राष्ट्रबैंकको आश्वासनले रोकिएन एनआईसी एसियाबाट निक्षेप झिक्नेको लर्को

निक्षेपकर्ताले एक महिनामै निकाले १४ अर्ब

काठमाडौं । नेपाल राष्ट्रबैंकले नआत्तिन आग्रह गर्दा पनि एनआईसी एसियाबाट निक्षेप झिक्नेहरुको लर्को रोकिएको छैन । अन्य बैंकमा निक्षेप बढीरहेको बेला पछिल्लो एक महिनामै यो बैंकबाट १४ अर्ब रुपैया निक्षेप निकालिएको छ । एनआइसी एसिया बैंकमा समस्या आएको खबर बाहिरिएपछि रकम निकाल्न निक्षेपकर्ताको हुल बढ्न थालेको हो ।

नेपाल बैंकर्स संघले उपलब्ध गराएको निक्षेप विवरणअनुसार पुसमा एनआईसी एसियाको निक्षेप ३ खर्ब ८१ अर्ब ४० करोड रुपैयाँ थियो । तर, माघमा भने ३ खर्ब ६७ अर्ब ६८ करोडमा खुम्चिएको छ । पछिल्लो एक महिनामै निक्षेपकर्ताले एनआईसी एसिया बैंकबाट १४ अर्ब रुपैयाँ निक्षेप निकालेका छन् ।

वाणिज्य बैंक क्षेत्रको निक्षेप करिब १२ अर्ब रुपैयाँले बढ्दा एनआईसीको भने घटेको हो । बैंकहरुको माघमा ५४ खर्ब २९ अर्ब ६९ करोड रुपैयाँ निक्षेप थियो । तर, माघमा ५४ खर्ब ४१ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । एनआईसी एसिया बैंकको वित्तिय अनुशासन विपरितका कतिपय गतिविधि बारे विवरणहरु बहिरिन थालेपछि ग्राहकको बैंकप्रतिको मनोबल खस्कन थालेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणमा उल्लेख भएका कतिपय विषयवस्तु, शाखा बन्द गर्न राष्ट्र बैंकमा दिएको निवेदन, नायब प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेको राजीनामालगायत विषयले बैकप्रति आम नागरिकको विश्वास घट्न थालेको छ । र्बैकको सेयर मूल्यमा पनि गिरावट आएको छ । व्यवसाय नभएपछि कम्तीमा ५० शाखा बन्द गर्न राष्ट्र बैंकले एनआईसीलाई भनीसकेको छ । ७ महिने अवधिमा एनआईसीको पहिलो पटक ठूलो मात्रामा निक्षेप घटेको हो ।

३५ करोड ब्याज असुलीमा समस्या

आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार वाणिज्य बैंकहरूले ऋणीबाट १७ अर्बभन्दा बढी ब्याज उठाउन बाँकी छ । बैंकहरूले ऋणीबाट समयमा ब्याज उठाउन नसक्दा नियमनकारी कोष (रेगुलेटरी रिजर्भ)मा जम्मा गर्नुपर्ने रकम बढ्दै गएको छ । चालु आवको दोस्रो त्रैमासमा बैंकहरूले १७ अर्बभन्दा बढी रकम यो कोषमा जम्मा गरेका छन् । अर्थतन्त्रको सुस्तता नसुध्रिँदा बैंकको खराब कर्जामा सुधार नभएको र यस्तो अवस्थामा ऋणीले ब्याज तिर्न पनि नसकेको सरोकारवाला बताउँछन् । आर्थिक सुस्तता लम्बिँदै जाँदा समग्र क्षेत्रमा नकारात्मक असर देखा परेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले हाल प्रयोग गरिरहेको नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) अनुसार नउठेको ब्याजलाई पनि आम्दानी जनाउनुपर्ने हुन्छ । तर, त्यस्तो ब्याजलाई बैंकहरूले नियमनकारी कोषमा जम्मा गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले जारी गरेको लेखा नीति तथा वित्तीय विवरणहरूको ढाँचाले गरेको छ । सोहीअनुसार बैंकहरूले वित्तीय विवरणमा यसलाई देखाउँछन् ।
दोस्रो त्रैमासमा प्रकाशित वित्तीय विवरणअनुसार वाणिज्य बैंकहरूले १७ अर्ब ३७ करोड रुपैयाँ ब्याज उठाउन सकेका छैनन् । गत आवको सोही अवधिमा यस्तो रकम १० अर्ब ४० करोड थियो । गत आवको तुलनामा चालु आवको दोस्रो त्रैमासमा बैंकहरूले उठाउन नसकेको ब्याजको हिस्सा ६६.९८ प्रतिशत छ । आवको दोस्रो त्रैमासमा २० वाणिज्य बैंकको खराब कर्जा ४७ प्रतिशतले बढ्दा नाफा १० प्रतिशतले घटेको छ । यीमध्ये अधिकांश बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ ।

दोस्रो त्रैमाससम्म आधा दर्जन बढी वाणिज्य बैंकले एक अर्बभन्दा बढी ब्याज उठाउन बाँकी रहेको देखिएको छ । एनआईसी एशिया बैंकको ३४ करोड ७४ लाख रुपैयाँ ब्याज असुलीमा समस्या देखिएको छ । ब्याज असुलीको सम्बन्धमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ बैंकको खराब कर्जा सुधार्न नसकिएको अवस्थामा ब्याज असुली गर्नै नसकिने बताउँछन् ।

आरओइ ४९.४३ प्रतिशत तल झर्यो

एनआईसी एशियाको रिटर्न अफ इक्विटी (आरओई) ४९.४३ प्रतिशत तल झरेको छ । सबैभन्दा बढी रिटर्न अफ इक्विटी (आरओई) घट्नेमा यो बैक अग्रस्थानमा छ । चालु आबको पुस मसान्तसम्म बैंकको आरओई १३.१३ प्रतिशत छ, जुन गत आवको सोही अवधिको तुलनामा ४९.४३ प्रतिशत कम हो । सेयरधनीहरूले बैंकमा गरेको कुल लगानीको प्रतिफललाई रिटर्न अन इक्विटी (आरओई) भनिन्छ । यसमा लगानीकर्ताको लगानी र चुक्ता पुँजीसँगै रिजर्भसमेत समावेश गरिएको हुन्छ । बैंक तथा वित्तीय संस्थाको आरओई १५ प्रतिशतभन्दा माथि भएको उत्तम मानिन्छ । पूर्व बैंकर भुवन दाहालका अनुसार १०० रुपैयाँ लगानी गर्दा कम्तिमा १५ रुपैयाँ नाफा नभए लगानी गर्नुको खासै औचित्य हुदैंन् ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक विवरणले रिटर्न अन इक्विटी (आरओई) औषतमा ९.६२ प्रतिशतमा झरेको देखाएको हो । यो गत आवको पुस मसान्तको तुलनामा २१.८६ प्रतिशत कम हो । गत आवको पुसमा बैंकहरूको प्रतिफल १२.३१ प्रतिशत थियो । पुस मसान्तमा औषतभन्दा कम आरओई हुने ११ बैंक छन् । यो अवधिमा १८ बैंकको आरओई घटेको देखिन्छ भने अन्यको आरओई सामान्य बढेको छ । आरओई बढाउने बैंकमा प्राइम र कृषि विकास छन् ।

गत आवको दोस्रो त्रैमासमा ०.७८ प्रतिशतले ऋणात्मक रहेको कृषि विकास बैंकको आरओई चालु आवको सोही अवधिमा ८.०७ प्रतिशत पुगेको छ, जुन गत आवको पुससम्मको तुलनामा वृद्धि हो । यस्तै, प्राइम बैंकको आरओई १२.६९ प्रतिशतबाट बढेर १६.१२ प्रतिशत पुगेको छ । दोस्रो त्रैमासको वित्तीय अवस्थाअनुसार १० प्रतिशतभन्दा बढी आरओई ८ बैंकको छ भने बाँकी १२ बैंकको एकल अंकमा छ । सबैभन्दा बढी आरओई स्टयाण्डर्ड चार्टर्ड बैंकको १९.६१ प्रतिशत छ । यो गत आवको पुस मसान्तको तुलनामा भने ६.८८ प्रतिशत कम हो ।

