पहिचान झल्किने मन्दिर निर्माणमा प्रदेश अर्थमन्त्रीको जोड

सिरहा । धार्मिक तथा सामुदायिक पहिचान भल्किने गरी मन्दिर निर्माण गर्न मधेश प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री संजय यादवले जोड दिएका छन् । सिरहाको रामजानकी मन्दिर शिल्यानास कार्यक्रममा उनले त्यस्तो जोड दिएका हुन् ।

मन्दिर तथा धर्मशाला निर्माणका लागि प्रक्रियागत कागजातहरु तयार गराएर ल्याउने अर्थमन्त्री यादवले सिरहा नगरपालिका –का वडाध्यक्ष राकेश यादवलाई आग्रह गरे । मन्दिर, धर्मशाला र कन्या विद्यालयको निर्माण कार्य चरणबद्ध रुपमा गरिने उनले थपे ।

मन्दिर र धर्मशाला निर्माणको लागि बजेटको चिन्ता नगर्न आग्रह गर्दै उनले भने, ‘बजेट व्यवस्थापन भरपुर प्रयास गर्नेछु ।’ समयमा कागजी प्रक्रिया आए आउदो वर्षमै मन्दिर र धर्मशालाको निर्माण कार्य सम्पन्न हुने उनले दाबी गरे ।

मन्दिरको बनौट सुनेर दुरदराजका बासिन्दालाई सिरहा आएर हेरौं–हेरौ लाग्ने गरी डिजाइन पेश गर्न उनले वडाध्यक्षसँग आग्रह गरे । सिरहाको पहिचान दिन एउटा फरक भुमिका निर्वाह हुने गरी मन्दिर निर्माणमा लाग्न उनले अनुरोध गरे ।

‘ऐतिहासिक दृष्टिले हेर्ने हो भने कैयौं वर्ष पुरानो मधेश, सल्हेश र मिथिलाको इतिहास छ । यहाँको धार्मिक धरोहरहरुको गाथा र कथाको अलगै इतिहास छ,’ अर्थमन्त्री यादवले भने, ‘पौरानिक धरोहरलाई कामय राख्न र नयाँ काम गर्नका लागि प्रदेश सरकार बनेको छ ।’

पछिल्लो केही वर्षयता गलत तत्वले एकअर्काबीच लडाउने र निहित स्वार्थ पुरा गर्ने प्रयास गरिहेकोले त्यस्ता कुराहरुबाट सचेत रहन उनले सबैसँग आग्रह गरे । सबै धर्म, समुदाय र व्यक्तिलाई आ–आफ्ना रितिरिवाज अनुसार बाच्न पाउने अधिकार रहेकोले त्यसै बमोजिम चल्न दिनुपर्ने उनले बताए ।
कुनै पनि धर्म र समुदायलाई लडाउन केही अतिवादी शक्ति क्रियाशिल भएकोले त्यस्ता शक्तिबाट सचेत रहन उनले सबैसँग आग्रह गरे । आफ्ना बुद्धिलाई सदुपयोग गरेर लगत र सही छुट्याउन उनले थपे । सामाजिक सद्भाव नै समाज तथा व्यक्तिको विकासका अवसर दिने भएकोले त्यसतिर सचेत भएर अघि बढ्न उनले आग्रह गरे ।

जनसंख्या र मानव विकासको सूचांक अनुसार बजेट उपलब्ध नगराएर संघीय सरकारले मधेश प्रदेशसँग बिभेद गरेको उनले टिप्पणी गरे । ७६ प्रतिशत बजेट राखेका संघीय सरकारले गर्न नसकेका काम मधेश प्रदेश सरकारले गर्दै आएको उनले प्रष्ट पारे ।

निर्माणाधिन कमला पुलको सुस्त गतिको काम, रामजानकी मन्दिरको निर्माण र सिरहाको महावीर चौकमा रहेको कन्या विद्यालयको निर्माण तथा अन्य कार्यबारे सिरहा नगरपालिका –२ का वडाध्यक्ष राकेश यादवले अर्थमन्त्री यादवलाई ध्यानाकर्षण गराए ।

वडाको चौतर्फी विकासका लागि विभिन्न खाले योजना बनाएर त्यसको प्रभावकारी कार्यान्वनमा लाग्ने उनले दाबी गर्दै भने, ‘मन्दिर र धर्मशाला निर्माणमा मधेश प्रदेश सरकारको भरपर्दो सहयोगको विश्वास छ ।’
मठियानी मन्दिरका महन्थ जगरनाथ दासको अध्यक्षतामा भएको शिल्यानाश कार्यक्रममा रामजानकी मन्दिरका महन्थ हित्तराम दास, अर्थमंत्रीका स्वकीय सचिव संजीवकुमार यादव लगायत नागरिक समाजका अगुवा तथा अन्य व्यक्तिहरुले मन्दिरको निर्माण र महत्वबारे विचार व्यक्त गरे ।

मन्दिर निर्माणका लागि २० लाख र धर्मशालाका लागि २५ लाख प्रदेश सरकारले तत्कालका लागि उपलब्ध गराएको छ । आउने दिनमा निर्माण कार्यको आवश्यकता अनुसार बजेट उपलब्ध गराउने अर्थमन्त्री यादवले प्रतिबद्धता जनाए ।

प्रतिक्रिया