सर्लाही । सर्लाही जिल्लाको रामनगर गाउँपालिकामा नमूना युवा संसद अभ्यास सम्बन्धी ४ दिवसीय प्रशिक्षण कार्यक्रम सुरु भएको छ । रामनगर गाउँपालिकाको अध्यक्ष राजाबाबु यादवले उद्घाटन गरे सँगै रामनगर गाउँपालिकाको सभाहलमा नमूना युवा संसद अभ्यास सम्बन्धी ४ दिवसीय प्रशिक्षण कार्यक्रम सुरु भएको हाे ।
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको समन्वयमा शिक्षा युवा तथा खेलकुद शाखा रामनगरको आयोजनामा नमूना युवा संसद अभ्यास सम्बन्धी ४ दिवसीय प्रशिक्षण कार्यक्रम सुरु भएको शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख फेफु राय यादवले जानकारी दिए । उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष यादवले कार्यक्रमले युवाहरुलाई सामाजिक राजनीतिक र आर्थिक रुपले थप उर्जाशील र गतिशील बन्न प्रेरित गर्ने बताए ।
‘नमूना युवा संसद कार्यक्रम अभ्यास कार्यक्रम यस वर्षदेखि गाउँपालिकामा सुरु गरिएको छ’ उनले भने, ‘यो कार्यक्रमबाट मुलुक सञ्चालन सम्बन्धी जानकारी हुन्छ, चार दिनमा त्यो अभ्यास गरिन्छ ।’ देश विकास र समृद्धिमा युवा मेरुदण्ड भएको उल्लेख गर्दै गाउँपालिका अध्यक्ष यादवले सबै क्षेत्रमा सहकार्य र समन्वय आवश्यक हुने बताए ।
उनले भने, ‘युवाको सहकार्य विना कुनै किसिमका काम सम्भव हुँदैन, त्यस प्रकारको युवाको नेतृत्व क्षमता विकास गरी जानु पर्ने आवश्यकता छ ।’ गाउँपालिका अध्यक्ष यादवले नयाँ संचरना अनुसार मुलुकलाई समृद्ध बनाउन उत्पादन र श्रम सम्बन्धलाई एक ठाउँमा लिएर पूँजी र प्रविधि परिचालन गर्नु पर्ने आवश्यकता औंल्याए । उदघाटन कार्यक्रममा वडा न.-१ का वडा अध्यक्ष ब्रहम देव चौधरी, वडा २ का वडाध्यक्ष सदानन्द यादव, वडा ३ का वडाध्यक्ष अजय यादव, वडा ४ का वडाध्यक्ष बिरेन्द्र ठाकुर , वडा ५ का वडाध्यक्ष श्रीनन्दन प्र. यादव लगायतको सहभागिता रहेको थियो ।
बारा
प्रतिक्रिया