आठबिसकोटमा पर्यटन व्यापार तथा सांस्कृतिक महोत्सव हुने

आठबिसकोट । कला सांस्कृति पर्यटन प्रवर्द्धन मञ्च रुकुम पश्चिमले जिल्लाको आठबिसकोटमा पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव २०८०–०८१ आयोजना गर्ने भएको छ । आठबिसकोटस्थित राडीबजार खुल्ला मैदानमा यही चैत २२ गतेदेखि २ गतेसम्म महोत्सव सञ्चालन हुने आयोजकले जनाएको छ ।

महोत्सवको तयारी तीव्र रूपमा भइरहेको आयोजक समितिका संयोजक तुल देवकोटाले जानकारी दिए । करिव १०० वटा स्टल रहने उक्त महोत्सवमा विभिन्न स्थानीय उत्पादनका साथै कृषिलगायतको प्रदर्शनी रहने देवकोटाले बताए ।

‘हामी पर्यटन विकास तथा जिल्लाको सांस्कृतिक विविधताको प्रदर्शनका लागि यो महोत्सवको आयोजना गर्दैछौँ’, उनले भने, उद्योग वाणिज्य संघ आठबिसकोटसँगको साझेदारीमा यो महोत्सव सञ्चालन हुनेछ ।’

महोत्सवस्थलभित्र स्थानीय भेषभुषा, कला संस्कृति, खानपानलगायतको प्रदर्शनी गरिने सांस्कृतिक संयोजक देवकोटाले जानकारी दिए । पर्यटन र संस्कृति साथै स्थानीय व्यपारलाई समेत प्राथमिकतामा राखेर सञ्चालन हुने महोत्सवमा व्यवसायिक स्टलसमेत राखिनेछ ।

यसका साथै महोत्सवमा स्थानीय र राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुतिसमेत रहनेछ। शनिबारदेखि नै महोत्सवको प्रचारप्रसारलाई तीव्रता दिने बताइएको छ ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया