जाजरकोट भूकम्पको चार महिना : पुनः निर्माणका लागि सरकारले पाँच लाख दिने

भूकम्प प्रभावित क्षेत्रका पालिकाहरु विपत् संकटग्रस्त घोषणा

रुकुम पश्चिम । सरकारले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा भूकम्प प्रतिरोधी स्थायी आवास निर्माणका लागि प्रति परिवार पाँच लाख रुपैँया दिने भएको छ । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गत कात्तिक १७ मा गएको भूकम्पबाट प्रभावित घर परिवारलाई पुनः निर्माणको लागि पाँच लाख रुपैयाँ दिने कार्यविधि पास गरेको हो । भूकम्प गएको चार महिनापछि सरकारले उक्त कार्यविधि ल्याएको हो ।

लामो समयदेखि पुनः निर्माणको पर्खाइमा बसेका प्रभावितलाई कार्यविधि निर्माण भएसँगै थप सहज भएको छ । भूकम्पबाट सबैभन्दा बढी प्रभावित जिल्ला जाजरकोट, रुकुम पश्चिम र सल्यानका पालिकालाई विपद् संकटग्रस्त घोषणा गरी पुनः निर्माण अघि बढाउने सरकारले निर्णय गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन जिल्लाका संकटग्रस्त पालिका घोषणा गर्ने र पुनः निर्माणका लागि स्रोत जुटाएर प्रति परिवार पाँच लाख अनुदान दिने कार्यविधि पास गरेको हो । भूकम्प गएको चार महिनापछि कार्यविधि पास भएपछि पुनः निर्माण अगाडि बढ्ने प्राधिकरणले जनाएको छ ।

हालसम्म पहिचान भएका लाभग्राहीको संख्या ८२ हजार ९ सय ३७ पुगेको छ । जसमध्ये अहिलेसम्म ४८ हजार पाँच सय ६५ अस्थायी आवास बनिसकेका छन् भने निर्माण भइरहेका अस्थायी आवासको संख्या सात हजार आठ सय ३३ रहेको प्राधिकरणले जनाएको छ । अझै १० हजारभन्दा बढी प्रभावित पालमुनि नै रहेको तथ्यांकमा देखिएको छ ।

गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पमा क्षति भएका घरहरुको अहिले अस्थायी आवास निर्माण जारी छ । पुनः निर्माणका लागि आवश्यक तयारी भइरहेको गृहमन्त्रालयले जनाएको छ ।

भूकम्प गएको लामो समय बितिसक्दा पनि सरकारले पुनः निर्माणको काम अघि नसार्दा भूकम्प पीडित मर्कामा पर्दै आएका थिए । भूकम्पबाट जाजरकोटका भेरी, नलगाड, बारेकोट नगरपालिका र छेडागाड र रुकुम पश्चिमका आठबिसकोट, चौरजहारी नगरपालिका, सानीभेरी गाउँपालिकामा बढी मात्रामा मानवीय र भौतिक क्षति भएको थियो । बढी भौतिक क्षति भएका पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरी पुनः निर्माण थाल्ने निर्णय भएको छ ।

जाजरकोटमा २० हजार अस्थायी आवास निर्माण

जाजरकोटमा ४५ हजार ५ सय २४ जना लाभग्राही कायम भएका छन् । त्यसमध्ये २० हजार अस्थायी आवास मात्र निर्माण भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जाजरकोटमा ३२ हजार ९ सय ८ लाभग्राहीले सम्झौता गरेकामा ३१ हजार ९ सय ६१ परिवारले मात्र पहिलो किस्ता वापतको २५ हजार रुपैयाँ पाएका छन्  ।

जिल्लाका लागि निकासा भएको १ अर्ब ३ करोड रुपैयाँमध्ये पालिकाहरूले ७९ करोड ९० लाख मात्र पीडितलाई भुक्तानी दिएका छन् । आधाभन्दा बढी अस्थायी आवास निर्माण गर्न बाँकी छ भने एक हजार लाभग्राहीले पहिलो किस्ताको रकम पाएका छैनन् ।

रुकुम पश्चिममा २८ हजार अस्थायी आवास निर्माण

जाजरकोट भूकम्पले बढी क्षति पुर्याएको रुकुम पश्चिममा २८ हजार ३४ अस्थायी आवास निर्माण गरिएको छ । जिल्लाभर सात हजार तीन हजार ९ सय १२ अस्थायी आवास निर्माणको चरणमा छन् । जिल्लामा लाभग्राही पहिचान भएका ३१ हजार ९ सय ६२ मध्ये अझै तीन हजार ९ सय २८ परिवारको अस्थायी आवास निर्माण हुन बाँकी रहेको र ती अस्थायी आवास निर्माण गर्न केही समय लाग्ने सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए ।

भूकम्प पीडितका लागि जिल्ला विपद् व्यवस्थापन कोषबाट ३१ हजार ९ सय ६२ लाभग्राहीका लागि स्थानीय विपद् न्यूनिकरण कोषमा रु २५ हजारका दरले रु ७९ करोड ९० लाख पठाइएको छ । स्थानीय विपद् कोषबाट ३० हजार दुई सय ३१ लाभग्राहीले रु २५ हजारका दरले ७५ करोड ७५ हजार रकम प्राप्त गरेका छन् । जिल्लामा कायम भएका लाभग्राही मध्ये एक हजार सात सय ३१ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता पाउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

भूकम्पले सबैभन्दा बढी क्षति गरेको आठबिसकोट नगरपालिकामा सबैभन्दा बढी आठ हजार ९ सय ३३ अस्थायी आवास निर्माण भएका छन् । त्यस्तै चौरजहारी नगरपालिकामा ६ हजार एक सय ९४ वटा, त्रिवेणी गाउँपालिकामा तीन हजार चार सय ९४ वटा, बाँफीकोट गाउँपालिकामा दुई हजार ९ सय ९३ वटा, सानीभेरी गाउँपालिकामा पाँच हजार सात सय २१ र सबैभन्दा कम मुसीकोट नगरपालिकामा सात सय ८ वटा अस्थायी आवास निर्माण भएको प्रशासनले जनाएको छ ।

आठबिसकोट नगरपालिकाले भने पहिलो किस्ता रकम पाइसकेका र अस्थायी आवास निर्माण गरेकाहरुलाई दोस्रो किस्ताको लागि फाइल तयार पार्न अनुरोध गरेको छ । साढे ९ हजार लाभग्राही कायम रहेको आठबिसकोटमा अस्थायी आवासको काम अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया