खुल्ला रुपमा टेण्डर नगरे कार्यालयमा तालाबन्दी गर्ने युवा संघको चेतावनी

रौतहट । नेकपा एमाले निकटका वर्गीय संगठन राष्ट्रिय युवा संघ नेपाल जिल्ला कार्य समिति रौतहटले पूर्वाधार विकास कार्यालय रौतहटले नेता कार्यकर्तामुखीबाट अलग भएर विकास निर्माणको योजना सञ्चालन नगरे कार्यालयमा तालाबन्दी गरेर आन्दोलन गर्ने चेतावनी दिएको छ ।

मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत रहेका भौतिक पूर्वाधार विकास कार्यालयले विकास निर्माणको योजना गोप्य ढंगबाट नेता र नेताको कार्यकर्तामार्फत कार्यान्वयन गर्ने गरेको आरोप राष्ट्रिय युवा संघ रौतहटको रहेको छ ।

युवा संघ रौतहटका संयोजक मुन्ना यादवको नेतृत्वमा गएका युवाहरुको टोलीले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीलाई सामूहिक रुपमा ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा मधेस प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयले दिएको पूर्वाधार विकासको रकम योजनाको खुल्ला रुपमा प्रतिस्पर्धात्मक गर्ने गरी पाँच दिन भित्रमा टेण्डर आव्हान गर्न पूर्वाधार विकास कार्यालयलाई निर्देशन दिनुपर्ने आग्रह गरिएको छ ।

पूर्वाधार विकास कार्यालयको सेटिङमा नेता कार्यकर्तामुखी एक सगोलमा बसेर व्यक्ति विशेषको आधारमा उपभोक्ता समिति गठन गर्ने, गोप्य रुपमा सबैलाइ जानकारी नहुने गरी सूचना निकाल्ने जस्ता कार्य हुने गरेकाले सो कार्यलाई बन्द गरी पारदर्शी ढंगबाट सूचना निकाल्ने गरी कार्य गर्न ज्ञापनपत्रमार्फत सचेत गराइएको संयोजक यादवले बताए ।

युवा संघले दिएको समयमा पूर्वाधार विकास कार्यालयले कार्य नगरे कार्यालयमा तालाबन्दी गरेर चरणबद्ध रुपमा आन्दोलन गर्ने संयोजक यादवले चेतावनी दिएका छन् ।

प्रतिक्रिया