अग्निसाइर कृष्णासवरन गाउँपालिकामा तालाबन्दी

सप्तरी । जिल्लाको अग्निसाइर कृष्णासवरन गाउँपालिकामा सार्वजनिक जग्गा व्यक्तिको नाममा पास गर्न सघाएको विरुद्धमा गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको छ । गाउँपालिकास्थित गठित बेतिथि विसंगतिविरुद्धको संघर्ष समितिद्वारा गाउँपालिकाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको हो ।

संघर्ष समितिका संयोजक अरुणकुमार चौधरीलगायत समितिका पदाधिकारी तथा स्थानीयवासीले गाउँपालिकाको मूल गेटमा ताला लगाएर गाउँपालिका अगाडि धर्ना दिएका छन् ।
गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीको स्वेच्छाचारी निर्णयबाट व्यक्तिको नाउँमा पास भएको इटहर्वा बजार कलौनी सीतापुरको सार्वजनिक जग्गा फिर्ता नभएसम्म तालाबन्दी सहितका आन्दोलनको कार्यक्रम जारी राख्ने संघर्ष समितिका संयोजक चौधरीले बताए ।

यसअघि कार्यपालिकाको निर्णय विपरीत गाउँपालिका अध्यक्ष चौधरीले मालपोत कार्यालय सप्तरीलाई जग्गा रोक्का तथा चारकिल्ला सिफारिस गरिएकोले संशोधनसहित जग्गा रोक्का राख्नेसहितका आफूहरूसित भएको सम्झौताविपरीत व्यक्तिको नाममा सार्वजनिक जग्गा पास गरेको विरुद्धमा आन्दोलनमा उत्रिन बाध्य भएको संघर्ष समितिका संयोजक चौधरीले जानकारी दिए । उनले गाउँपालिका अध्यक्ष चौधरी व्यक्तिगत स्वार्थमा लागेर कार्यपालिकाको निर्णयबाट रोक्का राखिएको जग्गा फुकुवा सिफारिस गरेको आरोप लगाए ।

गाउँपालिका कार्यालयमा बिहान १० बजेदेखि तालाबन्दीको कारण कार्यालयका कर्मचारीहरू बाहिरै बसेका छन् । तालाबन्दीका कारण गाउँपालिकाको सम्पूर्ण सेवा प्रभावित भएको स्थानीयको गुनासो छ । संघर्ष समितिका अनुसार सांकेतिक रूपमा बिहीबार साढे १२ बजेदेखि १ बजेसम्म सडक अवरुद्ध गर्ने र यसलाई निरन्तरता दिँदै प्रतिदिन आधाघण्टा बढाएर सडक जाम गरिनेछ ।
गत फागुन १६ गते आन्दोलनरत पक्षसँग भएको सहमति कार्यान्वयनबाट अध्यक्ष चौधरीले पछि हट्दै मालपोत कार्यालयलाई पत्र नपठाएपछि उक्त जग्गा चैत २ गते व्यक्तिको नाममा पास भएको कारण आफूहरू आन्दोलनमा उत्रिनुपरेको संघर्ष समितिको आरोप छ ।

प्रतिक्रिया