचमा ठुलो चट्टानमा बसी तपस्या गर्दथे । एक समय राजा सिकार खेल्न आउँदा यहाँ शिवलिंग रहेको देखेको र बाबा भानुनाथले गरेको तपस्या समेतबाट प्रभावित भई मन्दिरको वरिपरि गरी १ हजार ७ सय ५० बिघा जमिनदान गरिदिएका थिए । उक्त जग्गाजमिनबाट उब्जेको अन्नबाट राज्यलाई कुनै कर पनि तिर्नु पर्दैनथ्यो ।

बाबा भानुनाथले तपस्या गरेको ठाउँमा विशाल जंगल थियो । उक्त जंगलको सुन्दरता निकै राम्रो थियो । सबै लोभिन्थे । यसलै जंगलको नाम‘मधुवन’ रहन गएको थियो । कालान्तरमा यही मधुवनबाट अपभ्रंश भई यस ठाउँको नाम महुवन भएको हो । अहिले पारसनाथ मन्दिर रहेको गाउँको नाम महुवन हो । पछि बाइसी–चौबिसी राज्यको समयमा तत्कालीन पाल्पाली राजा माणिक सिंहको समयमा यहाँ मन्दिरको निर्माण गरिएको थियो ।

सुगौली सन्धिपश्चात महुवनको पारसनाथ मन्दिरबाहेक तीन ओटा मन्दिर भारतको बिहार राज्यमा पर्न गएको पाइन्छ । पहिले १ हजार ७ सय ५० बिघा जमिन रहेको पारसनाथ मन्दिरमा हाल करिब ९० बिघामा सीमित हुन गएको छ । अहिले एउटा ठुलो पोखरी र खेत तथा जग्गा पनि रहेको छ । २०२१ साल पूर्व महुवनमा महन्थ नामको मानिसको शासन थियो । उनको पालामा यस मन्दिरको अवस्था राम्रो थियो । उनको पालामा भारतबाट श्रद्धालुहरू नेपालको पशुपतिनाथ, मुक्तिनाथ तथा स्वयम्भूनाथको तीर्थयात्रामा निस्कँदा पहिला पहाडतिर जाने बाटोको सुविधा नभएका कारण यही पारसनाथ बाबाको दर्शन गरी फर्किने गर्थे ।

पहिले यहाँ राजदरबारजस्ता भवनहरू पनि थिए । २०२१ सालपछि यस मन्दिर तथा मन्दिरको जग्गा जमिनसमेत सबै नेपाल सरकारको गुठी संस्थानको नाममा गएको हो । त्यस बेलादेखि यो मन्दिरको अवस्था जीर्ण बन्दै गएको देखिन्छ । यस मन्दिरमा धेरै रहस्यहरू रहेका छन् ।
एक हजार वर्ष पुरानामूर्तिहरू तथा मन्दिरको गजुरमा रहेको त्रिशूलले सूर्यको परिक्रमाको दिशामा घुम्ने गर्दछ । अर्थात् बिहानपूर्व दिशामा हुँदा साँझ पश्चिमदिशामा हुन्छ । यहाँ रहेको इनारको पानी अहिलेसम्म कहिल्यै सुकेको छैन । इनारको गहिराइलाई सामान्यतया अथाह मानिन्छ किनभने स्थानीयले इनारको गहिराइ नाप्ने प्रयास गरेका छैनन् । मन्दिरको वरिपरिका गाउँमा विभिन्न देवीदेवताका स्थानहरू रहेका छन् । उत्तरमा बेलमाई र जवरीमाई, पूर्वमा गढिमाई, पश्चिममा सातो माई र दक्षिणमा संसारी माई तथाशिहोरवामाई आदिस्थान रहेका छन् ।

पुरानो संरचनालाई सुरक्षित राख्छौँ : जसवन्तयादव, अध्यक्ष, सखुवा प्रसौनीगाउँपालिका

जसवन्तयादव, अध्यक्ष, सखुवा प्रसौनीगाउँपालिका

गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि आफूले पर्यटकीय दृष्टिकोणले प्रचारप्रसार गरिरहेको गाउँपालिका अध्यक्ष जसवन्त यादव बताउँछन् । अहिलेसम्म विभिन्न क्याम्पसका पाँचओटा टोलीलाई बोलाएर पारसनाथको भिजिट गराएको अध्यक्ष यादवको दाबी छ ।

मन्दिरको प्रचारका साथै पर्यटकलाई आकर्षित गर्नका लागि पारसनाथ रथयात्रा र पारसनाथ महोत्सव गराउने योजना रहेको पनि यादव सुनाउँछन् ।

पर्सा जिल्लाको प्रमुख धार्मिक स्थल भएकोले चिनाउनका लागि आफूले काम गरेको यादवको भनाइ छ । मधेस प्रदेश सरकारको पर्यटकीय सूचीमा परिसकेको पारसनाथ मन्दिर परिसरमा रहेको ५२ कोठाको जीर्ण घरलाई जस्ताको तस्तै सुरक्षित राख्न चाहेको, थोरै मर्मत गरेर छेकबार गरी सुरक्षित राख्ने योजनामा आफू लागेको पनि बताउँछन् ।

सय फिट वरपरको बाटोलाई आकर्षक बनाउने र लाइटिङको व्यवस्था गरेर आकर्षक बनाउने गापा अध्यक्ष यादवको दृढता छ । यसैगरी प्रदेश सरकारसित मन्दिरको व्यवस्थापन भएको संरचनाको संरक्षणका लागि प्रस्ताव गरेको बताउँदै अध्यक्ष यादवले स्थानीय उपभोक्ता समितिभन्दा पालिका स्तरको उपभोक्ता समिति निर्माण गर्नुपर्ने धारणा पनि राख्छन् ।

मन्दिरमा करोडौँ खर्च भएको छ : राजेश प्रसाद रौनियार, प्रमुखप्रशासकीय अधिकृत, सखुवा प्रसौनीगापा

राजेश प्रसाद रौनियार, प्रमुखप्रशासकीय अधिकृत

पर्सा जिल्लाको प्रसिद्ध पारसनाथ मन्दिरमा महाशिवरात्री तथा विजयादशमीको दिन मेला लाग्छ । सोमबार पनि धेरै मानिस आउँछन् । यसैमन्दिरको नामबाट पर्सा जिल्लाको नाम राखिएको किंवदन्ती छ ।

पुराना मठ मन्दिर तथा भौतिक संरचना संरक्षण गर्ने सरकारको नीति छ । स्थानीय सरकार आएदेखि पारसनाथ मन्दिरमा करोडौँ रुपैयाँ खर्च भइसकेको छ ।

पर्खाल निर्माण भइसकेको छ, रंगरोगनको काम नियमित हुन्छ र प्रत्येक वर्ष मेला लगाउने काम पनि पालिकाबाट हुँदै आएको छ । यसै गरी पोखरी सफा गराउने काम पनि हुँदै आएको छ ।

पारसनाथ मन्दिरको नाममा रहेका तर मिचिएका जमिनहरू खाली गराउने काम भइरहेका छन् ।

वर्तमान कार्यपालिकाले मन्दिरको लागि केही गरेको छैन : पुजारी राजेश मिश्र

तीन पुस्तादेखि मन्दिरको पुजारी रहेका राजेश मिश्र शास्त्रीले गाउँपालिकाको वर्तमान कार्यपालिकाले मन्दिरको लागि केही पनि नगरेको आरोप लगाउँछन् । मन्दिरमा भएको धेरै काम पहिलेको कार्यपालिकाले गरेको मिश्र बताउँछन् ।

पुजारी मिश्रले पहिले आफ्नो हजुरबुबा हरिहर मिश्रा, त्यसपछि पिता बालकृष्ण मिश्र पुजारी रहेका र अहिले आफू पुजारी भएको बताउँदै राजा मुकुन्दसेनको पालामा मन्दिर बनेको आफूले सुनेको स्पष्ट पार्छन् । मूलतः गुठीमा गइसकेपछि सरकारको नियन्त्रणमा गइसकेपछि मन्दिर निकै अप्ठ्यारोमा भएको पुजारीको गुनासो छ । पुजारीले आफ्नो तलब एक मन धान र पाँच सय रुपैयाँ मात्र रहेको दुःखेसो पोख्छन् । अतिथि सत्कारमा भोजन गराउनुपर्ने र पूजाका लागि पनि निकै कम रकम सरकारले उपलब्ध गराउने गरेको पुजारीको भनाइ छ । आफूले गाउँपालिकाको वर्तमान सरकारसित लिखित रूपमा मन्दिरको लागि योजना माग गरेको तर वास्ता नभएको गुनासो गरेका छन् ।

पुजारी राजेश मिश्र

मन्दिरको विशेषताको बारेमा बताउँदै पुजारी मिश्र भन्छन्, ‘पारसनाथसित जे भाकल गरे पनि पूरा हुन्छ ।’ उनी यहाँको इनारको पानीमा औषधीय गुण भएको र धेरै मानिसले यस आस्थामा विश्वास गरी आफूलाई निको भएको बताउने गरेको दाबी पनि गर्छन् ।

स्थानीय पारसनाथ युवा समाजले यहाँ लाग्ने मेलामा निकै सकारात्मक सहयोग गर्ने गरेको भनी प्रशंसा पनि गर्छन् । मूलतः यहाँ असोज, फागुन र साउनमा मेला लाग्ने गर्दछ । पारसनाथ युवा समाजको अहिलेका अध्यक्ष रामनाथ साह कानु निकै सक्रिय रहेको पुजारी मिश्रको दाबी छ ।

प्राचीन समयदेखि नै काठमाडौं पशुपतिनाथ मन्दिर पुग्नसकेका मानिसहरूले पारसनाथको दर्शन गर्दा पशुपतिनाथको दर्शन गरेसरह हुने विश्वास रहेको छ । पारसनाथ मन्दिरको बारेमा प्रदेश र संघ सरकारले पनि सोच्नुपर्ने तथा पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नुपर्ने सुझाव स्थानीयवासीको रहेको छ ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया