विदेशमा अलपत्र परेकाहरूको सहयोगी बन्दै सामी कार्यक्रम

इलाम । इलाम नगरपालिका–१२ साङ्रुम्बाका पूर्णबहादुर लिम्बूको गत साउन २ गते ४२ वर्षको उमेरमा साउदी अरेबियामा निधन भयो । उनको शव विदेशमा अलपत्र भयो । शव ल्याउन पूर्णबहादुरका भाइ छबि लिम्बूले एक सातासम्म निक्कै पहल गरे, तर सम्भव भएन ।

जब छबिको सम्पर्क इलाममा सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रमसँग भयो, तब एक सातामा नै शव घर आइपुग्यो । त्यसका लागि सामीले जिल्ला प्रशासन कार्यालयमार्फत वैदेशिक रोजगार विभाग र अन्य निकायमा पहल गरेको थियो ।

‘मेरो दाजुको शव ल्याउन आफैँले गरेको पहल सफल नभएपछि सामीको सम्पर्कमा पुगेँ, उहाँहरूको पहलमा एक सातामा नै शव घरमा आइपुग्यो’, बुधबार इलाममा आयोजित पत्रकारहरूसँगको अन्तरक्रियामा छबिले भने, ‘सामीकै पहलमा मेरो दाजुको परिवारका लागि २६ लाख रुपैयाँ क्षतिपूर्तिसमेत उपलब्ध भयो ।’

उनले आफ्नो दाजु पूर्णबहादुरको परिवारलाई बिमा कम्पनीबाट १४ लाख, वैदेशिक रोजगार बोर्डबाट सात लाख र साउदी अरेबियाको कामदार कम्पनीबाट पाँच लाख रुपैयाँ गरी २६ लाख रुपैयाँ उपलब्ध भएको जानकारी दिए । बिदामा घर आएर अघिल्लो माघमा मात्र साउदी फर्किएका पूर्णबहादुरको सात महिनापछि हृदयघातबाट निधन भएको भाइ छबिले बताए ।

उता वैदेशिक रोजगारीका क्रममा दुबै पुगेका इलाम नगरपालिका–१ साँखेजुङका रामचन्द्र रसाइली गतवर्षको दसैँमा परिवारको सम्पर्कबाट बेपत्ता भए । घरमा दसैँखर्च पठाइदिन्छु भनेर श्रीमती कमला रसाइलीलाई फोन गरी रामचन्द्र सम्पर्कविहीन भए । तर, घरमा पैसा मात्र होइन, फोनसमेत नआएपछि कमलालाई छाँगाबाट खसेझैँ भयो । उनले आफ्नो श्रीमानसँग सम्पर्क गर्न थुप्रै प्रयास गरिन् तर पत्ता लाग्न सकेन ।

अन्ततः कमलाको सम्पर्क सामीसँग भयो, सामीको निरन्तर पहलपछि झण्डै ६ महिनापछि रामचन्द्र स्वदेश फर्कन सफल भए । ‘मेरो श्रीमान् काम गर्दै गरेको कम्पनीमा काम सकिएपछि त्यहाँबाट अर्कै कम्पनीमा जानुभएको रहेछ’, कमलाले भनिन्, ‘दलालमार्फत विदेश जानुभएकाले आउन त्यति सहज थिएन, सामीसँगको सम्पर्कपछि सामीको निरन्तर प्रयासपछि उहाँ (श्रीमान) सकुशल घर फर्किन सफल हुनुभयो ।’

सामीले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा इलाम नगरपालिका–८ मदनकुमार मगरको झापाको बिर्तामोडस्थित डायमन्ड मेनपावर कम्पनीले दुई वर्षदेखि नियन्त्रणमा लिएको राहदानी र एक लाख रुपैयाँसमेत फिर्ता गराएको छ । ‘पोल्यान्ड पठाइदिन्छु भन्दै दुई वर्षदेखि मेरो राहदानी र एक लाख पेश्की लिएको डायमन्ड मेनपावरलाई पटकपटक माग्दासमेत दिएको थिएन, तर सामीमा उजुरी गरेपछि एक सातामा नै फिर्ता पाइयो’, मगरले भने ।

यसरी वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्या झेल्न बाध्य भएकाहरूको उद्धारका लागि समीले निरन्तर पहल गरिरहेको छ । विदेशमा अलपत्र परेका, मृत्यु भएका, बेसाहार भएकालगायत विभिन्न समस्यामा परेका नेपालीहरूलाई सामीले घरसम्म ल्याउन पैरवी गर्दै आएको छ । सामीको उस्तो प्रयासबाट श्रम बेच्न विदेशी भूमिमा गएका नेपालीहरूले राहत महसुस गर्न थालेका छन् ।

जिल्लाको इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका र माङसेबुङ गाउँपालिकामा सामी कार्यक्रम सञ्चालन भइरहेको छ । यसअघि विगत चार वर्ष सुरक्षित आप्रवासन (सामी) परियोजनाको नाममा सञ्चालन भए पनि विगत दुई वर्षदेखि सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको नाममा सञ्चालन भइरहेको छ ।

सामी कार्यक्रमले विदेशबाट कमाएर पठाएको रकमको सही उपयोग गराउन सीपयुक्त जनशक्तिको विकास, सूचनामा पहुँच, न्यायमा पहुँच, वित्तीय साक्षरता र मनोसामाजिक परामर्शलगायतको कामसमेत गर्दै आएको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार पछिल्लो आठ महिनामा इलामबाट ६ हजार ३ सय ३८ जना व्यक्तिहरू श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । चालु आर्थिक वर्ष २०८०÷०८१ को साउनदेखि फागुन मसान्तसम्मको तथ्यांकमा सबैभन्दा धेरै फागुनमा ८ सय ९४ जना वैदेशिक रोजगारीमा गएको रोजगार विभागको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया