रौतहट । आमजनता पार्टीका अध्यक्ष एवं रौतहट ३ का प्रतिनिधिसभा सदस्य प्रभु साहले नेपाल क्रिकेट संघलाई क्रिकेटको लागि आएको बजेट सार्वजनिक गर्नुपर्ने बताएका छन् । रौतहटको मौलापुर नगरपालिकामा पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष साहले क्रिकेट खेलको नाममा ठगी गर्ने कार्य बन्द गर्न रौतहट जिल्ला क्रिकेट संघलाई आग्रह गरेका छन् ।
उनले भने, ‘रौतहट जिल्ला क्रिकेट संघले खेलाडी छनौटको नाममा क्रिकेट खेल्ने खेलाडीलाइ भ्रमित गरिरहेको छ त्यस्तो कार्य बन्द गर्नुपर्छ ।’
रौतहटको सदरमुकाम गौरमा फागुन २६ गतेदेखि हुन लागेको पालिका कप २०८० को प्रतियोगितामा मौलपुर नगरपालिकाले सहभागिता नजनाएपछि रौतहट क्रिकेट संघले गरेको आलोचनाको बारेमा प्रतिक्रिया दिँदै अध्यक्ष साहले १७ पालिका तथा संघसंस्था व्यापारीबाट चन्दा संकलन गरेर ठगी गर्ने कार्य गरिरहेको चर्को आलोचना गरेका छन् ।
नेपाल सरकारले खेलकुदका लागि क्यानलाई बर्सेनि १० अर्ब रुपैयाँ बजेट दिइरहेकोले सोबाट प्रत्येक जिल्लामा एक करोडभन्दा बढी रहेका भागमा पर्ने हुँदा चन्दा किन दिनुपर्ने भन्दै प्रश्नसमेत गरेका छन् ।
‘क्यानले भन्नुप¥यो, पैसा छैन म दिन्छु’, उनले भने, ‘बजेट छ भने मौलापुर नगरपालिकालाई पनि क्रिकेट प्रतियोगिता आयोजनाको लागि दिनुपर्छ ।’
आफू सुरुमा सांसद भएको बेला मौलापुरमा जिल्लास्तरीय क्रिकेट प्रतियोगिता गराउने पहिलो सांसद रहेको दावी गर्दै गौर नगरपालिकाका मेयर, जिल्ला समन्वय समितिको अध्यक्षलाई जिल्लास्तरीय क्रिकेट प्रतियोगिता गराउन क्षमता छैन भने प्रश्न गरे ।
जनकपुर उपमहानगर पालिकाको मेयर जिल्लास्तरीय क्रिकेट प्रतियोगिता गराउन सक्छ भने यहीको क्षेत्र नम्बर १ का सांसद माधवकुमार नेपाललाई सो खेल गराउने हैसियत छैन भनी उनले टिप्पणी गरे ।
पूर्वमन्त्री साहले गौर नगरपालिकाका नगरप्रमुख शम्भू साह कानू, पूर्वप्रदेश सांसद बाबूलाल साह कानूको नाम लिँदै नामको पछाडि नेपाल थपेर माधव नेपालको छोरा भतिजो हुन नसक्ने चर्को आलोचना गरे ।
पालिका कपका लागि मौलापुर नगरपालिकाले सहयोग नगरेपछि रौतहट जिल्ला क्रिकेट संघका कोषाध्यक्ष बिक्रान्त विक्रम नेपालप्रति लक्षित गर्दै साहले यस्तो प्रतिक्रिया दिएका हुन् ।
नेपाल क्रिकेट संघले खेलाडी छनौट गर्दा मौलापुर नगरपालिकाको खेलाडीलाई वञ्चित गर्न कुनै पनि हालतमा नपाउने भन्दै उनले रौतहट क्रिकेट संघको भ्रममा नपर्न खेलाडीलाई अपिल गरेका छन् ।
रौतहट
प्रतिक्रिया