विश्व शान्तिका लागि समाजवादी लोकतन्त्र

विश्वका विभिन्न संस्था तथा मुलुकले आणविक हतियारमुक्त विश्व बनाउने अभियान चालेका छन् । तर विश्वका शक्तिशाली मुलुकहरू रुस र अमेरिकाको हतियार मोहले विश्व चिन्तित छ । तथापि विश्वबाट आणविक र रासायनिक हतियार उन्मूलन गर्न हामी विश्वबासी सबै मिलेर सशक्त आवाज उठाउन जरुरी छ ।

शिशिर श्रेष्ठ

झण्डै २६ सय वर्षअघि भगवान बुद्धले विश्व शान्तिको सन्देश प्रवाह गरेका थिए । कपिलवस्तुका राजकुमारको रूपमा जन्मिएका सिद्धार्थ गौतम कठोर साधनाबाट प्राप्त ज्ञानको ज्योति र त्यस अनुशरणका माध्यमबाट भगवान्का रूपमा स्थापित भए । भगवान् बुद्धकोे शान्तिको सन्देश आज विश्वभर पुगिसकेको छ । हामीले सबैलाई सुख होस्, सबै स्वस्थ र शुभाशुभ पहिचान गर्न सक्ने होऊन्, कसैलाई कुनै प्रकारको दुःख नहोस् भनेर विश्व शान्तिको कामना गर्नुपर्दछ । शान्तिको बाटोबाट मात्र मानव सभ्यताको गौरवको संरक्षण र सम्बद्र्धन हुने भएकोले यसै बाटोमा हिँड्न हामीले शासक वर्र्गलाई पनि घच्घच्याउनु पर्दछ ।

विश्व शान्तिको प्रवद्र्धनका विषयमा शिक्षक रामशरण भन्नुहुन्छ, ‘विज्ञानको विकासद्वारा मानिस चमत्कारी कार्यहरू गर्न सफल भए पनि कतिपय आविष्कारले मानिसको अस्तित्व नै संकटमा पर्ने संभावना बढेको छ । हतियारको विकास र होडबाजीले विश्वमा युद्धको डर, त्रास कायमै छ । गैरकानुुनी हतियारको प्रयोग मानव विरोधी कार्य हो । यस्तो चुनौतीको सामना गर्नका लागि पाठ्यक्रममा समावेश गरिएका शान्ति र निःशस्त्री करणका विषयबस्तुलाई कक्षामा छलफल गराउनुपर्छ । यसका लागि समाजमा भएका आपसी भेदभाव र घृणा कम गर्ने, विद्यालय र वरपर भयरहित तथा सुरक्षित वातावरण सिर्जना गर्ने, हतियारको प्रयोगबाट हुने खतराबारे छलफल चलाउने आदि क्रियाकलापका माध्यमबाट शान्ति र निःशस्त्रीकरणको प्रवद्र्धन गर्न सकिन्छ ।’

त्यसको साथै आणविक हतियारबाट विश्व सुरक्षा चुनौती सिर्जना भएको छ । रासायनिक हतियार अर्काे प्रतिबन्धित खतरनाक विनासकारी शस्त्र हो । रासायनिक हतियारसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धीले आमसंहारकारी यस्ता हतियारको उत्पादन, भण्डारण, ओसारपसार, बिक्रीवितरण र प्रयोगमा संसारका हरेक देशमा पूर्ण बन्देज लगाउने लक्ष्य लिएको छ । विश्वका विभिन्न संस्था तथा मुलुकले आणविक हतियारमुक्त विश्व बनाउने अभियान चालेका छन् । तर, विश्वका शक्तिशाली मुलुकहरू रुस र अमेरिकाको हतियार मोहले विश्व चिन्तित छ । तथापि विश्वबाट आणविक र रासायनिक हतियार उन्मूलन गर्न हामी विश्वबासी सबै मिलेर सशक्त आवाज उठाउन जरुरी छ ।

औपचारिक रूपले कम्युनिस्ट आन्दोलन सन् १८४८ बाट सुरु भएको थियो र त्यसको सैद्धान्तिक आधार माक्र्सवाद थियो । माक्र्सवादले नै कम्युनिस्ट आन्दोलनको लक्ष्य, विधि, क्रान्तिकारी शक्ति र वर्ग सबै कुराहरूलाई वैज्ञानिक ढंगबाट सुनिश्चित गरेको थियो । यसले कम्युनिस्ट आन्दोलनको लक्ष्यको रूपमा वैज्ञानिक समाजवाद साम्यवाद, यो लक्ष्य प्राप्त गर्ने विधिको रूपमा वर्ग संघर्ष र समाजवादी क्रान्ति सम्पन्न गर्ने क्रान्तिकारी शक्तिको रूपमा सर्वहारा वर्गलाई मानेको थियो । यसरी माक्र्सवादले स्वतःस्पmुर्त रूपमा चलेको कम्युनिस्ट आन्दोलनलाई वैज्ञानिक ढंगबाट मार्गदर्शन गरेको थियो ।
माक्र्सवादको सुस्पष्ट मार्गदर्शनमा पहिलो समाजवादी क्रान्ति सन् १९१७ मा रुसमा सम्पन्न भयो । त्यसले कम्युनिस्ट आन्दोलनलाई व्यावहारिक रूपमा सही छ भन्ने सिद्ध गरिदियो । अब कम्युनिस्ट आन्दोलन सिद्धान्त र व्यवहार दुबैमा सही सिद्ध भयो । परिणामस्वरूप यो विश्वभरी फैलियो । तर, सन् १९५० पछि विश्व कम्युनिस्ट आन्दोलनमा समस्या देखिन थाल्यो र विस्तारै यो कमजोर हुन थाल्यो । अन्ततः सन् १९९१ मा पहिलो समाजवादी सत्ताको रूपमा स्थापित सोभियत संघ विघटन भयो । त्यसको प्रभाव विश्वभरी प¥यो र त्यो अद्यावधि कायम रहेको छ ।

अहिले नयाँ उत्पादक शक्तिको रूपमा विज्ञान प्रविधि आएको छ । यससँग पुराना उत्पादन सम्बन्धहरू मेल खाँदैनन्, जसमा पुँजीवादी र समाजवादी दुबै उत्पादन सम्बन्धहरू पर्दछन् । त्यसकारण अब विज्ञान प्रविधिको अनुरूप उत्पादन सम्बन्ध भएको सामाजिक व्यवस्था आवश्यक भएको छ । यसको लागि समाजवादको नयाँ प्रारूप निर्माण गर्नु आवश्यक छ । नयाँ उत्पादक शक्ति विज्ञान प्रविधिको अनुरूप उत्पादन सम्बन्ध भएको सामाजिक व्यवस्थाको रूपमा समाजवादको नयाँ प्रारूप आउँदछ ।

लोक र तन्त्र मिलेर लोकतन्त्र बन्छ यहाँ लोकको अर्थ माटो सहितका जनता र तन्त्र भनेको शासन हो । अतः शब्दको उत्पत्तिको हिसाबले हेर्ने हो भने लोकतन्त्र भनेको जनताको शासन हो । यसका लागि अंग्रेजीमा प्रयोग हुने शब्द डेमोक्रेसीले पनि यही अर्थ दिन्छ । डेमोक्रेसी पनि ग्रिक भाषाको डेमोसर क्रेसिया मिलेर बनेको हो, जसमा डेमोसको अर्थ जनता र क्रेसियाको अर्थ शासन हुन्छ । यसप्रकार उता पनि शब्दको उत्पत्तिको आधारमा लोकतन्त्र भनेको जनताको शासन हो । यसको साथै लोकतन्त्रको अर्थ विस्तृत छ । अब्राहम लिंकन लोकतन्त्रलाई जनताको, जनताका लागि र जनताद्धारा गरिने शासन हो भन्दछन् । पुँजीवादी प्रजातन्त्रले मात्र विश्वको समस्याको हल गर्न सकेन र समाजवाद, साम्यवादले पनि विश्वमा आफ्नो अधिपत्यलाई जोगाइराख्न सकेन । तसर्थ हामीले समाजवाद र लोकतन्त्रको मिलन विन्दु खोज्नुपर्दछ जसलाई हामीले समाजवादी लोकतन्त्रको नामकारण गरेका छौँ ।

समाजवादीहरू र लोकतन्त्रवादीहरूबीच संघर्ष हुनु आवश्यक छैन । यो २१औँ शताब्दीमा लोकतन्त्रका सकारात्मक पक्ष र समाजवादका राम्रा विषयहरूलाई अनुशरण गरेर अघि बढ्नुपर्दछ । विगतमा समाजवाद र लोकतन्त्रको युद्धका नाममा विश्वमा ठूलो क्षति पुगेको थियो जुन अब अनावश्यक छ । युद्ध मानवहितको विरुद्ध छ । तसर्थ समाजवादी र लोकतन्त्रवादी मिलेर नयाँ विश्वको सिर्जना गर्नुपर्दछ । चीन लगायतका समाजवादी देशहरू र अमेरिका लगायतका लोकतन्त्रवादी देशहरूको मिलनविना विश्व शान्ति संभव छैन । आपसी विवादका कारण वर्तमान विश्वमा केही देशहरू युद्धमा होमिएको देखिन्छ, जुन उचित होइन । विवादको समाधान युद्ध होइन, वार्ता हो । हामी नेपालीले पनि कुनै पनि युद्धलाई मान्यता दिनु हँुदैन । हामी सदैव शान्तिको पक्षमा उभिनु पर्दछ । हाम्रो भगवान् गौतम बुद्धले पनि हामी नेपालीलाई यहि शिक्षा दिनुभएको छ ।

प्रतिक्रिया