सपनाको गन्तव्य डोल्पा

पूर्वमा मुस्ताङ र चीनको तिब्बत, पश्चिममा मुगु र जुम्ला, उत्तरमा तिब्बत, दक्षिणमा जाजरकोट, रुकुमपश्चिम, रुकुमपूर्व र म्याग्दी जिल्लाको बीचमा रहेको भौगोलिक हिसाबले नेपालको सबैभन्दा ठूलो जिल्ला डोल्पा स्वर्गबाट झरेको एउटा टुक्राजस्तो छ । खोला तर्न तयार पारिएका स्थानीय प्रविधिका साँघु र काठेपुलहरू यी हिमाल, पहाड, पाखा–पखेरुहरू, जल, जंगल र जडिबुटीका असीमित स्रोतहरू छन् । दुर्लभ वन्यजन्तु, (चितुवा, भालु, रेडपाण्डा, कस्तुरी) राष्ट्रिय चरा डाँफे, मयुरको बासस्थान पनि हुन् यी पहाडहरू प्राकृतिक रूपमा सुन्दर छ डोल्पा ।

शुसी बस्नेत

दाङ । कर्णाली प्रदेशमा पर्ने डोल्पा पर्यटकका लागि उत्कृष्ट गन्तव्य हो । प्राकृतिक सौन्दर्यले भरिएको डोल्पामा विविध संस्कृतिले भरिपूर्ण छ । पहिले गाडी नपुगेको हिमाली जिल्ला भनेर चिनिन्थ्यो डोल्पालाई, तर अहिले सिधा बाटोले जोडिएको छ । गाडी र हवाई मार्ग प्रयोग गरेर डोल्पाको सुन्दरतासँग साक्षत्कार गर्न सकिन्छ । डोल्पा घुम्ने रहर पहिलेदेखि थियो । यसपटक भने डोल्पाको दुनैसम्म जसरी पनि जाने योजना बनाएँ मैले । त्यहाँको कला, संस्कृति रहनसहन र पौराणिक शैलीमा बनेका घरहरूले मलाई आकर्षण गराइरहेका थिए । यसपटक भने दाङबाट दुनैसम्म पुग्ने योजना बनाएँ । माघ महिनाको अन्तिमतिर दाङ सदरमुकाम घोराहीबाट राप्ती लोकमार्ग हुँदै हामीले दुनैको यात्रा सुरु गर्यौँ ।

रुकुमपश्चिममा रहेका आफन्तलाई भेटघाट गर्ने योजनासहित डोल्पासम्म पुग्ने हाम्रो योजना बन्यो । घोराहीबाट बिहानै हायसमा चढेर हामी रुकुमतर्फ लाग्यौँ । सल्यानको रागेचौरमा चिया खाजा खान गाडी रोकियो । केहिबेरको बिश्रामपछि गाडी अगाडी बढ्यो सल्यान र रुकुमको सिमानामा पुग्दा चारैतिर हिमालको दृष्य देखिन थाल्यो । मेरो लागि यो दृश्य नौलो थियो । चिसो हावा सुरु भइसकेको थियो । करिब १२ बजेतिर हामी रुकुमको सदरमुकाम मुसिकोट खलंगा बजार पुग्यौँ । यहाँबाट फेरी आठबिसकोटको यात्रा तय गर्नु थियो । दिउँसोको खाना खाएर हामी अर्को गाडीमा आठबिसकोटको राडीतर्फ लाग्यौँ । मध्यपहाडी लोकमार्ग हुँदै सानीभेरी र ठुलीभेरीको तिरैतिर करिब बेलुका ४ बजेतिर राडीबजार पुग्यौँ । यहाँ पुग्दासम्म हिमाली हावाले चिसोपन दिन सुरु गरिसकेको थियो ।

आठबिसकोट जाजरकोट र डोल्पाको लागि प्रमुख व्यापारिक केन्द्र पनि रहेछ । वरिपरि डाँडैडाँडाले घेरिएको र बीचमा उपत्यका बनेको राडीबजार प्रकृतिको सुन्दर उपहार रहेछ । शान्तसँग आफ्नै लयमा बगिरहेको ठुलीभेरीको काखैमा रहेको राडीबजारले मनमा थप सुन्दरता थपिदियो । तीनदिने बसाईपछि हामी आठबिसकोटबाट डोल्पाको यात्रामा निस्कियौँ । बिहान ४ बजे जाजरकोटको बगारादेखि गाडीमा चढेर डोल्पा सम्मको यात्रा तय भयो । जाजरकोटको तल्लुबगर पुगेपछि फेरि रुकुमपश्चिमतर्फ मोडियो तल्लुको भेरी नदीमा बेलिब्रिज भएकाले गाडी फेर्न परेन । जाजरकोट पार गरेर रुकुमको गोतामकोटको त्रिवेणी बजार पुग्यौँ । बिहानै हिँडेकाले यहाँ खाजा खाएर फेरी यात्रा सुरु भयो । जाजरकोट, रुकुम र डोल्पा जिल्लाको संगमस्थल भएर त्रिवेणी भनिएको रहेछ । त्रिवेणी पार गरेपछि रुकुम सकिएर डोल्पा जिल्ला सुरु हुनेरहेछ । मध्यान्ह १२ बजेतिर हामी खदाङबाट अगाडि बढेपछि श्रीबिण्डे पुगियो । मेरो लागि यो सबै नौलो बाटो थियो । चट्टानैचट्टानले घेरिएको बाटोमुनि भेरीनदी मनमा केही डर पनि लागेको थियो । तर, यहाँको सुन्दर दृश्यले डरलाई हराइदिएको थियो ।

चारैतिर होचो भूभाग, दायाँबायाँ, तलमाथि विशाल नदीले घेरेको ठाउँ, बीचैमा उठेको जमिन अनि त्यसैको थाप्लोमा अडिएको त्रिपुराकोट मन्दिरबाट तल हेर्दा जिउ नै जिरिंग हुने भिर । नेपालकै प्रसिद्ध र शक्तिपीठ त्रीपुरासुन्दरी मन्दिर प्राचीन संरचनाको चारैतिर ठड्याइएका विशाल चार ध्वजावाहक काठका लिंगाहरूले सुन्दरतालाई झन् सिँगारिएका रहेछन् । ठुलीभेरीको वाफबाट सरर लाग्ने हावासँगै लहलह झुल्ने धान, मकै, गहुँ, जौलगायतका अन्नबाली चारैतिर सेताम्मे हिमाल काठ र माटोले बनेका घरहरूको बस्तीले मेरो मनलाई लोभ्याइरह्यो । त्रिपुरासुन्दरी मन्दिरको दर्शन सकेर डोल्पाको सदरमुकाम दुनैतर्फ लाग्यौँ । एकातर्फ भिर, अर्कोतर्फ भेरी नदीको तिर हुँदै दुनै बजार पुगियो । ठुलीभेरी नदीको किनारामा सानो गाउँजस्तो देखिने दुनै बजार आकर्षक मात्रै होइन सुन्दर पनि रहेछ । शान्त, सुन्दर र सफा दुनैमा मान्छेको त्यति चहलपहल भने थिएन ।

दुनै बजारलाई एक फन्को लगाएपछि हाम्रो पाइला जुफालतर्फ लम्कियो । जुफाल सदरमुकाम दुनैदेखि करिब ११ किलोमिटर दक्षिण पश्चिमको अग्लो भागमा छ । यहाँ विमानस्थल पनि रहेछ । नेपालगञ्जदेखि दैनिक तीन–चार उडान हुने रहेछ । दुनैभन्दा अग्लो स्थानमा छ जुफाल विमानस्थल । त्यसैले दुनैमा हिउँ नपर्दा पनि जुफालमा पर्दोरहेछ । जुफालबाट तलतिर ठुलीभेरी र अग्ला हिमालहरूको सुन्दर दृश्यलाई सजिलै नियाल्न सकिँदो रहेछ । घरमाथि घर खाँदिएको जुफाल सिमी, उवा, खुर्सानी र स्याउ उत्पादनको लागि राम्रो मानिने रहेछ । जुफालको दृश्य अवलोकनपछि हामी घर फर्किने निर्णय गर्यौँ । फेरि त्यही भेरी नदीको किनारमा प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर हुँदै फर्कियौँ । बाटोमा ढुंगामा धान राखेर काठको मुंग्राले हानेर कुट्दै गरेका डोल्पालीहरू, ठाउँठाउँमा बनाइएका मन्दिर र नेपाली पोसाकमा घोडामा सवार डोल्पाली बाटोमा भेटिए ।

