जनकपुरधाममा ३ दिन मनाइँदै छ होली

होलीले रंगिँदै मधेस

जनकपुरधाम । असत्यमाथि सत्यको जित र आपसी भाइचाराको पर्व होली यस वर्ष ४ दिन मनाइँदै छ । पहाडमा १ दिन र मधेसमा ३ दिन होली मनाइने भएको छ । आइतबार (आज) पहाडमा होली मनाइँदै छ भने सोमबार, मंगलबार र बुधबार गरी ३ दिन मधेसमा मनाइने भएको छ ।

फागु पूर्णिमाको भोलिपल्ट मधेसमा होली खेल्ने प्रचलन रहँदै आए पनि मिथिलामा अन्तरगृह परिक्रमाको भोलिपल्ट होली खेलिने भएको हो, तर परिक्रमाको भोलिपल्ट मंगलबार पर्ने भएकाले यस वर्ष जनकपुरधाममा बुधबार होली खेलिने भएको छ ।

मिथिलामा फागुन शुक्ल चतुर्दशीका दिन मध्यरातमा राक्षसी प्रवृत्तिकी होलिकाको प्रतिमा दहन गरेर पूर्णिमाका दिन त्यसको धुरा (खरानीको धुलो) उडाएपछि भोलिपल्ट होली पर्व मनाउने परम्परा छ । मिथिलामा होलीलाई ‘फगुवा’ पनि भन्ने गरिएको छ । सोमबार राति होलिका दहन गरी धुरा उडाइएसँगै मंगलबार र बुधबार होली मनाउने तयारीमा सिंगै मिथिला क्षेत्र लागेको छ । पर्वको तयारीका क्रममा मिथिला क्षेत्रका प्रत्येकजसो गाउँ बस्तीमा रङ र अबिरको बिक्री बढेको छ । यसका साथै होली गीतका स्वर गुन्जिँदै छन् ।

फागुन पूर्णिमाको भोलिपल्ट रङ खेल्दै मिष्ठान्न भोजनसँगै समापन गरिने होली पर्व मिथिला क्षेत्रको आपसी प्रेम दर्शाउने मुख्य पर्व हो । यस पर्वको परम्परासँग कतिपय पौराणिक प्रसंग गाँसिएका छन् । त्रेतायुगमा विवाहपश्चात् फागुन शुक्लपक्षमा मिथिलाका विभिन्न क्षेत्रमा बिहार गर्दै कञ्चनवन पुगेर मिथिलाबिहारी (श्रीराम) र जनक नन्दिनी किशोरीजी (सीताजी) ले फागुन शुक्ल सप्तमीका दिन आपसमा अबिर खेलेर वसन्त उत्सव मनाउँदै पूर्णिमाका दिन जनकपुरधाममा स्वजनसहित फागु खेलेको सम्झनामा होली पर्व सुरु भएको मानिने एउटा मत छ ।

यद्यपि होली पर्वको सन्दर्भ सत्ययुगमा दैत्यराज हिरण्यकशिपुले विष्णुभक्त आफ्ना छोरा प्रह्लादलाई मार्न आगोमा पोलिएर नमर्ने अभय वरदान पाएकी बहिनी होलिकाको काखमा राखेर अग्निकुण्डमा राख्दा अभय वरदान पाएकी होलिका भष्म भएकी र प्रह्लाद भने ध्यान मुद्रामा भगवानको नाम जप्दै शान्त मुद्रामा रहेकाले राक्षसी प्रवृत्ति नाश भएको खुसियालीमा यो पर्वको परम्परा सुरु भएको बताइन्छ । यसै सन्दर्भलाई मिथिलाको हकमा पर्वप्रति अपनत्व बढाउन मिथिलावासीले मिथिलापुत्री जानकीको सन्दर्भ जोडेर यो पर्वको ओज बढाएको बताउनेहरू पनि छन् ।

फागु पर्वको बढ्दो रमझमसँगै मिथिलाका जिल्लाका बजारमा विभिन्न रङको माग बढेको व्यापारीहरूको भनाइ छ । भोजनमा मासुको प्रयोग आमरूपमा हुने भएकाले खसीबोका र कुखुरासँगै शाकाहारीले खाने मिष्ठान्न परिकारका सामानको जोहोमा सबैजसो परिवारको व्यस्तता बढेको छ । सम्पूर्ण राग, द्वेष बिर्सेर एकअर्कालाई विजयको प्रतीक रातो अबिर लगाएर शुभकामना आदान–प्रदान गरिने परम्पराको यो पर्वमा मालपुवा, सेल रोटीसहितका मिष्ठान्न परिकार खाने, खुवाउने मिथिला परम्परा छ ।

मिथिलामा होली गीतको महत्व

मिथिलामा फागुमा गाइने गीतमा ईश्वरप्रतिको भक्ति, स्थानीय चलन, सामाजिक र पारिवारिक सम्बन्धभित्रका हास्यपरक व्यंग्य, युवायुवतीबीचको एकअर्काप्रतिको आकर्षण, शाब्दिक छेडखानी र संस्कृतिसँग सम्बन्धित भाव भेटिन्छन् । गीतकै माध्यमबाट रामसीताले वनविहार गर्दै रंग छ्याछ्याप गरेका कथानक बुनिएका भावमात्र होइन, गीतमा नवयौवनालाई रङ खेल्न आउने चुनौतिपूर्ण निम्ता पनि दिइन्छ । गीतमा हुने भरपूर मनोरञ्जनले नवयौवना ‘होरैया’का अगाडि पर्न नसके पनि छिंडीमा लुकेर खिलखिलाउन भने छोड्दैनन् । फागु गीतमा रंग, अबिरको महत्व रङ देखिनुसम्म मात्र नभएर मन रगिंनुसँग हुन्छ ।

फागु गीतमा किशोरावस्था पार गरेसँगै युवापुस्तामा हुने÷आउने प्रणय सम्बन्धको कल्पना, रुप यौवनको वर्णन र एकअर्कामा समाहित हुन गरिने अपिलका भाव हुन्छन् । गीतमै नवयौवनाको मनोदशा वर्णनका रोमाञ्चक भाव समेटिएका हुन्छन् । अनुराग, प्रेम र समर्पणको भाव फागु गीतमा अलि बढी नै उच्छालिन्छन् । मैथिल संस्कृतिमा अरुबेला छिल्लिएको अर्थमा बुझिने प्रस्तुति पनि ‘होरी’ मा स्वीकार्य हुन्छ । मैथिली साहित्यकार राजेन्द्र विमलका अनुसार होरी मनका बन्धन फुकाएर रमाइने पर्व हो, त्यसैले होरी गीतमा शृंगार रसको प्रधानता हुन्छ ।

इतिहासमा सीमित हुँदै जोगिरा

होली पर्व र संगीतबीच गहिरो सम्बन्ध हुन्छ । संगीतबिनाको होलीको परिकल्पना नै गर्न सकिँदैन । भनिन्छ– होली पर्व मनभित्र रहेको कुण्ठित विचारलाई समाप्त पार्ने पर्व हो । कुण्ठित विचार र मनभित्र दबेका विचारलाई प्रस्फुटित गर्ने सबैभन्दा उत्तम माध्यम नै मिथिलाञ्चलमा गाइने जोगिरा गीत हो ।

कौन तालपर ढोलक बाजे कौन ताल मृदङ्ग

कौन तालपर गोरिया नाचे कौन तालपर हम

जोगीरा सररर…

मिथिलाञ्चलमा गाइने यस प्रकारको जोगिराले होली पर्व खेल्नेहरूका बीच ऊर्जा सञ्चार गर्छ ।

किनका के हाथ कनक पिचकारी,

किनका के हाथ अबिर झोरी ?

रामजी के हाथ में कनक पिचकारी,

सियाजी के हाथ अबिर झोरी‘!! जोगिरा..सररर..!!’

(कसको हातमा सुन जडित पिचकारी (लोला) छ र कसको हातमा अबिरको झोला ? रामजीको हातमा सुन जडित पिचकारी छ र सीताजीको हातमा अबिरको झोला) पौराणिक गाथाका विषयवस्तु, भक्ति, ख्यालठट्टा, प्रेमयुक्त र रउस मिसिएका मैथिली भाषामा गाइने जोगिरा (फागु गीत) अब मिथिलाञ्चलमा सुनिन छाडेका छन् ।

वसन्त पञ्चमी (श्रीपञ्चमी) कै दिनदेखि अबिर खेल्न सुरु गर्दै फागुन पूर्णिमासम्म दिनदिनै प्रत्येक रात डम्फू बजाएर समूहमा गाइने जोगिरा हिजोआज मिथिला क्षेत्रमा सुन्न छाडिएको छ । जोगिरा गाउने पुराना पुस्ताका मरिसकेका र केही वृद्ध भएसँगै नयाँ पुस्ताले यसबारे चासो राख्न छाडेपछि अब मिथिलामा जोगिराको डम्फू बज्न छाडेको हो ।

