व्यावसायिक बाख्रापालनबाट मनग्य आम्दानी

इलाम । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका याम कार्कीले व्यावसायिक बाख्रापालन व्यवसाय सञ्चालन गर्दै आएका छन् । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तर उत्तीर्ण गरी १० वर्षसम्म शिक्षण पेसा गरेका कार्कीले सात वर्षदेखि व्यावसायिक बाख्रापलन गर्दै आएका छन् ।
२०७३ सालमा शिक्षण पेसा छाडेर ‘इलाम एग्रो फार्म’ सुरु गरेका कार्कीको फार्म अहिले नमुना फार्मको रूपमा परिचित बनेको छ । व्यावसायिक बाख्रापालन गरी गाउँमै धेरै आम्दानी गर्ने किसानका रूपमा समेत परिचित छन् । उनले बाख्रापालनबाट मनग्य आम्दानी गरिरहेका छन् ।

कार्कीले वार्षिक आठदेखि १० लाख रुपैयाँसम्म कमाइ गरिरहेको सुनाए । ‘अहिले वार्षिक रूपमा आठदेखि १० लाखसम्म कमाइ भइरहेको छ, यसले जीविकोपार्जनमा सहजता मिलेको छ’, उनले भने, ‘कहिलेकाहीँ व्यवसायमा उतारचढावचाहिँ आउँदो रहेछ, तर व्यवसायमा निरन्तरता दिएर नवीनतम काम गर्न सकियो भने पैसा कमाउन कुनै सममस्या छैन ।’

उनले सञ्चालन गरेको फार्ममा अफ्रिकन बोयर, खरी र जमुनापारी जातका माउ, ब्याड् बोका र पाठापाठी गरी एक सयको हाराहारीमा बाख्रा रहेका छन् । त्यहाँ उत्पादित बाख्रा खपतका लागि बजारको समेत कुनै समस्या छैन । व्यापारीहरू बाख्रा र पाठापाठी खरिद गर्न फार्ममा आउने गरेको उनले सुनाए । उनले गाउँमा सम्भावना नदेखेर विदेश लाग्नेहरूका लागि उदाहरण बन्न सकिन्छ कि भनेर जागिर छाडेर बाख्रापालन सुरु गरेको दाबी गरे ।

‘बिउ उत्पादन गर्ने सोचका साथ अफ्रिकाबाट बोयर बोका र माउ ल्याएर बाख्रापालन सुरु गरियो’, उनले भने, ‘यहाँ उत्पादित बाख्रा र बोका इलामसहित देशभरका विभिन्न जिल्लामा निर्यात हुने गरेका छन् ।’
उनको फार्ममा दुई जना युवाले रोजगारीसमेत पाएका छन् । आफू र आफ्नो परिवारका सदस्यबाहेक दुई जना कामदारले रोजगारी दिएको उनले बताए । ‘फार्ममा हामी आफैँ पनि खट्ने गरेका छौँ, त्यसबाहेक दुई जना युवालाई समेत कामदारका रूपमा रोजगारी दिएको छु’, उनले भने, ‘आफू स्वरोजगार भई अरूलाई समेत रोजगारी दिन पाउँदा आनन्द लाग्दोरहेछ ।’

उनले बाख्रा पालनमा सहजताका लागि उन्नत जातको घाँस खेती लगाएका छन् । ४० रोपनी जमिनमा उन्नत जातको घाँस लगाएको उनले बताए । उनले रोजगारीको अवसर नभएको भन्दै बिदेसिने युवाहरूलाई गाउँघरमै कुनै न कुनै व्यवसाय गरेर आम्दानी गर्न सकिने उदाहरण प्रस्तुत गरेका छन् ।

उनले सरकारबाटसमेत सहयोग राम्रै पाएका छन् । उनको फार्मले प्रोत्साहनस्वरूप तीन वर्षअघि तत्कालीन प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट व्यावसायिक नमुना बाख्रा फार्म कार्यक्रमअन्तर्गत सात लाख रुपैयाँ अनुदानसमेत पाएका छन् । सो अनुदानबाट आधुनिक बाख्राको खोर निर्माण गरेका छन् । ब्याड बोका, माउ बाख्रा, खसी, बोका एवं पाठापाठीका राख्ने खोर अलगअलग बनेको छ ।

पैसा कमाउन विदैश नै गइराख्नु पर्दैन भन्ने सन्देश दिन आफूले काठमाडौंको शिक्षण पेसा छाडेर गाउँमै फर्केर बाख्रापालन सुरु गरेको कार्की बताउँछन् । ‘बेरोजगार युवाहरू बिदेसिने क्रम रोक्न र गाउँघरमा नै बसेर भए पनि स्वरोजगार बन्न सकिन्छ भन्ने सन्देश दिन व्यावसायिक बाख्रापालन सुरु गरेको हुँ’, कार्की भन्छन्, ‘निरन्तरता दिएर नवीनतम ढंगबाट काम गर्ने हो भने गाउँघरमा नै मज्जाले कमाई गर्न सकिन्छ । म आफ्नो व्यवसायबाट सन्तुष्ट छु ।’ बाख्रापालनका अलावा उनले व्यावसायिक कफी खेतीसमेत गर्दै आएका छन् । ६० रोपनी जग्गामा अराविका नामक ६ हजार कफीको बिरुवा लगाएका छन् ।

प्रतिक्रिया