९० लाख खर्चेर अमेरिका पुगेका बसन्त उतै अस्ताए

रुकुम पश्चिम । पश्चिम नेपालमा कालापार (भारत) जाने प्रचलन पुरानै छ । रोजगारीको लागि यहाँका अधिकांश मानिस भारत जाने गर्छन् । तर, पछिल्लो समय अमेरिका प्रति मान्छेको आकर्षण बढ्दो छ र जानेको संख्या पनि बढ्दै गएको छ ।

पहिले एक घर एक कालापार थियो । अहिले एक घर एक अमेरिका भैसकेको छ । अधिकांश नेपाली युवाले सपनाको मुलुक अमेरिका हुने गरेको छ । यो पश्चिमका लागि पनि अस्वभाविक होइन, तर कानुनी प्रक्रिया हुँदाहुँदै अवैध बाटोबाट अमेरिका जाने होडबाजी चलेको छ । डिभी चिट्ठाबाट हजारौं नेपाली अमेरिका पुगिसकेका छन् । अन्य कानुनी प्रक्रियाबाट अमेरिका पुगेका नेपालीको संख्या पनि उत्तिकै छ । त्यही भएर पनि नेपाली जुनसुकै मूल्य चुकाएर भए पनि अमेरिका छिर्न लालयित हुन्छन् । रुकुम पश्चिम र पुर्वी रुकुममा त झन गाउँ नै रित्याएर अमेरिका छिरेका छन् ।

मानव तस्करको सञ्जालसँग जोडिएका गाउँका दलालहरुले युवालाई ग्यारेन्टीका साथ अमेरिका पुर्याइदिने सपना बाँड्छन्, अनेक प्रलोभन देखाउँछन् । अमेरिका उडाइदिने सर्तमा मानव तस्करलाई ६०–७० लाख रुपैयाँ बुझाउछन् । गाउँमा सबै साथिभाइ त्यसरी नै अमेरिका पुग्दा जोकोहिलाई पनि कर्जा गरेर अमेरिका पुग्ने रहर जाग्छ । त्यहि सोच र रहर जाग्यो रुकुम पुर्वका बसन्त शर्मालाई पनि । अमेरिका प्रतिको लहरले उनलाई पनी तान्यो । रुकुम पूर्व सिस्ने गाउँपालिका–३ पोखराका ३२ वर्षिय बसन्त शर्मा अमेरिका जान तयार भएर दलालीलाई पछ्याउँदै अवैध बाटो रोजे । ०७८ सालको चैतमा उनी घरमा आमा, बुवा, दाजुभाई र दुई छोरीसहित श्रीमती र गाउँ नै छोडेर सपनाको पोको बोकेर अमेरिका जान गाउँका युवाहरुलाई अमेरिका पठाउँदै आएका रुकुमकै पूर्णबहादुरलाई ६५ लाख बुझाएर यात्रा तय गरे ।

करिव आठ महिनाको कष्टकर यात्रा पछी उनी अमेरिका पुगे । ०७८ मा घरबाट निस्किएका शर्मा ०७९ मंसिरमा अमेरिका पुगे । तर, उनले देखेको जस्तो सरल थिएन अमेरिकाको सपना । जसोतसो अमेरिका त पुगे । तर सधैंका लागि उनी अस्ताए । एक वर्ष बित्न नपाउँदै विहिवार उनको न्यूयोर्कको मोनमाउथ मेडिकल सेन्टर अस्पतालमा निधन भयो ।

क्षय रोगबाट ग्रसित बसन्तको सपना अधुरै रह्यो । बैदेशिक रोजगारीको शिलसिलामा साउदी पुगेका बसन्तले साउदीमा तीन वर्ष बिताएका थिए । घर फर्किएपछी उनी रोजगारीको लागि कहिले ज्यालादारी त कहिले भारत जान्थे । गाउँमा अमेरिका जाने चलेको लहरले उनको मन पनि बिग्रियो । एकातिर अभाव र अर्कोतिर सबै गाउँका साथिभाई अमेरिका हिडेपछी उनी पनि ऋण कारेर अवैधबाटो हुँदै अमेरिका हिडें । ०७८ मंसिरको २९ मा मेक्सिकोको बोर्डरबाट अमेरिका शर्माको स्वास्थ्य बिग्रदै गयो । अबैध तरिकाले बसिरहेका उनलाई राम्रो अस्पतालमा उपचार गर्न कागजात नहुंदा पनि समस्या थपियो ।

गाउँमा आर्थिक अवस्था न्युन थियो । ‘बसन्तले अमेरिका जाने निर्णय गरेपछी मलाई पैसाको जोहो गर्न आग्रह गरे,’ शर्माका साढु दाई फरेन्द्र आचर्यले भने, ‘गाउँमा सयकडा चार प्रतिशत ब्याजदरमा ६५ लाख रुपैयाँ ऋण खोजिदिए । अहिले ब्याजले ९० लाख पुगिसक्यो । परिवारका अनुसार उनि अमेरिका पुगे पछि स्वास्थ्यमा समस्या देखिन थालेको हो ।’ अबैध बाटोबाट अमेरिका पुगेका बसन्तले न त अस्पतालमा उपचार गर्न पाए नत कोहि आफन्तको साथ नै पाए । उनीसँग पासपोर्ट लगायतका अन्य कागजात नहुँदा अकालमै ज्यान गुमाउनु पर्यो ।

‘गाउँमै जसोतसो गुजरा चलिरहेको थियो । नजानुहोस भन्दा मान्नु भएन,’ बसन्तकि श्रीमती शर्मिला शर्माले भनिन्, ‘अब एक करोड पैसा कसरी तिर्ने ? न कमाउने मान्छे छ ? दुई छोरीलाई कसरी पाल्ने ?’ बसन्तका घरमा श्रीमती सहित, ९ र १३ वर्षकी छोरी छन् । आमा र दुई भाइ छन् । उनी विदेशमा बितेको खबरले सबै अचेत छन् । रुवावासीले गाउँ नै स्तब्ध छ । एकातिर परिवारको सदस्य गुमाएको पीडा अर्कोतिर ऋणको भारीले परिवारमा संकट । सोहि वडाबाट दुई सय ६० जना युवा अबैध बाटो हुँदै अमेरिका पुगेको वडा कार्यलयले जनाएको छ । रुकुमका शिक्षक, कर्मचारी, विद्यार्थी लगायत सर्वसाधरणलाई अहिले अमेरिका कसरी छिर्ने भन्ने पिरलो छ ।

मानव तस्करले त्रिभुवन विमानस्थल, काठमाडौंका कर्मचारीसँग सेटिङ मिलाएर उनीहरूलाई नेपालीलाई ‘अनअराइभल भिसा’ दिने युएई, सिंगापुर वा गाम्बिया, गिनी बिसाउजस्ता अफ्रिकी मुलुक हुँदै हवाइ मार्गबाट दक्षिण (ल्याटिन) अमेरिकाको कुनै पनि देश पुर्याउने चाँजोपाजो मिलाउँछन् । भने तल्लो बाटोबाट दुवई रुट भएर कोलम्बिया–पानामा–मेक्सिको हुँदै अमेरिका छिराउँछन् ।
अमेरिका लैजाने नाममा सर्वसाधारणमाथि दलाल, साहुले चर्को ब्याज असुल उपर गरिरहेका छन् । अहिले अवैध मार्गबाट अमेरिका जानेले ८० लाख रुपैयाँ बढी तिर्नुपर्छ । प्राय रुकुमा अबैध बाटोबाट अमेरिका जाने होडबाजी नै चलिरहेको छ । ०६२ सालको शान्ति सम्झौता हुनुअघिदेखि नै रुकुमबाट अमेरिका जाने क्रम सुरु भइसकेको थियो । त्यतिबेला २० देखि ३० लाखसम्म तिर्नुपथ्र्यो भने, अहिले ६० देखि ८० लाख दलाललाई बुझाउनुपर्छ ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया