सप्तरी । बोदे बर्साइन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत दिलीपकुमार यादवले महिला विरुद्धका हिंसा उन्मूलन गर्न नगरभर सचेतना कार्यक्रम व्यापक बनाउनुपर्ने बताएका छन् । लैंगिक हिंसाविरुद्धको सचेतना कार्यक्रम अभियानको अवसरमा युनिक नेपाल हनुमाननगर नगरपालिका सप्तरीको आयोजनामा ‘महिला हिंसा तथा बालअधिकार’ सम्बन्धि सचेतना कार्यक्रममा प्रशासकीय अधिकृत यादवले सबै क्षेत्रका महिलालाई आफ्ना हक, अधिकारबारे अवगत गराई महिला विरुद्धका हिंसा उन्मूलन गर्ने जागृतिका कार्यक्रम व्यापक बनाउनुपर्नेमा जोड दिए ।
‘नेपालको संविधानले परिकल्पना गरेको समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने व्यवस्था भए पनि सोहीअनुरूप कार्यान्वयन हुन सकेको छैन । अहिले पनि लैंगिक हिंसा रोकिएको छैन’, उनले भने, ‘जतिसुकै कानुनी व्यवस्था भए तापनि सचेतनाका कार्यक्रम बृहत् नगरेसम्म अवस्था यस्तै रहन्छ । सबै क्षेत्रका महिलालाई आफ्ना हक, अधिकारबारे अवगत गराई महिला विरुद्धका हिंसा उन्मूलन गर्न सबैको सहकार्यमा जनचेतनाका कार्यक्रम व्यापक बनाउनुपर्छ ।’
प्रमुख यादवले संविधानले परिकल्पना गरेको समतामूलक समाज निर्माण गर्न समाजका हुने महिला हिंसा विरुद्धका विकृति विसंगति नहटाउनु पर्ने बताए । ‘संविधान, कानुनमा भएका व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा समाजमा दाइजो प्रथा, यौन दुव्र्यवहार, अमानवीय व्यवहारलगायत महिलामाथि हुने हिंसा अझै व्याप्त छन् । समाजमा हुने महिला हिंसाविरुद्धका विकृति विसंगति नहटाएसम्म संविधानले परिकल्पना गरेको समतामूलक समाज निर्माण गर्न सम्भव छैन’, उनले भने ।
महिला हिंसाविरुद्धको गतिविधि उन्मूलन गर्न लैंगिक हिंसाविरुद्धको अभियानमा पुरुषको सहभागिता सुनिश्चित गर्नुपर्ने र महिलालाई आर्थिक रूपान्तरणमा सबल बनाउन महिला सशक्तीकरण गर्न जरुरी भएको उनले बताए । कार्यक्रम बोदे बर्साइन नगरपालिकाकी कार्यवाहक नगरप्रमुख रेणुकुमारी साहको अध्यक्षतामा भएको थियो ।
सप्तरी
प्रतिक्रिया