बालअधिकार प्रवर्द्धनका लागि बालमैत्री अभियान आवश्यक : प्रमुख साह

सप्तरी । बोदे बर्साईन नगरपालिकाका कार्यवाहक नगरप्रमुख रेणुकुमारी साहले बालअधिकार प्रवर्द्धनका लागि बालमैत्री अभियान आवश्यक भएकाे बताएकी छन् । बालमैत्री स्थानीय शासन प्रबर्द्धन कार्यक्रमको सन्दर्भमा बालमैत्री स्थानीय शासनको अवधारणालाई प्रभावकारी प्रवर्द्धन तथा स्थापना गर्नका लागि नगरपालिकाले आयोजना गरेको सचेतना कार्यक्रममा बाेल्दै साहले यस्ताे बताएकी हुन् ।

विद्यार्थी, विकासमा साझेदार, समाजिक संघसंस्था, अभियन्तालगायत बोदे बर्साईन नगरभरीका ३० जनाभन्दा बढि व्यक्तिहरूको उपस्थितिमा आयोजना गरिएको थियाे । बालबालिकाको लागि सवल वातावरण सबै उमेर समूहको लागि सहज हुने तर अरु उमेर समूह केन्द्रित वातावरण, सबैको लागि सवल नहुनेमा प्रमुख साहले जाेड दिइन् । त्यसको लागि बालबालिकामा लगानी बढाउन जरुरी रहेको उनले बताइन् ।

प्रमुख साहले बालमैत्री स्थानीय शासनको अवधारणा र बालमैत्री स्थानीय शासन कार्यन्वयन निर्देशिका तथा घोषणा कार्यविधिको कार्यान्वयनकाे अवस्थाका सन्दर्भमा प्रस्तुतीकरणका साथै बालमैत्री अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन नगरपालिकाको तर्फबाट प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा सहभागी बोदे बर्साईन नगरपालिकाका इन्जिनियर दिनेश ठाकुर, सूचना अधिकारी मोहम्मद इमामुल हकलगायत वडा ३ र ४ का वडाध्यक्ष शिवनारायण यादव र किरण साहले बालमैत्री अभियानलाई उत्तरदायी जवाफदेही र लगानी मैत्री बनाउन जोड दिए । श्री जानकी महिला कृषि तथा पशुपन्छी सहकारी संस्थाका प्रतिनिधि सीता साहको आयोजना तथा सोनि साह , आशा साहको सहयोगमा भएको कार्यक्रममा कार्यक्रमका सहजीकरण प्रशिक्षक शिव नाथ गामीले गरेका थिए ।

प्रतिक्रिया