प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । आज बसेको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दलले विभिन्न विषय उठान गर्दै अवरोध गरेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक १५ मिनेटको लागि स्थगित गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल एमालेले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र स्वास्थ्यमन्त्री मोहन बस्नेतको राजीनामा माग गर्दै आएको छ । आजको बैठकको सुरुमै एमाले सांसद योगेश भट्टराईले यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका थिए ।

तर सत्तारुढ नेपाली कांग्रेसका सांसद राजन केसीले बिहीबारको बैठकमा गणपुरक संख्या पुग्छ भनेर प्रतिपक्षी सांसदहरु बैठक छोडेर गएको आरोप लगाएपछि एमाले थप आक्रोसित भएको हो ।

केसीले भनेका थिए, हिजो राजनीतक दलसम्बन्धी विधेयक पेश गर्ने बेलामा प्रतिपक्षको अनौठो नाटक मञ्चन देखियो । ठ्याक्क गणपुरक पुग्छ कि भनेर १०–१५ जना सांसद बाहिर जानुभयो ।’

त्यससँगै संसदमा वादप्रतिवाद सुरु भएको थियो । उनले यति भन्नसाथ एमालेका सांसदहरुले उठेर विरोध गरे भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाका सांसदहरुले पनि साथ दिए ।

प्रतिक्रिया