पार्टीको भविष्य हेरेर नयाँ गठबन्धनमा गयौँ

अहिले जसरी गठबन्धन भएको छ, त्यो हाम्रा लागि परिस्थितिले आइलागेको अवस्था हो । यसलाई हामीले उपयोग गर्न सक्नुपर्छ ।

गंगालाल तुलाधर, उपमहासचिव, नेकपा (एकीकृत समाजवादी)

नेकपा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गरेपछि पानी बाराबारको अवस्थामा रहेका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पछिल्लो समय भएको भेटघाट र संवादलाई आश्चर्यका रूपमा हेरिएको छ । यतिबेला समाजवादी पार्टी निर्माणको अभियान र दसौँ महाधिवेशनको तयारीमा छ भने एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि भेलाको तयारीमा छ । यस्तो बेला नयाँ गठबन्धन हुनु र दुई पार्टीका अध्यक्षबीच भएको निरन्तरको संवादले आउनले दिनमा एकीकृत समाजवादीलाई पार्न सक्ने प्रभावका बारेमा समाजवादीका उपमहासचिव गंगालाल तुलाधारसँग सौर्य दैनिकका लागि गरिएको संवादको सम्पादित अंश:

पछिल्लो गठबन्धनले नेकपा (एकीकृत समाजवादी) लाई कस्तो प्रभाव पार्ला ?

–हाम्रासामु दुइटा विकल्प थिए । एउटा– पुरानो कांग्रेससहितको गठबन्धनमा जाने कि अहिलेको एमालेसहितको गठबन्धनमा जाने भन्ने । दुइटा विकल्पमा हामीले छनोट गर्नुपर्ने परिस्थिति बन्यो । नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवा नै आएर पार्टी अध्यक्ष कमरेडलाई तपाईं नै हो अबको प्रधानमन्त्री, सरकारको नेतृत्व गर्नुस् भन्नुभयो । यसो गर्दा वर्तमानभन्दा फरक गठबन्धनमा जार्नुपथ्र्यो । हामीले दोस्रो बाटो रोज्यौँ र वर्तमान गठबन्धनमा सामेल भयौँ ।

पहिलो गठबन्धन कुनै पनि हिसाबले तोडिनुहुँदैनथ्यो, तोडियो । त्यसमा हाम्रो कुनै भूमिका रहेन । पुरानो गठबन्धन तोडिएसँगै हामीले पनि आगामी भविष्यका लागि पनि वर्तमान गठबन्धनमा जानुपर्ने भयो र अगाडि बढ्यौँ ।

जहाँसम्म नयाँ गठबन्धनले हाम्रो पार्टीलाई पार्ने प्रभावको कुरा छ, यो गठबन्धनले पार्टीलाई खासै प्रभाव पार्दैन । हामीले आफ्नै शक्ति र ल्याकतमा पार्टी निर्माण गर्ने हो । त्यसमा विश्वासका साथ अगाडि बढेका छौँ ।

तर, अहिले जुन ढंगले ३ नेता(प्रचण्ड, ओली र नेपाल)का बीचमा घनीभूत संवाद भइरहेको छ, यसले हामीले बनाएको समाजवादी मोर्चालाई पनि सहज बनायो भने हामीले गरेको बृहत्तर वाम एकताको अभियानलाई पनि सहयोग पुर्याउनेछ । यस्तो हुन सक्यो भने हाम्रो पार्टी पंक्तिलाई पनि उत्साही बनाउने छ । अहिले जसरी गठबन्धन भएको छ, त्यो हाम्रा लागि परिस्थितिले आइलागेको अवस्था हो । यसलाई हामीले उपयोग गर्न सक्नुपर्छ ।

समाजवादी पार्टी निर्माणको अभियानमा रहेका बेला एमालेसँग बढेको संवाद र सुमधुरताले एमालेसँग एकता भइहाल्ने हो कि भनेर कार्यकर्ता पंक्तिमा असर पर्दैन ?

–एमालेसँग वा अरू कसैसँग तत्काल हाम्रो पार्टीको एकताको सम्भावना छैन । संवाद हुँदैमा, कसैसँग भेट्दैमा पार्टी एकता हुँदैन र हतारमा कसैसँग एकता गरेर फुर्सदमा पछुताउने काम गर्नु पनि हुँदैन । अहिले म त्यो सम्भव देख्दिनँ ।
तर, फेरि कहिल्यै एकता हुँदैन भन्ने पनि होइन । ऐन मौकामा कसैसँग एकता हुनै सक्दैन भन्नेचाहिँ होइन । भविष्यमा अवस्था हेरेर कोसँग कसरी एकता गर्ने वा नगर्ने भन्ने निर्णय होला ।

वैशाखमा हुने उपनिर्वाचनमा सबैको ध्यान इलाम–२ मा केन्द्रित भएको छ । यसमा तपाईंहरूको पार्टीले नयाँ गठबन्धनमार्फत् लाभ लिन सक्ने सम्भावना कत्तिको छ ?

