विश्वमा पानीको भयंकर संकट बढ्दै

सन्दर्भ विश्व पानी दिवस :

पानीको विश्वव्यापीरूपमा यस्तो भयंकर अभाव हुने खतराको सामना गर्न र जलस्रोतको सही किसिमले सदुपयोग गर्न अहिलेदेखि नै सजग र सतर्क नहुने र सार्थक प्रयत्न नगर्ने हो भने ‘कौडीमा पनि मिल्कन्छ भिल्लका देशमा मणी’ भन्ने कवि शिरोमणी लेखनाथ पौड्यालको सदाबहार कथन नै फेरि पनि चरितार्थ भइरहनेछ । यो एकदमै ध्रुव सत्य कुरा हो ।

लोकनारायण सुवेदी

यतिबेला विश्वमा कम्तिमा पनि ८० करोडभन्दा बढी मानिसले सुरक्षित पिउने पानी पाउँदैनन् । विकासशील देशहरूमा तीव्र रूपमा बढ्दो जनसंख्या र जल संसाधनको वैज्ञानिक र सन्तुलित किसिमले उपयोग गर्न नसकेकोले यस्तो स्थिति उत्पन्न भएको विज्ञहरूले औँल्याएका छन् । उनीहरूले भनेका छन् कि यही स्थिति कायम रहेमा आगामी २०५० सम्ममा विश्वको त्यतिबेला हुने ९ अर्ब जनसंख्या मध्ये ४० प्रतिशत अर्थात ३ अर्ब ६० करोड मानिसहरू पिउने पानीको अभावले तड्पिनुपर्ने भयंकर डरलाग्दो स्थिति उत्पन्न हुनेछ । यो भयावह स्थितिको कुरा विश्व पानी दिवस (२२ मार्च)को अवसरमा संयुक्त राष्ट्र संघद्वारा प्रकाशित प्रतिवेदनले जनाएको हो ।

संयुक्त राष्ट्रसंघका अनुसार विश्वमा यतिबेला झण्डै ७८ करोड मानिसहरू पानीको अभावका बीचबाट गुज्रिरहेका छन् । त्यसमा थप करिब २ दशमलव ५० करोड मानिसलाई सरसफाइका लागि पनि पर्याप्त पानी उपलब्ध छैन । अर्को महत्वपूर्ण पक्ष के छ भने विश्वका २० प्रतिशत पानीका स्रोतहरू अत्यधिक दोहनका कारण समाप्त भइसकेका छन् । यस सम्बन्धमा कार्यरत विभिन्न एजेन्सीहरू तथा वैज्ञानिक अनुसन्धानहरूबाट जुटाइएका यी तथ्यांकहरूमा भनिएको छ ः ‘२०५० सम्ममा विश्वस्तरमा पानीको माग ५५ प्रतिशतले बढ्न जानेछ । यस्तो स्थितिमा विश्वका ४० प्रतिशतभन्दा बढी आवादीलाई पानीको गम्भीर संकट भएको क्षेत्रमा रहन बाध्य हुनुपर्नेछ ।’

यस्ता क्षेत्रहरूमा उत्तरी अफ्रिका, पश्चिम एसिया र पश्चिम दक्षिण एसिया प्रमुख हुन जाने बताइएको छ । त्यस प्रतिवेदनमा घनाआवादी भएको एसियाली क्षेत्र पानीलाई लिएर सबैभन्दा ठूलो संकट र टकरावको क्षेत्र बन्न सक्ने बताइएको छ । यस्ता क्षेत्रहरूमा गंगा, ब्रह्मपुत्र, सिन्धु र मेकंग नदी वरिपरिका क्षेत्रहरू संकटका प्रमुख क्षेत्र रहने उल्लेख छ । यी नदीहरूको पानीलाई लिएर त्यस क्षेत्रका देशहरूका बीचमा गहिरो मतभेद र सीमा विवादहरू पनि उत्पन्न हुन सक्ने गम्भीर कुरा अध्ययन प्रतिवेदनले दर्शाएको छ ।

त्यसको कारण दिँदै भनिएको छ, ‘नदीहरू केवल सफा पानीका स्रोत मात्रै होइनन् ती जल विद्युत् ऊर्जाका ठूला स्रोतहरू पनि हुन् । त्यसैले यस्ता भयंकर जल संकटका चुनौतीहरूबाट मुक्तिका लागि सबै देशहरू मिलेर संयुक्त प्रयास गर्नुपर्ने आवश्यकता छ ।’ यस प्रकारको प्रयासको आह्वान गर्दै त्यसका लागि पश्चिम एसियाली क्षेत्रका देशहरूले विशेष प्रयास गर्नुपर्ने आग्रह गरिएको छ । ती क्षेत्रमा अहिले पनि १५ देखि ६० प्रतिशतसम्म पानी आपूर्तिको बाटोमा रसाएर, चुहेर र अन्य कारणले पानी खेर गइरहेको या नाश भइरको उल्लेख छ । त्यस प्रतिवेदनले आउँदो दशकको कालखण्डमा जल संरक्षणको क्षेत्रमा नयाँ उन्नत प्रविधि र प्रौद्योगिकीको सदुपयोगका लागि सबै देशहरूले ठूलो स्तरमा लगानी गर्नुपर्ने आवश्यकता पनि प्रष्टसँग औँल्याएको छ ।

हामी हाम्रो देश नेपाललाई अजश्र जलस्रोतको धनी देश मान्दछौँ । हामीकहाँ ठूला साना गरेर ६ हजार नदी नाला र ताल तलैया रहेको तथ्यांक छ । तैपनि यो अमूल्य र आधारभूत प्राकृतिक स्रोतको अझै पनि राष्ट्रिय हितमा व्यापक सदुपयोग गर्न नसकिरहेको अवस्था छ । यसको उदाहरण खोज्न अन्त जानै पर्दैन । देशको राजधानी काठमाडौं नै लामो समयसम्म काकाकुल भएर बस्नु परिरहेको स्थितिले नै यस कुरालाई छर्लंग पार्दछ । अहिले मेलम्चीको पानी आएको भनिए पनि सबैतिर पुगेको छैन । अनि नेपालको पानीको संकट राजधानीको मात्र कुरा गरेर समाप्त हुँदैन धेरै गाउँबस्तीहरूमा पानीको ठूलो संकट छ तर त्यो हाम्रो चर्चाको विषयसम्म बन्ने गर्दैन ।

अर्कोतिर खेतीयोग्य जमिनको बढीमा २० प्रतिशत जति मात्र सिञ्चित हुन सकेको सकेको स्थितिले पनि हामीले उपलब्ध पर्याप्त पानीको सदुपयोग गर्न सकेका छैनौँ भन्ने यथार्थ नै दर्शाउँछ । पानीको विश्वव्यापीरूपमा यस्तो भयंकर अभाव हुने खतराको सामना गर्न र जलस्रोतको सही किसिमले सदुपयोग गर्न अहिलेदेखि नै सजग र सतर्क नहुने र सार्थक प्रयत्न नगर्ने हो भने ‘कौडीमा पनि मिल्कन्छ भिल्लका देशमा मणी’ भन्ने कवि शिरोमणी लेखनाथ पौड्यालको सदावहार कथन नै फेरि पनि चरितार्थ भइरहनेछ । यो एकदमै ध्रुव सत्य कुरा हो ।

जलवायु परिवर्तन, वनजंगल विनास र मानवीय क्रियाकलापकै कारण गाउँका कुवा, पोखरी, इनार, खोला नदीको पानी घट्दै गएको छ । कतिपय खोला त मुहान सुकेर सुक्खा बनेका छन् । पानीका मुहान सुक्न थालेपछि नेपालमा खानेपानीको समस्या बढदै गएको छ । खानेपानीको पर्याप्त सुविधा नभएका यहाँका विभिन्न क्षेत्रका दर्जनौँ बस्तीमा कुवा, पँधेरो र पोखरीबाट पानी उपभोग गरिन्छ । वर्षौंदेखि खानेपानी उपभोग गर्दै आएका पानीका मुहान सुक्न थालेपछि पानीको समस्या चर्कंदै गएको हो ।

खानेपानीका मुहान सुक्नुमा जलवायु परिवर्तन मात्र होइन मानवीय क्रियाकलाप बढी जिम्मेवार देखिएको छ । वनजंगल विनास, विकास निर्माणले पानीका मुहानमा प्रतिकूल असर परेको हो । डोजरले सडक काट्दा जिल्लाका कतिपय ठाउँमा पानीका मुहान हराउन थालेका छन् । विकासको नाममा कतिपय स्थानीयतहले डोजर आतंक मच्चाएका छन् । सडक खन्ने नाममा प्राविधिक रिपोर्ट र वातावरणीय प्रभाव मूल्यांकन नगरी जथाभावी सडक खन्दा पानीका मुहान हराउन थालेका हुन् । मेसिनले धर्ती नै चिरेका छन् । जहाँ हेरे पनि सडक मात्रै खनेको देखिएको छ ।

पछिल्लो समय जलवायु परिवर्तनबाट नेपालमा विभिन्न खाले संकट सिर्जना भएको छ । हिमाल पग्लिरहेको छ, पानीका मुहान सुकिरहेका छन् । नदी र खोलामा पानीको बहाव घटेको छ । तराईमा पनि पानीको सतह निकै तल गएको छ । यी र यस्ता सवाललाई सम्बोधन गरी कसरी अघि बढ्ने भन्ने अहिलेको चिन्ता र चिन्तनको विषय हो । नेपालका हिमाल, पहाड तथा चुरे क्षेत्रका समुदायको खानेपानी, पशुपक्षी, कृषि, जैविक विविधता, पर्यटन तथा तीर्थाटन र सांस्कृतिक पर्व मूल र मुहानमा आधारित छन् । यी पानीका स्रोत मात्र होइनन्, जलवायु र वातावरण परिवर्तनका संकेत पनि हुन् । चार महिना भारी वर्षा हुने र बाँकी आठ महिना सुक्खा हुने नेपालमा बाह्रै महिना पानी उपलब्ध गराउन र खोलामा बगिरहने पानीको मात्रा कायम गर्न पनि मुहानको पानी अत्यावश्यक छ ।

पहाडी भेगको भौगोलिक विकटता छ । बस्ती माथिल्लो भागमा र खोला तल्लो भागबाट बग्ने भएकाले मुहान सुकेपछि खोलाको पानीमा निर्भर हुने अवस्था छैन । लिफ्ट सिस्टमजस्ता प्रविधिको प्रयोग सहज छैन । एक त सो प्रविधि महँगो छ, अर्को त्यसको सञ्चालनको पनि झन्झट छ । त्यसैले पहाडी बस्तीका लागि स्थानीय मुहान नै एक मात्र सस्तो र सुलभ विकल्प हो ।

तर, पछिल्ला दिनमा मुहानमा पानीको मात्रा घट्ने र मुहान सुक्ने क्रम बढ्दो छ । यसका लागि स्थानीय स्तरमा भइरहेका मानवीय हस्तक्षेपका साथै जलवायु परिवर्तनजस्ता बाह्य कारण जिम्मेवार छन् । पानीको अभावमा पहाडी जनजीवन कष्टकर बन्दै गएको छ । नेपाल पानी सदुपयोग फाउन्डेसन (एनडब्लुसिएफ) ले एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) सँगको सहकार्यमा तराई–मधेसबाहेक नेपालका तीन सय पालिकामा गरेको सर्वेक्षणले करिव ७४ प्रतिशत पालिकामा पानीका मूल सुक्ने समस्या पाइएको थियो भने ५८ प्रतिशत पालिकामा मूल सरेको पाइएको थियो ।

त्यसैले हाम्रो देशमा उपलब्ध पानीका स्रोतहरूको उचित किसिमले संरक्षण, सम्बद्र्धन र सदुपयोग गर्ने प्रष्ट नीतिकासाथ उपयुक्त थिति नबसाल्ने हो भने हामी फेरि पनि पछि परिरहेकै अवस्थाबाट गुज्रिरहेका हुनेछौँ । वास्तवमा ‘माल पाएर पनि चाल नपाउने’ स्थितिबाट जबसम्म हामी मुक्त हुन सक्तैनौँ तबसम्म विकासको जतिसुकै गफ चुटे पनि हामी जहीकात्यहीँ हुने कुरा निश्चित छ । हामीले विश्वमा पानीको विकल्प केही पनि छैन र हुन पनि सक्तैन भन्ने कुरालाई मनन र आत्मसात गर्न जति बिलम्ब गर्दछौँ त्यति नै बढी हामी यो समस्याबाट ग्रसित हुँदै जानेछौँ । सरकार र सरोकारवाला सबै सम्बद्ध निकायहरूले यस विषयमा आजैदेखि र अहिलेदेखि नै गम्भीर संवेदनशील हुन नसक्ने हो भने पछि पछुताउनेबाहेक अरू केही कुरा बाँकी पनि रहने छैन । खबरदार ।

प्रतिक्रिया