बौद्धिक कलाकारको सहभागिताले हौसला मिलेको छ

० बौद्धिक कलाकारले यो अभियानले कलाक्षेत्रलाई नयाँ जागरणको चरणमा प्रवेश गराएको विचार व्यक्त गरिरहेको पाएका छौं । नयाँ पिँढीका कलाकारले आफ्नो भूगोलप्रतिको वा सङ्घीयताको मर्म भनौँ कि जिम्मेवारीबोध गरेको पायौं । बौद्धिक कलाकारहरूको विशेष रुचि र सहभागिताका साथै हामीलाई हौसलासमेत प्रदान गरेको छ

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति तथा बागमती प्रदेश समन्वय समितिका संयोजक लालकाजी लामा

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले देशका सातै प्रदेशमा पहिलो पटक ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ गरेको छ । प्रतिष्ठानका उपकुलपति तथा बागमती प्रदेश समन्वय समितिका संयोजक लालकाजी लामासँग प्रादेशिक प्रदर्शनी र नेपाली ललितकला क्षेत्रका विविध विषयमा केन्द्रित रही सौर्य दैनिकले गरेको संक्षिप्त कुराकानीः

० नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले विगतमा देशभरका कलाकार र कलाकृतिलाई समावेश गरी राष्ट्रिय ललितकला प्रदर्शनी गर्दै आएको थियो । यस वर्ष भने प्रदेश प्रदेशमा पुगेर प्रदर्शनीको सुरुवात गरेको छ । यस सन्दर्भमा तपाईं पनि केही प्रदेशमा पुग्नुभयो । प्रदेशमा पहिलो पटक आयोजना गरिएको प्रदर्शनीका बारेमा कस्तो प्रतिक्रिया पाउनुभयो ?

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आफ्नो स्थापना कालदेखि नै राष्ट्रिय ललितकला प्रदर्शनी गर्दै आएको छ तर यस वर्षदेखि प्रतिष्ठानले प्रदेशस्तरबाटै प्रतियोगितात्मक कला प्रदर्शनी गरी २०८१ जेठ १५ गतेबाट राष्ट्रिय ललितकला प्रदर्शनी गर्ने जुन निर्णय गरेर कार्यान्वयन गरी रहँदा देशका विभिन्न प्रादेशिक ललितकला प्रदर्शनी स्थलमा पुग्ने अवसर प्राप्त भयो । यसरी स्थानीय भूगोलमा पुगेर कलाकार तथा सरोकारवाला सङ्घ–संस्था, शुभचिन्तकसँगको छलफल भेटघाटबाट उक्त भूगोलमा केन्द्रित रहेर कलाकर्म गरिरहेका साथीहरूको हौसला बढेको पाएँ । खास गरी प्रतिष्ठानको आयोजनामा यसरी प्रदेशमै पुगेर गरेको कला गतिविधिले समाजको तल्लो तह र युवा विद्यार्थीहरूमा नयाँ सम्भावना भएको ललितकला क्षेत्रबारे उत्सुकता देखिएको पायौँ । यस्ता खाले कार्यक्रमको निरन्तरता भइरहोस् भन्ने चाहना कलाकार, कलानुरागी, संस्कृतिकर्मी, आमसर्वसाधारण एवं राजनीतिज्ञ रहेको पायौँ । उहाँहरुले कलाकारलाई यस्ता गतिविधिले अवसर र सिर्जनात्मक कार्यमा उत्प्रेरणा मिलेको धारणा व्यक्त गरेको पाएँ ।

० स्थानीय प्रतिभालाई उत्थान तथा प्रवद्र्धन गर्न प्रादेशिक ललितकला प्रदर्शनीको भूमिका कस्तो रह्यो ?

–प्रादेशिक ललितकला प्रदर्शनीले स्थानीय लोक÷परम्परासँग जोडिएका मौलिक रैथाने कलाका साथै नयाँ नयाँ अभ्यासमा रहेका आधुनिक तथा समसामयिक कला र त्यससँग सम्बन्धित कलाकारहरूको प्रतिभा उजागर गर्नुका साथै कला प्रवद्र्धनको पनि एउटा महत्वपूर्ण कार्यक्रम भएको अनुभूत गरेको पाएँ । प्रदर्शनीले स्थानीय कलाकारको प्रतिभालाई चिनाउन र उनीहरुका सिर्जनात्मक कर्मलाई प्रचारप्रसार गर्न मद्दत मिलेको छ । यसले क्षमता भएका कलाकारलाई सम्भावनाको ढोका खोलेको छ ।

० प्रादेशिक ललितकला प्रदर्शनीमा नयाँ तथा पुराना पुस्ताका कलाकारको सहभागिता कस्तो पाउनुभयो ?

यस प्रदर्शनीमा सबै तह र तप्काका कलाकारहरूको उत्साहजनक सहभागिता रह्यो । स्थानीय स्तरमै लामो समयदेखि काम गरिरहेका कलाकार तथा युवा विद्यार्थीहरूको सहभागिताले ललितकला क्षेत्रको आगामी दिन समृद्ध बनाउने मार्ग निकै सुन्दर र गौरव गर्नलायकको हुने विश्वास लिन सकिने महसुस भयो ।

० नेपाली रैथाने कलाको संरक्षण, विकास र प्रवद्र्धनका लागि यस्ता प्रदर्शनीले कतिको महत्व राख्छ ?

– स्थानीय तहमै पुगेर गरिने यस्ता खाले कार्यक्रमले रैथाने मौलिक कलाको संरक्षण, विकास र प्रवद्र्धन हुने कुरामा हामी विश्वस्त छौँ । विशेष गरी प्रतिष्ठानले नेपाली कलाको पुनर्जागरणलाई अभियानका रूपमा अघि सारेको छ । जसका लागि पुरस्कार/सम्मान/प्रशिक्षण तथा प्रवद्र्धन गर्नेसम्मको योजना रहेकाले यस्ता प्रदर्शनी महत्वपूर्ण नहुने कुरै भएन । प्रदर्शनीले कलाकारमा देखिएको उत्साह र जागरण निकै आशातीत रहेको छ । प्रादेशिक प्रदर्शनीले कलाकारलाई जागृत गराउन सफल भएको अनुभवसमेत गरेका छौं ।

० तपाईं बागमती ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ को संयोजक पनि हुनुहुन्छ । प्रदेशबाट यस प्रदर्शनीका लागि कलाकारहरूको सहभाागिता तथा उहाँहरूको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?

– हजुर ! विशेष गरी देशका विभिन्न क्षेत्रबाट काठमाडौँ उपत्यकामा धेरै कलाकारहरू आइबसेका छन् । उनीहरू आफ्नो भूगोलमा कलाकृति पठाउन अलि अल्छी गरेको महसुस भएको छ । त्यसै गरी प्रतिष्ठानले लामो समयदेखि अभ्यास गर्दै आएको राष्ट्रिय ललितकला प्रदर्शनीमा सहभागी भई विभिन्न मान, सम्मान र पुरस्कारहरू प्राप्त गरिसकेका छन् । केही कलाकारले यस पटकबाट सुरु गरेको प्रादेशिक प्रदर्शनीमा सहभागी हुन हिच्किचाएको पायौँ भने बौद्धिक कलाकारले यो अभियानले कलाक्षेत्रलाई नयाँ जागरणको चरणमा प्रवेश गराएको विचार व्यक्त गरिरहेको पाएका छौं । यस्तै, नयाँ पिँढीका कलाकार र जसले आफ्नो भूगोलप्रतिको वा सङ्घीयताको मर्म भनौँ कि जिम्मेवारीबोध गरेको पायौं । बौद्धिक कलाकारहरूको विशेष रुचि र सहभागिताका साथै हामीलाई हौसलासमेत प्रदान गरेको छ । कलामा नयाँ केही गरौं र यसको सामाजिकरणमा योगदान दिने गरी प्रतिष्ठानले अभियान नै चलाएको छ । प्रदर्शनी त्यसको एक अंग भएकाले यसमा कलाकारले नयाँपनको महसुस गरेको समेत पाएका छौं ।

० अन्त्यमा, यही मिति २०८० चैत १२ देखि १६ सम्म हुने बागमती प्रदेश स्तरीय प्रादेशिक प्रदर्शनीका लागि प्रतिष्ठानको तयारी कस्तो छ ?

अन्त्यमा बागमती प्रादेशिक ललितकला प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको छ । सम्पूर्ण कलाप्रेमी, कलाकार, राजनीतिक व्यक्तित्व, कलासमीक्षक, विद्यार्थीलगायत सम्पूर्ण व्यक्ति, व्यक्तित्व, सङ्घ–संस्थाप्रति प्रादेशिक ललितकला प्रदर्शनी २०८० को अवलोकनका लागि हार्दिक आह्वान गर्दछु ।

प्रतिक्रिया