–त्यसमा हामीले गठबन्धनका तर्फबाट हाम्रो पार्टीको तर्फबाट उम्मेदवार बनाउन अधिकतम प्रयास गर्नेछौँ । गठबन्धमा हाम्रो तर्फबाट माग रहन्छ नै । तर, त्यो हाम्रो मात्रै चाहनाले हुँदैन । हाम्रो माग र अवस्थाका बारेमा गठबन्धनमा रहेका अन्य दल पनि सकारात्मक हुनपर्छ । यदि त्यो अवसर हाम्रो पार्टीले पायो भने राम्रो हुनेछ । त्यसमा भने हामी लागिपर्नेछौँ ।

२०८४ मा हुने निर्वाचनका लागि पनि केन्द्रित भएर वा सरकारमा जानका लागि मात्रै गठबन्धन भएको हो ? यसमा तपाईंको पार्टीको कुरा के हो ?

–यसमा एमालेले त ‘मिसन–८४’ नै भनेर त्यसमा टार्गेट गरेको छ । त्यसैले पनि एमालेले पुरानो गठबन्धन भत्काउन लागिपर्यो र त्यसमा उ सफल पनि भयो । तर, एउटा परिस्थितिचाहिँ के हुन सक्छ भने, एमालेले मिसन–८४ भन्ने, कांग्रेसले रूखबाहेक कसैलाई भोट नहाल्ने भन्ने, हामीले र माओवादीले पनि एक्लाएक्लै चुनाव लड्छौँ भनिरहँदा यसले आउने निर्वाचनमा वाम धु्रवीकरण हुने सम्भावना मैले देखेको छु ।

हामी अहिले नै यो गठबन्धन आउने निर्वाचनका लागि वा अन्य कार्यका लागि भन्ने पक्षमा छैनौँ । समय लामो छ, त्यतिबेला समयले कस्तो अवस्था ल्याउँछ, त्यसैका आधारमा निर्णय हुन्छ । जहाँसम्म सरकारको कुरा छ, सत्ता समीकरणमा जोडिएपछि सरकारमा जानु सामान्य हो । यसलाई उपयोग गर्दै जनताको पक्षमा काम गर्नुपर्छ भन्ने हो । हाम्रो तर्फबाट सरकारमा गएका नेताहरूले आफ्नो मन्त्रालयमार्फत् जनताको पक्षमा बढीभन्दा बढी काम गर्नुहुन्छ भन्ने कुरामा हामी विश्वस्त छौँ ।

कल्पनै नगरेको अवस्थामा एमाले अध्यक्ष र तपाईंको पार्टीका अध्यक्षबीच जुन ढंगले संवाद भइरहेको छ, यसलाई आठौँ आश्चर्य मानिँदै छ । कसरी आयो यो अवस्था ?

–हो । यो पछिल्लो समय उहाँहरूबीचमा जसरी भेटघाट र संवाद भइरहेको छ, यो उहाँहरू स्वयंलाई पनि विश्वास छैन होला । हामीबीचमा जुन ढंगको तिक्तता थियो, त्यो तोडेर जसरी संवाद भइरहेको छ, यसमा सबै आश्चर्यमै छन् । पार्टी पंक्तिले पनि आश्चर्य मानेको छ । यो प्रश्न अहिले निकै जोडबलका साथ आइरहेको छ । कुनै पनि काम सोच्दै नसोची बिनायोजना हुने गर्छ, त्यसको परिणाम विगतमा पनि राम्रो देखिएको छैन । अहिलेको अवस्था पनि आश्चर्य लाग्ने गरी कसैले सोच्दै नसोचेको बेलामा भएको छ । त्यसैले विगतको पाठ सिकेर समीक्षा गर्दै अगाडि बढ्नुपर्छ । विगतको अनुभवलाई स्मरण गर्दै नयाँ परिस्थितिलाई बुद्धिमत्तापूर्वक अगाडि बढाउनुपर्ने हुन्छ । त्यसो गर्न सकियो भने परिणाम राम्रो र सकारात्मक हुन सक्छ ।

प्रतिक्रिया