प्रभु साहलाई अभिव्यक्ति फिर्ता लिन कानू समाजको माग

गौर । आमजनता पार्टीका राष्ट्रिय अध्यक्ष एवं रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचित प्रतिनिधिसभा सदस्य प्रभु साहलाई आफ्नो अभिव्यक्ति फिर्ता लिन कानू समाज कल्याण समिति जिल्ला कार्य समिति रौतहटले आग्रह गरेको छ । पूर्वमन्त्रीसमेत रहेका साहले आफ्नो पदीय मर्यादाको ख्याल नगरी कानू जातीलाई लक्षित गरी गरेको टिप्पणीको घोर भत्सर्ना गर्दै कानू समाज कल्याण समितिले दिएको अभिव्यक्ति तुरन्त फिर्ता लिन माग गरेको हो ।

समितिका कोषाध्यक्ष राकेश साह कानूले विज्ञप्ति जारी गरी जातीय द्वन्द्व सिर्जना गर्ने उद्देश्यले कानू जातिका अगुवा पूर्व प्रदेश सांसद बाबूलाल साह कानू र गौर नगरपालिकाका नगरप्रमुख शम्भू साह कानू तथा बिक्रान्त विक्रम नेपाल पालूलाई नाम किटान गरी गरेको तीखो आलोचनाले सम्पूर्ण कानू जातिको मानसम्मानमा आँच पुगेको जनाएको छ ।

विज्ञप्तिमा पूर्वमन्त्री साहको अभिव्यक्ति तुच्छ एवं संविधान विपरीत रहेकोले अभिव्यक्ति फिर्ता लिएर सार्वजनिक रूपमा गल्ती स्वीकार नगरेमा त्यसको विरुद्धमा सम्पूर्ण कानू समाज प्रदर्शनमा उत्रिने चेतावनीसमेत दिइएको छ । रौतहट जिल्ला क्रिकेट संघले आयोजना गर्न लागेको पालिका कप क्रिकेट प्रतियोगिताको विषय लिएर प्रतिनिधि सभा सदस्य साहले आइतबार मौलापुर नगरपालिकामा कार्यकर्ता भेटघाट कार्यक्रम संघका कोषाध्यक्षसमेत रहेका विक्रान्त विक्रम नेपालप्रति लक्षित गर्दै चर्को आलोचना गरेका थिइ ।

सम्बोधनको क्रममा सांसद साहले ‘बाबूलाल साह र शम्भू साह कस्तो हुन् सबैलाई थाहा छ, नामको पछाडि नेपाल थर राख्दैमा कोही माधव नेपालको छोरा भतिजो हुन सकिँदैन’ भनी टिप्पणी गरेका थिए । साहको अभिव्यक्ति सामाजिक संजालमा भाइरल भएपछि रौतहटको शिवनगरमा मंगलबार बसेको कानू समाजको बैठकले प्रभु साहको अभिव्यक्तिले कानू समाजको मानमर्दनमा आँच पु¥याएकाले अभिव्यक्ति फिर्ता लिन दबाब दिनुपर्ने निर्णयसमेत गरेको छ ।

१८ स्थानीय तह रहेको रौतहट जिल्लामा हुन गइरहेको पालिका कपमा मौलापुर नगरपालिकाले सहभागिता नजनाउने भनेपछि सामाजिक संजालमा नगरपालिकाको विरुद्धमा नकारात्मक टिप्पणी हुन थालेपछि सांसद साहले रौतहट जिल्ला क्रिकेट संघले क्रिकेट प्रतियोगिताको नाममा ठगी धन्धा गर्ने गरेको आरोपसमेत लगाएको छ ।

प्रतिक्रिया