सुनकोसी–मरिण डाइभर्सनको पानी सिँचाइबारे छलफल

लालबन्दी । सुनकोसी–मरिण बहुदेशीय आयोजनाबाट बागमती नदीपूर्वका उत्तरी क्षेत्र सिँचाइ सम्भाव्यता अध्ययनका विषयमा लालबन्दीमा सर्वदलीय छलफल सम्पन्न भएको छ ।
छलफलले सिन्धुली जिल्लामा निर्माणाधिन सुनकोसी मरिन आयोजनाबाट मधेस प्रदेशका विशेष गरी सर्लाही र महोत्तरीका उत्तरी क्षेत्रमा समेत पानी ल्याउन पहल गर्ने र त्यसका लागि सम्बन्धित मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरेको छ ।

सर्लाहीको बागमती, हरिवन, लालबन्दी र ईश्वरपुर नगरपालिका तथा महोत्तरीको बर्दिवास नगरपालिकाको उत्तरी क्षेत्रमा सिँचाइ एवं खानेपानीको सुविधा नभएको छलफलको निष्कर्ष छ । उत्तरी क्षेत्र दिनप्रतिदिन सुक्खाग्रस्त भएकाले सो क्षेत्रमा खानेपानी एवं सिँचाइको सुविधा उपलब्ध गराउन थप सम्भाव्यता अध्ययन गरी आयोजनाको बिस्तारीकरण गरिदिन पहल गर्ने निर्णय गरिएको छ ।

छलफलले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, खानेपानी मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगमा सिफारिस गरी पठाउने निर्णय गरेको लालबन्दी नगरप्रमुख बासुदेव अधिकारीले जानकारी दिए ।

छलफलपछि सिन्धुली जिल्लामा निर्माणाधीन सुनकोसी मरिण बहुउद्देश्यीय आयोजनालाई सर्लाही र महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा समेत बिस्तारीकण गर्ने सम्बन्धमा सम्भाव्यता अध्ययन एवं सुझाव संकलन गरी नेपाल सरकारसँग पहल गर्न प्रक्रिया अगाडि बढाउन कार्यदल, सल्लाहकार र विज्ञ समूह गठन गर्ने निर्णय गरिएको छ ।

सो कार्यदलमा लालबन्दी नगरपालिकाका नगरप्रमुखको अध्यक्षतामा हरिवन, बागमती, ईश्वरपुर नगरपालिका प्रमुख, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जिल्लास्थित क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरू सदस्य रहेका छन् । त्यस्तै, सुनकोसी सामुदायिक सेवा समाजको प्रतिनिधि सदस्य रहेका छन् ।

छलफलपछि सल्लाहकार समूह पनि गठन गरिएको छ । जसमा पूर्वमन्त्री महिन्द्र राय यादव, नेपाल सरकारका रक्षामन्त्री हरि उप्रेती, संघीय सांसद रामप्रकाश चौधरी, पूर्वराज्य मन्त्री एवं संविधानसभा सदस्य शम्भुलाल श्रेष्ठ, प्रदेश सांसदहरू वेची लुङ्गेली र जवाहारलाल कुशवाहा रहेका छन् ।

छलफलले विज्ञ समूह पनि गठन गरेको छ । जसमा विद्युत्विज्ञ चेतप्रसाद बराल र नापीविज्ञ बलराम पोखरेल रहेका छन् । लालबन्दी नगरपालिकाका प्रमुख अधिकारीको सभाध्यक्षता तथा पूर्व खानेपानी मन्त्री एवं सर्लाही क्षेत्र नं–२ का सांसद महिन्द्र रायको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा वक्ताहरूले आयोजनाको आवश्यकता र औचित्य औँल्याएका थिए । छलफलमा सुनकोसी मरिण बहुद्देश्यीय आयोजनाबाट उत्तरी क्षेत्रमा सिँचाइ सुविधा पु¥याउन सकिने सम्भावनाका विषयमा नेपाल विद्युत् प्राधिकरणका अवकाश प्राप्त इन्जिनियर चेतप्रसाद बरालले आधारहरू प्रस्तुत गरेका थिए । उनले आयोजनाबाट उत्तरी क्षेत्रमा समेत सिँचाइ पु¥याउन सकिने मुख्य दुई ओटा आधार प्रस्तुत गरे ।

उनका अनुसार आयोजनाअन्तर्गत समुद्री सतहबाट ४०७ मिटर उचाइमा रहेको सिन्धुलीको कुसुमटारमा बन्ने विद्युत् गृहबाट पाइप लाइनमार्फत समुद्री सहतहबाट ४०० मिटर उचाइमा रहेको लखनदेही खोलाको सहायक खोला डायनी खोलामा पानी झार्न सकिन्छ । त्यस्तै इन्जिनियर बरालले प्रस्तुत गरेको अर्को विकल्पमा कुसुमटारबाट १३÷१४ किलोमिटरमा पर्ने मरिन खोलामा ड्यामको सहायताले फुलबारी खोला क्रसगरी खयरसाल, बाघघारी गाउँ छिचोली चुरेको भित्तामा ल्याउन सकिन्छ ।

४ दशमलव ५ किलोमिटर पाइपलाइन र ७ दशमलव ५ किलोमिटर सुरुङसमेत गरी १२ किलोमिटरमै डायनी खोलाको पुच्छारमै पानी झार्न सकिने उनले सुनाए । त्यसरी लखनदेही खोलामा पथान्तरण भएको पानीले बागमती नहर पूर्वका उत्तरी क्षेत्रका ठूलो क्षेत्रफल भूभाग सिँचाइ गर्न सकिने उनको दाबी थियो ।

सरकारले महत्वकांक्षी आयोजनाको रूपमा सुरु गरेको सुनकोसी मरिन डाइभर्सनबाट हाल सिँचित ४५ हजार हेक्टर जमिनका अलावा थप ७७ हजार हेक्टर गरी कुल १२२ हजार हेक्टर जमिन सिँचाइ गर्ने लक्ष्य राखे पनि त्यसले बागमती नहर पूर्वका उत्तरी क्षेत्रका ठूलो क्षेत्र सिँचाइ सुविधाबाट वञ्चित हुने भएपछि सम्भाव्यता अध्ययन थालिएको थियो । सो कार्यक्रममा मेयर, उपमेयर, प्रदेश सांसद, संघीय सांसद, वडाध्यक्ष, वडासदस्य, विभिन्न दलका स्थानीय तथा केन्द्रस्तरका नेताहरू लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया