बारा । जीतपुरसिमरा उपमहानगरपालिका– ३ बजनीमा हुन लागेको जीतपुरसिमरा महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बारा आउने भएका छन् । पहिलो जीतपुरसिमरा एक्स्पो र जीतपुरसिमरा महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड फागुन १८ गते बारा आउने भएका हुन् ।
‘कृषि पर्यटन, खेल उद्योग र व्यापार जीतपुरसिमरा बारा–मधेस समृद्धिको आधार’ भन्ने नारासहित फागुन १८ देखि २९ गतेसम्म महोत्सव चल्नेछ । महोत्सवमा कृषि र स्थानीय उत्पादनलाई सहुलियतमा स्टल उपलब्ध गराइने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार महोत्सवमा २०० स्टल रहनेछ भने महोत्सवमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवको मुख्य उद्देश्य स्थानीय उत्पादन कृषि तथा ग्रामीण प्रविधिको प्रयोग गर्ने, उत्पादित वस्तुको बजार प्रवर्द्धन एकै थलोबाट यसको गुणस्तरको पहिचान गराउँदै उपभोक्तासम्म पुर्याउने रहेको छ । महोत्सवमा सबै जातजाति भाषा संस्कृति झल्किने नृत्य गायन कार्यक्रमहरु समावेश गरिएको छ ।
जीतपुरसिमरा नगर उद्योग विणिज्य संघले आयोजना गर्न लागेको जीतपुरसिमरा महोत्सवमा जीतपुरसिमरा उपमहानगरपालिकाले समेत सहयोग रहेको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले बताए । महोत्सवमा प्रत्येक दिन राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुति समेत रहने बताइएको छ ।
प्रतिक्रिया