एभरेष्ट बैंकको १.१७ प्रतिशतले घटेर १४.२४ प्रतिशत छ । नबिल बैंकको आरओई ९.२० प्रतिशत घटेर १२.३३, सानिमाको २०.०२ प्रतिशत घटेर १२.३०, एनएमबिको ३१.०५ प्रतिशतले घटेर १०.३९ प्रतिशत छ । यस्तै, माछापुच्छे«को आरओई १०.०७ प्रतिशत छ । गत आवको सोही अवधिको तुलनामा २९.१८ प्रतिशत कम हो ।

नेपाल एसबिआई बैंकको आरओई ९.६५ प्रतिशत छ, जुन गत आवको सोही अवधिको तुलनामा ३३.४४ प्रतिशत कम हो । सिद्धार्थ बैंकको आरओई १३.१३ प्रतिशतले घटेर ९.२६ प्रतिशत हुँदा हिमालयन बैंकको ३.६५ प्रतिशतले घटेर ८.९७ प्रतिशतमा झरेको छ । यस्तै, राष्ट्रिय वाणिज्य बैंकको आरओई ५४.१५ प्रतिशतले घटेर ७.८८ प्रतिशत पुग्दा सिटिजन्स बैंकको १०.९५ प्रतिशतले घटेर ७.८६ प्रतिशत, ग्लोबल आइएमई बैंकको २९.७९ प्रतिशतले घटेर ७.४७ प्रतिशतमा झरेको छ ।

चालु आवको दोस्रो त्रैमासमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको आरओई १७.०९ प्रतिशतले घटेर ६.४०, लक्ष्मी सनराइज बैंकको ५५.४७ प्रतिशतले घटेर ५.६५, कुमारी बैंकको ३९.९७ प्रतिशतले घटेर ४.९७ प्रतिशत, प्रभु बैंकको ३८.५७ प्रतिशतले घटेर ४.६५ प्रतिशत र नेपाल बैंकको ५३.३८ प्रतिशतले घटेर ३.२४ प्रतिशतमा झरेको छ ।

पछिल्ला वर्षहरूमा बैंकको लगानी प्रतिफल घट्दो क्रममा रहँदा सरोकारवाला चिन्तित छन् । एकातिर बैंकहरूले नाफामात्रै कमाइरहेको आरोप लागिरहँदा अर्कोतर्फ भने लगानीमा प्रतिफल घट्दो रहँदा चिन्ता थपिएको हो । कुनै पनि कम्पनीले एकै क्षेत्रका अन्य कम्पनीको तुलनामा निरन्तर कस्तो प्रदर्शन गरिरहेको छ भनेर जान्नका लागि पनि लगानीमा प्रतिफल बढी चासोको विषय बन्छ । विशेषगरी सेयर लगानीकर्ताले आफ्नो लगानीमा कति प्रतिफल पाउँछु भनेर यसलाई चासो दिइरहेका हुन्छन् ।

कुल सम्पत्तिबाट दायित्व घटाउँदा इक्विटी प्राप्त हुन्छ । यस्तै, खुद नाफालाई कुल इक्विटीले भाग गर्दा आउने भागफललाई लगानीमा प्रतिफल मान्न सकिन्छ । पछिल्ला वर्षहरूमा बैंकको नाफा रकम बढे पनि सेयरधनीको लगानीको तुलनामा घटेको हो । आर्थिक वर्ष २०६९÷७० सम्म बैंकहरूको लगानीमा प्रतिफल दर आकर्षक थियो । समग्र बैंकहरूको औषत प्रतिफल दर २२.५१ थियो । त्यसको ५ वर्षपछि प्रतिफल दर तीव्र घटेको देखिन्छ । पछिल्ला पाँच वर्षमा वाणिज्य बैंकहरूको लगानीमा प्रतिफल दर घट्दो क्रममा रहेको र यसले अझै निरन्तरता पाउँदा चिन्ता थपिएको बैंकरहरू बताउँछन् ।

प्रतिक्रिया