नेसनल मेडिकल कलेजका कर्मचारी धर्नामा

पर्सा । वीरगञ्जमा रहेको नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगञ्जका कर्मचारी आन्दोलित भएका छन् । नेसनल मेडिकल कलेजमा कार्यरत सात जना कर्मचारी पुनर्वहालीको माग राख्दै कर्मचारीहरूले ओपिडी सेवा बन्द गरेर धर्नामा बसेका हुन् ।

नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगञ्जको नयाँ व्यवस्थापन समूहले तत्कालीन प्रबन्ध निर्देशक बसरुद्दीन अन्सारीका निकटतम सात जना कर्मचारीलाई कारबाही गरेको छ । अहिले नेसनल मेडिकल कलेजका तत्कालीन प्रबन्धनिर्देशक बसरुद्दीन अन्सारी र उनका भाइबीचको विवाद बढेको छ । तत्कालीन प्रबन्धनिर्देशक बसरूद्दीन अन्सारीका निकटतम सात जना कर्मचारीलाई पुनर्वहालीको माग राख्दै कर्मचारीले ओपिडी सेवा बन्द गरेर सोमबारदेखि धर्नामा बसेका हुन् ।

नेसनल मेडिकल कलेजले शुक्रबार एक सूचना प्रकाशित गर्दै सात जनालाई कर्मचारी आचरण विपरीत काम गरेको भन्दै सात दिनभित्र स्पष्टीकरण सोधिएको छ भने तीन महिनाका लागि उनीहरूलाई निलम्बन गरिएको जानकारी गराइएको छ । नेसनल मेडिकल कलेजमा कार्यरत कर्मचारीहरू हृदयनारायण सिंह, प्रयाग राउत अहिर, फिरोज हवारी, सैनुल्लाह अन्सारी, विजयप्रसाद यादव, रामजीप्रसाद कुशवाहा र अनवर हवारीलाई कारबाही गरिएको हो ।

अस्पतालले सात जना कर्मचारीलाई विनाकारण निलम्बन गरेको धर्नामा बसेका कर्मचारीहरूले आरोप लगाएको छन् । अस्पतालले विनाकारण सात जना कर्मचारीलाई निलम्बन गरेको र ती सात जनालाई काममा नफर्काएसम्म आफूहरूले ओपिडी सेवा ठप्प पारेर दैनिक धर्नामा बस्ने एक कर्मचारीले बताए ।
कलेजका नयाँ प्रमुख प्रशासकीय अधिकृत शेख गौशल आजमद्वारा हस्ताक्षरित सूचनामा उनीहरूलाई कारबाही गरिएको जनाइएको छ । फागुन ११ गते अस्पतालकी नर्सिङ निर्देशक पदमा कार्यरत गंगादेवी गुरुङ, नर्सिङ मेट्रोन पदमा कार्यरत विकासकुमार तथा नर्सिङ सुपरभाइजर गोमा केसीलाई निजहरूकै कार्यकक्षमा युनियनसम्बन्धी विवाद हुँदा धम्की दिई ज्यान मार्नेसम्मको डर देखाई कार्यालयमा हुलहुज्जत गरेकोले श्रम ऐन २०७४ को दफा १३१ (क) बमोजिम खराब आचरण देखाएकोले सो दफाअनुसार किन नहटाउने भन्दै स्पष्टीकरण सोधिएको छ ।

नेसनल मेडिकल कलेजको विवाद ?

नेसनल मेडिकल कलेजका अध्यक्ष जैनुद्दीन अन्सारी र उनका साहिँला भाइ बसरुद्दीन अन्सारीबीच मेडिकल कलेजको जायजेथाको भागबण्डाको विषयलाई लिएर केही महिनादेखि चल्दै आएको विवाद अहिले उत्कर्षमा पुगेको छ । अध्यक्ष जैनुद्दीनले मेडिकल कलेजको प्रबन्धनिर्देशक (एमडी)बाट बसरुद्दीनलाई हटाएर आफ्नै छोरा शाहनवाज अन्सारीलाई एमडीमा नियुक्त गरेपछि दुई भाइबीचको विवाद चर्किएको हो । गत शुक्रबार अध्यक्ष जैनुद्दीनले आफ्ना छोरा शाहनवाजलाई एमडीमा नियुक्त गरिएको निर्णय सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट सार्वजनिक गरेपछि विवाद झन् बढेको हो । अहिले दुवै भाइ पत्रकार सम्मेलन गरेर एकअर्कामाथि आरोप लगाइरहेका छन् ।

प्रतिक्रिया