‘यसपालिको होली मुखमा आइसक्यो, न डम्फू बज्छ, न जोगिराका स्वर नै सुनिन्छन्!’ वर्षौंदेखि जोगिरा गाउँदै आएका भंगाहा–४ का लाली महतोले भने, ‘मेरा समूहका धेरै साथी मरे, कोही बुढा भएर थलिएका छन्, अझै गाउने त रस छ, तर साथ दिने कोही छैनन् ।’ ंबसन्तपञ्चमीसँगै होली (फागु) पर्वको सन्देस छर्ने जोगिरा..(फागु गीत) सुनिन छाडेपछि महोत्तरीसहितका मिथिलाञ्चल क्षेत्रको यो पुरानो संस्कृति लोप हुने स्थितिमा पुगेको हो ।
तिथिमिति सम्झना नराख्नेका लागि पनि होली सुरु भएछ भन्ने सन्देश दिने मृदंग, हारमोनियम र डम्फू (फागु गीतका वाद्यवादन) का तालमा सुनिने जोगिरा गीत गाइने परम्परा एक दशकयता सुन्न छाडिएको छ । आपसी सद्भाव, भ्रातृत्व र उमंगको प्रतीक मानिने फागु (होली) पर्वमा हास–परिहास, ठट्टा गरिनेबीच गीतबाटै गरिने छेडखानी, प्रेमयुक्त भाव र रउसको संयुक्त प्रतिविम्ब हुने जोगिरा..सुन्न छाडिएपछि यो पर्व आएको छनक हुनै छाडेको छ ।

समर्पण भाव, भक्तिका लयमात्र नभई रतिराग, दुःख र जीवनका तिता अतित बिर्साउने रस र अबिर एवं रङको महिमा एकसाथ सुन्न पाइने जोगिरा लोप हुँदै गएपछि होलीको रौनक पनि घटेको छ । ‘होली आएको पत्तै हुँदैन’ बर्दिवास–९ पशुपतिनगरका ८० वर्षीय नथुनी महतोले खिन्न हुँदै भने, ‘बस्तीबस्तीमा प्रत्येक रातजसो गुञ्जिने जोगिरा अब सुनिन छोडिएको छ ।’ नयाँ पुस्ताले पुराना संस्कृति बिर्सदै गएपछि अब आउने पुस्ताले जोगिरा जान्न इतिहासमा पढनु पर्ने स्थिति आइपुग्ने महतोले बताए ।

‘कोन तालपर डम्फू बाजे,

कोन ताल मृदंग,

कोन तालपर गोरिया नाचे,

कोन तालपर हम..!! जोगिरा सरररररररर..!!’

(डम्फू कुन तालमा बज्छ, मादल कुन तालमा बज्छ ? अनि गोरी कुन तालमा र म कुन तालमा नाच्छु ?) होलिया (फागु गीत गाउने गायक) का स्वरमा घरभित्र लुकेर बसेकी नवयौवना मिथिलानीलाई उकुसमुकुस बनाउने र सबै सामाजिक पर्दा उघारेर बाहिर नाच्न आउँआउँ लाग्ने जोगिरा लोप हुँदै गएपछि फागु पर्वको सौन्दर्य स्वात्तै घटेको पुराना होलिया बताउँछन् ।

‘हे डम्फाके चोट महलबीच पहुँचय,

सुतली गोरिया चहक् उठय.. अही फागुन में ! जोगिरा..सरररर !!

(जब डम्फूको आवाज घरभित्र पुग्दछ, सुतेकी नवयौवना जाग्छिन्..फागुमा) ख्यालठट्टा गर्न मैथिल सामाजिक स्वीकृति पाएको नाताबीच (साली–भिनाजु, देवर–भाउजु, सोल्टा–सोल्टी) बीच जोगिरा गीतमार्फत हुने ठट्टाले दिने मनोरञ्जन र कोठाभित्र लुकेर बसेकी नवयौवनालाई शृगांरिक गीतका भावले फागु खेल्न आउन चुनौतीपूर्ण निम्ता दिने यस्ता स्वर सुनिन छाडेपछि आफ्नै ठाउँ बिरानोजस्तो लाग्ने गरेको महोत्तरीकै एकडारा गाउँपालिका भटौलियाका विजयकुमार कर्णले बताए ।

सामाजिक छुवाछूत, उचोनिचो जात र भिन्नभिन्न धर्मसंस्कृतिप्रति परहेज गर्ने पनि एक अर्कोलाई अंकमाल गर्दै सामाजिक सद्भाव र समानताको सन्देश दिन रमाउने परम्पराको होली पर्व मिथिला संस्कृतिको धरोहर मानिन्छ । तर, यसको सौन्दर्यको महत्वपूर्ण अंग जोगिरा लोप हुँदै गएर ‘डिस्को’ बज्न थालेपछि मैथिल मौलिकता हराउँदै गएको भन्दै कर्णले चिन्ता गरे ।

‘कई हाथ के धोती पहिरेई, कई हाथ के लपेटा,

कई धार के पानी पिए, कई बाप के बेटा..! जोगिरा..सररर‘!!’

(कति हातको धोती लाउँछौँ ? तिमीले लाउने धोतीको कति हात लपेटा छ ? कतिवटा खोलाको पानी खाएका छौ, कतिवटा बाबुको छोरा हौ ?) एकपक्षले अर्कोपक्षलाई ‘कई बापके बेटा’ (कतिवटा बाबुको छोरा) भनेर गीतमार्फत नै सोधिने भाव होलीको जोगिराबाहेक अरु बेला कल्पना गर्न सकिन्न ।

जोगिरामा कामोत्सव भाव, बीर रस, आफ्नो परम्परागत संस्कृतिप्रतिको गौरवबोध, अध्यात्मिक पक्ष र धार्मिक परम्पराप्रतिको समर्पण, माया प्रेम, ऊर्जा संस्कृतिको प्रचुरता, परम्पराको निरन्तरता र उमंग एकसाथ भेट्टाइने भाव हुने मिथिला क्षेत्रका प्रसिद्ध साहित्यकार डा राजेन्द्रप्रसाद विमलले बताए ।

राजनीतिक अधिकारका लागि मिथिला क्षेत्रमा नयाँ पुस्ताको आन्दोलनमा सहभागिता देखिए पनि संस्कृतिको जगेर्ना र संरक्षणमा भने खासै उत्साह नदेखिएको बुढापाकाले टिप्पणी गर्ने गरेका छन् । आउने दिनमा मैथिल युवाले यहाँको मौलिक संस्कृति जगेर्नामा ध्यान दिएमात्र मिथिला संस्कृति र सभ्यताको पहिचान चहकिलो हुँदै जाने पूर्वशिक्षक रहेका महोत्तरी भंगाहा–७ का चन्द्रनारायण चौधरी (थारु) ले आश संगालेका छन्।

होली पर्व आउन नजिकीदै गर्दा महोत्तरीमा जोगिरा हराउँदै गएकोबारे सर्वसाधारणले पनि चासो बढाएका छन् । श्रीपञ्चमीदेखि नै डम्फूको तालमा राति अबेरसम्म बस्तीरबस्तीमा गुञ्जिने जोगिरा सुन्न नपाउँदा होली नजिकिएको भान नै नहुने भोइलका ७० वर्षीय मोहन महतोले बताए ।

मिथिलाञ्चलमा बसन्तपञ्चमीदेखि होली गीत (जोगिरा) सुरु भएर मिथिला माध्यमिकी परिक्रमाको सातौँ दिन महोत्तरीको भंगाहा नगरपालिका–९ कञ्चनवनमा यात्रीले एकापसमा रङ अबिर लगायपछि होली पर्व मनाइन थालिने परम्परा छ ।

अघि त्रेता युगमा राम–सीता वनविहार गर्दै डुल्दा फागुन शुक्ल सप्तमीका दिन सो ठाउँ पुग्दा लुकामारी खेल्दै एकापसमा रङ अबिर खेलेका सम्झनामा माध्यमिकी परिक्रमा यहाँ आइपुगेका दिन होली पर्वको रङ अबिरको खेल सुरु गर्ने परम्परा रहेको छ ।
होली पर्वमा गाइने जोगिरामा अश्लिल गीतहरु समेत हुन्छन् । त्यस पछाडीको कारणले समेत ठूलो अर्थ राख्छ । संस्कृतिविद एवं साहित्यकार डा. राजेन्द्र विमलले अश्लिल गीतको माध्यमले मन भित्र रहेको कामवासनालाई बिर्सन पनि जोगिरा सहायक सिद्ध हुने गरेको बताए ।

होलीमा बनाइन्छ महामूर्ख

मिथिला क्षेत्रमा लोप हुँदै गइरहेको जोगिरालगायतका होलैया गायनलाई जीवन्त राख्न मिथिला नाट्यकला परिषद् (मिनाप)ले प्रत्येक वर्ष होरी महोत्सव मनाउँदै आएको छ । होरीका अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरको प्रांगणमा प्रतियोगिता र महामूर्ख सम्मेलन आयोजना गर्ने गरिन्छ ।

