बारा । वीरगञ्जमा केहीदिन यता दुई फरक धर्मका समुदायबीच तनाव बढ्दै गएपछि बुधबार बाराको जीतपुरमा ‘सद्भाव र्याली’ निकालिएको छ । रौतहटको ईशनाथ नगरपालिकामा गत बिहीबार सरस्वतीको मूर्ति सेलाउने क्रममा दुई समुदायबीच भएको भिडन्तको घटनालाई लिएर वीरगञ्जमा पनि तीन दिनदेखि तनाव भइरहेको छ । उक्त घटनाको विरोधमा सोमबार हिन्दूवादीहरूले वीरगञ्ज बजार बन्द गराउनुका साथै प्रदर्शन गरेका थिए ।
यसैलाई मध्यनजर गरी बाराको जीतपुरमा ‘सद्भाव र्याली’ निकालिएको हो । प्राप्तिको लागि प्रेरणा समूह नेपाल र ब्रह्मकुमारी राजयोग उपसेवा केन्द्र जीतपुरको अगुवाइमा ‘सद्भाव र्याली’ निकालिएको हो । वडा कार्यालयबाट सुरू भएको ‘सद्भाव र्याली’ बकुलिया सडक, केराढोका हुँदै नगर परिक्रमा गरेको थियो । ‘सद्भाव र्याली’ मा मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी, जीतपुरसिमरा उपमहानगरपालिका–७ का वडाध्यक्ष सुनिलकुमार गुप्ता शिक्षक विद्यार्थीहरू, नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।
‘सद्भाव र्याली’ मा सहभागीले ‘धार्मिक सद्भाव कायम गरौँ’ सामुदायिक सदभाव कायम राखौँ, हिन्दू–मुस्लिम भाइभाइ’ भन्दै नारा लगाएका थिए । जीतपुरमा कुनै अप्रिय घटना नहोस् भनेर सद्भाव र्याली निकालिएको प्राप्तिका लागि प्रेरणा समूह नेपालका अध्यक्ष अनिलकुमार साहले बताए । धर्मकै नाममा विभेद गरेर समाजमा कलह र हिंसा पैदा गर्न खोज्नेहरूदेखि जीतपुरवासी सचेत छन् भन्ने सन्देश प्रवाह गर्नका लागि सद्भाव र्याली निकालिएको अध्यक्ष साहले बताए । उनले भने, ‘हामी जीतपुरवासी सचेत छौँ र हामी एकआपसमा मिलेर बसेका छौँ भन्ने सन्देश हामीले यस र्यालीबाट दिन खोजेका हौँ ।’
आपसी भाइचारा बिथोल्ने गरी बढ्दै गएका गतिविधिप्रति र्यालीमा सहभागी हिन्दू र मुस्लिम धर्मका अगुवाहरूले चिन्ता व्यक्त गरे । समुदायलाई उक्साहटमा ल्याएर सद्भाव बिगार्ने र शान्ति प्रक्रियामा खलल गर्नेहरूलाई कानुनको दायराभित्र ल्याई कारबाही गर्न र्यालीमा सहभागी भएकाले माग गरेका थिए । त्यस्तै जिल्लाको सदरमुकाममा पनि सद्भाव र्याली निकालिएको छ । जिल्लाको राजनीतिक दल र जिल्लाका प्रमुखहरूको उपस्थितिमा कलैयामा सद्भाव र्याली निकालिएको हो ।
बारा
प्रतिक्रिया