सहिदनगरका पूर्वमेयरसहित सबैले पाए सफाइ

जनकपुरधाम । भ्रष्टाचार गरेको भन्दै सहिदनगर नगरपालिकाका तत्कालीन मेयर, उपमेयर र प्रमुख प्रशासकीयसहित माथि लागेको भ्रष्टाचार मुद्दामा सबैले सफाइ पाएका छन् । विशेष अदालतका न्यायाधीशहरू टेकनारायाण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले सो मुद्दामा प्रतिवादी वनाइएका १२ जनालाई नै सफाइ फैसला सुनाइएको हो ।

सडक निर्माणमा भ्रष्टाचार गरेको दावीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमेयर उदयकुमार बरबरिया यादवसहित १२ जनामाथि २३ माघ २०७९ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

सहिदनगरको वडा–८ बिसरभोरा नहरदेखि गोठ कोयलपुरसम्म कृषि सडक निर्माण गर्दा फिल्डमा भएको कामभन्दा बढी काम गरेको भनी गलत नापी किताब र कार्यसम्पन्न प्रतिवेदन तयार पारी उपभोक्ता समितिलाई बढी भुक्तानी गरेको र लागत इस्टिमेट र कार्यसम्झौताअनुसार काम गर्ने भनिएता पनि लागत बढाई, बढाउन लगाई बढी भुक्तानी दिने र लिने काम गरी २ लाख १२ हजार ८ सय १६ दशमलव २३ रुपैयाँ बराबरको सरकारी रकम हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर थियो ।

जसमा पूर्वमेयर यादव, पूर्वउपमेयर शिलादेवी कापरी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतो, इन्जिनियर संजय यादव, वडा–८ का वडाध्यक्ष तनुकलाल कुसियत, योजना शाखा प्रमुख विन्देश्वर यादव, तत्कालीन लेखाअधिकृत नन्दकुमार झा, उपभोक्ता समितिका अध्यक्ष कारी चमार, कोषाध्यक्ष रेखाकुमारी, सचिव मुकेश लखनदे यादव, लेखा समितिका संयोजक जैसिलाल भिनवार यादव र सुशासन समितिका संयोजक कन्हैया मुखियाविरुद्ध मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया