जनज्योती मावि लालबन्दीमा प्रविधि तथा कला प्रदर्शनी, प्रदेश सांसद लुंगेलीद्वारा उद्धाटन

लालबन्दी । सर्लाहीको लालबन्दी ९ बस्तिपुरमा रहेको जनज्योति माध्यमिक विद्यालयद्वारा आयोजित विज्ञान, प्रविधि तथा कला-संस्कृति प्रदर्शनीको उद्धाटन गरिएको छ । शुक्रबार र शनिबार चल्ने प्रदर्शनीको सर्लाही क्षेत्र नं. १, (ख) की प्रदेश सभा सदस्य वेची लुंगेलीले उद्धाटन गरेकी हुन् । सो अवसरमा प्रदेश सभा सदस्य लुंगेली र लालबन्दी नगरपालिकाका प्रमुख (मेयर) वासुदेव अधिकारीले विद्यालय हाता भित्र हालसालै निर्माण गरिएको ल्याबहरुको रिबन काटेर उद्धाटन गरेका थिए ।

‘विद्यार्थीको सीप—विद्यार्थीकै सिर्जना, प्राविधिक र व्यवहारीक ज्ञान जनज्योतिको चाहना’ भन्ने नराका साथ सुरु भएको प्रदर्शनीमा जनज्योति माध्यमिक विद्यालयमा कक्षा १ देखि १२ सम्मका वाली विज्ञान, डिप्लोमा, सिभिल र कम्प्युटर अध्ययन गर्ने विद्याथीहरु सहभागि भएका छन् । विद्यार्थीहरूले समुह बनाएर निर्माण गरेका विज्ञान, प्रविधि तथा कला-संस्कृतिका सामग्रीहरु ९० भन्दाबढी स्टलमा प्रदर्शनीका लागि राखिएको छ ।

लालबन्दी नगरपालिका भित्रका ४८ र जिल्लाका सम्पूर्ण नमुना माध्यमिक विद्यालय र संघसंस्थालाई प्रदर्शनी अवलोकनका लागि निमन्त्रणा गरिएको थियो । प्रदर्शनीको २० हजार बढि विद्यार्थी तथा अन्य आगन्तुकहरुले अवलोकन गर्ने अनुमान गरिएको छ । प्रतियोगितात्मक रुप दिइएको प्रदर्शनीमा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद, प्रमाण पत्र र सिल्ड प्रदान गरिने विद्यालयल प्रशासनले जनाएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा सामुदायिक विद्यालय महासंघका केन्द्रिय उपाध्यक्ष बलराम पोखरेलको अध्यक्षता, प्रदेश सभा सदस्य वेची लुंगेलीको प्रमुख अतिथ्यता तथा लालबन्दी नगर प्रमुख वासुदेव अधिकारी र हरिवनका नगर प्रमुख रमेश कुमार बुढाथोकी (कमल)को विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा विद्यालयलका प्रधानाध्यापक विष्णुबहादुर पोखरेलले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा लालबन्दी नगरपालिकाका बिभिन्न वडाका वडाध्यक्षहरु, राजनीनिक दलका नेता कार्यकर्ता, संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न विद्यालयका शिक्षक, शिक्षिका सञ्चारकर्मी लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमका बक्ताहरुले सामुदायिक विद्यालयमा समेत यस्तो रचनात्मक कार्यक्रम आयोजना भएकोमा खुसि ब्यक्त गरेका थिए ।

प्रतिक्रिया