काभ्रेको मंगलटारमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काभ्रे । काभ्रे जिल्लाको रोशी गाउँपालिका-९ मंंगलटारमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोशी गाउँपालिका र भद्रदल गणको संयुक्त आयोजना तथा मेथिन्कोट अस्पतालको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । शुक्रबार रोशी-९ मंगलटार स्थित मंगलटार स्वास्थ्य चौकीमा भएको शिविरमा एक सय ७५ जना लाभान्वित भएका छन् ।


महाशिबरात्री र अन्तरास्ट्रिय नारी दिवसको अवसरमा भएको स्वास्थ्य शिविरमा १७५ जनाले स्वास्थ्य परिक्षण गरेका छन् । मंगलटार स्वास्थ्य चौकीका प्रमुख निशा बरालका अनुसार सामान्य उपचार ६७ जना, स्त्रीरोग ५१ जना, भिआईए सेवा २६ जनाले, हाडजोर्नी ९७ जनाले र सामान्य सर्जरी १६ जनाले सेवा लिएका छन् ।


शिविरमा रोशी गाउँपालिकाको वडा नं. ७, ८, ९, १०, ११ र १२ का र तेमाल गाउँपालिकाको वडा नं. ८ लगायतको स्थानीयले सेवा लिएका थिए । विहान १० बजेदेखि ३ बजेसम्म शिविर सञ्चालन भएको थियो । शिविरमा निशुल्क औषधी पनि वितरण गरेका थिए ।


सो अवसरमा रक्त दान कार्यक्रमको पनि आयोजना गरेको थियो । रक्तदान कार्यक्रममा गाउँपालिका अध्यक्ष लगायत १२ जनाले रक्तदान गरेका थिए ।


उक्त शिविरमा गाउँपालिकाका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिमबहादुर वाईबा, भद्रदल गणका प्रमुख, मेथिन्कोट अस्पतालका अध्यक्ष कृष्ण प्रसाद खनाल, अस्पतालका निमत्त सुपरिटेण्डेन्ट डा. मधुकर दाहाल, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमख गंगालाल श्रेष्ठ लगायतको उपस्थिती रहेका थिए ।

प्रतिक्रिया