होरीका अवसरमा आयोजना हुने सो सम्मेलन देशैभर प्रसिद्ध छ । मिथिला क्षेत्रको सांस्कृतिक अभियानमा अग्रणी भूमिका खेलेको मिथिला नाट्य कला परिषद् (मिनाप)ले संयुक्त रूपमा सम्मेलन आयोजन गर्दै आएका छन् । मिनापले मिथिला क्षेत्रवाट उच्च तहको बौद्धिक काम गर्ने एक जनालाई हरेक वर्ष महामूर्खसहित विभिन्न व्यांग्यात्मक पदवीबाट सामाजिक सम्मान गर्ने चलन छ । यो मिथिला क्षेत्रमा चर्चित छ । विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तिलाई हरेक वर्ष छनोट गरेर यो पदवीबाट सामाजिक सम्मान दिने चलन छ ।

आपसी भाइचाराका रूपमा लिइएको होरी पर्वलाई जनकपुरधाममा हिन्दुसँगै मुस्लिम युवाले पनि सँगै मिलेर आपसी सौहाद्र्रताको परिचय दिँदै मनाउने गरेका छन् । मिथिलामा वसन्त पञ्चमीको आगमनसँगै होरी गीत गाउन सुरु गरिन्छ । अहिले आएर ग्रामीण इलाकामा फागु गीत गाउनेमा कमी हुन थालेको जनाइएको छ ।

फागु पूर्णिमाको पूर्वसन्ध्यामा आयोजना हुने दुई दिने होरी महोत्सवको पहिलो दिन फागु गीत प्रतियोगिता तथा दोस्रो दिन महामूर्ख सम्मेलनको आयोजन गरिन्छ । मिनापका महासचिव शैलेन्द्र मल्लिकले मैथिली भाषा, साहित्य, कला, संस्कृति तथा लोकगीतको संरक्षण गर्न होली महोत्सव आयोजना गरिएको जानकारी दिए ।

फागु गीत प्रतियोगितामा धनुषा, महोत्तरी, सिरहा, सप्तरी र सर्लाहीका ग्रामीण समूह सहभागी भए । महोत्सवको दोस्रो दिन आयोजन हुने महामूर्ख सम्मेलनमा समाजका अगुवा व्यक्तित्वलाई विशेष मानपदवी प्रदान गर्ने चलन छ  । यस अन्तर्गत महामूर्ख तथा अन्य उपाधिकर्तालाई मिथिलामा उत्पादन गरिएका तरकारीको माला लगाइ दिन प्रचलन छ ।

महामूर्ख सम्मेलन नेपालको विभिन्न स्थानमा हुँदै आए पनि जनकपुरधाममा आयोजना गरिने सम्मेलनले निकै उचाइ पाएको छ । मैथिली साहित्य परिषद् वीरगञ्जले २०५० सालमा पहिलोपटक यो सम्मेलनको आयोजना गरेको थियो । पहिलो पटकको महामूर्ख लाला माधवेन्द्र भएका थिए । जनकपुरधाममा २०६१ सालबाट महामूर्ख सम्मेलन हुँदै आएको छ । सो वर्ष महामूर्खको उपाधि मैथिली कवि नरेश ठाकुर, २०६२ सालमा शीतल झा, २०६३ मा हरिबहादुर विसी, २०६४मा ओमकुमार झा, २०६५ मा डा राजेन्द्र बिमल, २०६६ मा रामचन्द्र झा, २०६७ मा सिकेलाल, २०६८ मा रामभरोष कापडि़ भ्रमर, २०६९मा रामसरोज यादव, २०७० मा डा विजयकुमार सिंह, २०७१ मा शत्रुधन महतो र २०७२ मा पवन सिंघानियालाई महामूर्खको उपाधि प्रदान गरिएको थियो ।

२०७३ सालमा सप्तरीको मलेठमा भएको घटनाका कारण अन्तिम समयमा कार्यक्रम स्थगित गरिएको थियो । २०७४ मा वृषेशचन्द्रलाल, २०७५ मा लालकिशोर साह, २०७६ मा लालबाबु राउत र २०७७ मा मदनकृष्ण श्रेष्ठ र हरिवंश अचार्यलाई महामूर्खको उपाधि प्रदान गरिएको थियो ।

होली आपसी प्रेम दर्शाउने रमाइलो पर्व भए पनि केही वर्षयता पर्वका नाममा उच्छृंखलता र विकृति बढेकोतर्फ यहाँका वुद्धिजीवीले चिन्ता गरेका छन् । अमर्यादित ढंगले रङका नाममा कालो पोतो दल्ने, अनिच्छुकलाई जबर्जस्ती रङ छ्याप्ने र मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने बढ्दो विकृतिलाई नियन्त्रण गरिन आवश्यक रहेको पत्रकार महासंघकी अध्यक्ष मोनिका झाले बताइन् ।

प्रतिक्रिया