मनै प्रसन्न हुने डाँडाको अलि माथि–माथि भने ठूला ठूला गाउँ सडकबाट देख्न सकिन्थ्यो । जुफाल, दुनै बजारको वरिपरिको डाँडामा हिउँद सुरु भएदेखि नै हिउँ पर्दोरहेछ । लगातार परेको हिउँले सेताम्मे बनेका छन्, पाखा, पखेरा र पहाडहरू हिउँले वरिपरि घेरिएको सुन्दर डोल्पा आँखाले हेर्न नभ्याउँदै ओझेलमा पर्यो । हिमाली र पहाडी जनजीवन, हिमाली संस्कृति एवं रीतिरिवाज अनि माटोले छाएका परम्परागत घर यहाँको आफ्नै भाषाले मलाई आकर्षण गरायो । पूर्वमा मुस्ताङ र चीनको तिब्बत, पश्चिममा मुगु र जुम्ला, उत्तरमा तिब्बत, दक्षिणमा जाजरकोट, रुकुमपश्चिम, रुकुमपूर्व र म्याग्दी जिल्लाको बीचमा रहेको भौगोलिक हिसाबले नेपालको सबैभन्दा ठूलो जिल्ला डोल्पा स्वर्गबाट झरेको एउटा टुक्राजस्तो छ । खोला तर्न तयार पारिएका स्थानीय प्रविधिका साँघु र काठेपुलहरू यी हिमाल, पहाड, पाखा–पखेरुहरू, जल, जंगल र जडिबुटीका असीमित स्रोतहरू छन् । दुर्लभ वन्यजन्तु, (चितुवा, भालु, रेडपाण्डा, कस्तुरी) राष्ट्रिय चरा डाँफे, मयुरको बासस्थान पनि हुन् यी पहाडहरू प्राकृतिक रूपमा सुन्दर छ डोल्पा । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिले उत्तिकै महत्वपूर्ण छ ।

सुक्खा पाखा र नांगगा कहालीलाग्दा पहाड हिउँले छोपेपछी डोल्पा पूरै सेताम्मे स्वच्छ अनि सुन्दर देखिएको छ । अझ माथिल्लो भेकमा सफा, शान्त र निर्मल पानी । छिनछिनमा पानीको रंग परिवर्तन भइरहने । कहिले गाढा नीलो, कहिले मलिन हरियो । देशको सबैभन्दा गहिरो तथा दोस्रो ठूलो ताल डोल्पाको फोक्सुण्डोको चरित्र हो यो । अग्लो ठाउँमा मुस्कुराएका हिमाल सरल जीवनशैलीले यहाँ आउने जोकोहीलाई पनि आकर्षित गर्छ । डोल्पा साँचिक्कै सपनाको गन्तव्य बन्यो । यो यात्राले आनन्द मात्रै पैदा गरेन यहाँको जनजीवन, रहनसहन र सौन्दर्यतालाई नजिकबाट चिन्ने अवसर दियो । कला, संस्कृति, सभ्यता र भेषभुषाको खानीका रूपमा रहेको तिब्बती बौद्ध बोन र हिन्दू संस्कृति र परम्परासँग सम्मिश्रण रहेको जीवनशैली उपल्लो डोल्पामा पाइन्छ । विभिन्न जात, धर्म, संस्कृति र परम्परा सँगसँगै मिसिएको प्राकृतिक दृश्यहरू हेर्ने अवसर डोल्पामा पाइन्छ । डोल्पाको प्राकृतिक मनोरमता र हिउँको च्यादर ओडेका हिमालहरूको दृश्य संसारको जुनसुकै परिदृश्यमा अतुलनीय छ । यहाँको प्राकृतिक सौन्दर्य र संस्कृति, जीवनशैली र आर्थिक गतिविधिले सबैलाई सधैँ आकर्षित गर्ने गर्दछ ।

प्रतिक्रिया