संकटमा नेपाली मिडिया

यही अवस्था रहिरहने हो भने, राज्यको प्रत्यक्ष लगानीमा सञ्चालित र नियन्त्रित मिडियाबाहेक निजी क्षेत्रको लगानीमा स्थापित पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन मिडिया सञ्चालन गर्न कठिन हुने देखिन्छ । यति मात्रै होइन, मिडियामा आएको यो संकटले नेपालमा २०४६ पछि विस्तार भएको जनस्तरको सूचनाको पहुँचलाई संकुचन मात्र गर्दैन कि यसले अन्ततः लोकतन्त्रलाई नै धरापमा पार्छ । आमसञ्चार कुनै पनि मुलुकका लागि लोकतन्त्रको बलियो आधार हो

चमिना भट्टराई

पछिल्लो समय नेपाली मिडियामा संकट देखिएको छ । कतिपय मिडिया धमाधम बन्द हुन थालेका छन् । रेडियो टिभीदेखि ब्रोडसिट दैनिक पत्रिकासमेत बन्द भइरहेका छन् । मिडिया बन्द हुँदै जाँदा त्यसको प्रत्यक्ष मारमा पत्रकार तथा त्यसमा आश्रित कर्मचारी परेका छन् । लेखेर वा सञ्चार माध्यममा काम गरेर नै जीविका गर्छु भन्नेहरू दिनदिनै असुरक्षित बन्दैछन् ।

यति बेला गरी खाने मात्रै होइन, मिडियामा लगानी गरेर बाँच्न चाहनेको पनि आर्थिक जीवन सुरक्षित छैन । निकै तामझामले खुलेका मिडिया हाउसले वार्षिकोत्सव मनाउन नपाएर पनि बन्द भएका छन् । एउटा मिडिया हाउस बन्द हुँदा त्यसको असर हजारौँ जनामा पर्छ । लेख्ने, बोल्ने, समाचार पढ्ने, दृश्य कैद गर्नेदेखि बजार र प्रशासनमा काम गर्ने सबै बेरोजगार हुन्छन् । अनि ठूलो उत्साहले लगानी गर्ने लगानी कर्ताको बिल्लीबाठ हुन्छ ।

नेपालमा कोरोनाले शिथिल बन्दै आएका मिडिया अहिले हल न चलको अवस्थामा पुग्न लागेका छन् । साप्ताहिक पत्रिका, अनलाइनजस्ता साना मिडिया मात्रै होइन, लामो समय चलेका र बजारमा स्थापित भएका पुरानो पत्रिकासमेत धमाधम बन्द हुँदैछन् । यो लाइनमा कुनै बेला निकै नाम कमाएका मासिक म्यागेजिनसमेत परेका छन् । पाठकले खोजी खोजी पढ्ने ती म्यागेजिनले पनि हात धोएर बसेको अवस्था छ ।
‘केही समयमै अरू केही ठूला टेलिभिजनसहितका मिडिया बन्द हुने तयारीमा छन्’ भन्ने खबरले बजार तातेको छ । चरम आर्थिक संकटमा रहेका केही मिडिया पत्रकार कर्मचारीलाई तलब नदिई चलिरहे पनि अब भने आन्दोलन सुरु हुन थालेको छ । पत्रकार र पत्रकारका संगठनले मिडिया हाउसमा ब्यानर बोकेर धर्ना दिनु सामान्य जस्तै बनेको छ । यो न लगानीकर्ताको रहर हो न गरी खाने श्रमजीवीको । श्रम गरेको पारिश्रमिक नपाउँदाको पीडा श्रमिकलाई जति हुन्छ ‘काम गरेको दाम किन दिएनौँ’ भनेर सोधिएको प्रश्नको जवाफ दिन पनि त्यतिकै कठिन छ ।

अहिले चलिरहेकामध्ये धेरैजसो मिडियामा जागिर गुमाएका, नियमित तलब नपाएका, तोकिएकोभन्दा कम तलब पाएका र ‘फोर्स लिभ’मा बस्न बाध्य पारिएका घटना धेरै रहेको नेपाल पत्रकार महासंघको अध्ययनले देखाएकोे छ । नेपालको मिडिया संकटमा पर्नुमा अर्थिक पाटो प्रमुख हो । विज्ञापनको भरमा मिडिया चल्नुपर्ने अवस्था छ । नेपाली विज्ञापन बजार वार्षिक कुल १४ अर्ब हाराहारी थियो पछिल्लो समय यो आधा घटेको छ । छापामा ६५, रेडियोमा ५०, टेलिभिजनमा ५० र अनलाइनमा ४० प्रतिशतले विज्ञापन घटेको छ ।

२०७२ सालमा भूकम्पका कारण खस्किएको विज्ञापन बजार कोरोना कालमा निकै तल झरेको थियो । जसको ठूलो मार अरूलाइभन्दा पनि मिडियालाई परेको नेपाल विज्ञापन संघको ठहर छ । वर्तमान विज्ञापन बजारले चल्तीका मिडिया धान्न सक्ने अवस्था छैन । अर्थतन्त्रमा आएको समस्याले विज्ञापन बजार प्रभावित भएको र यसैको असर मिडियामा परेको जानकारहरूको बुझाइ छ । यस्तै केही मिडिया भने आन्तरिक व्यवस्थापनको समस्याका कारण पनि बन्द भएका छन् । जे जसरी भए पनि नेपाली मिडियाले यति बेला संकटको सामना गरिरहेको छ ।

मिडियाका विभिन्न पक्षबारे अनुगमन गर्ने संस्था ‘फ्रिडम फोरम’को एक अध्ययनअनुसार कोरोना भाइरसको सम्भावित जोखिम र बन्दाबन्दी (कोरोना महामारी)ले देशैभर सयौँ सञ्चारमाध्यम बन्द भएका र अरू सयौँ सञ्चारमाध्यम बन्द हुने क्रममा छन् । त्यसैगरी, कोरोना महामारीका कारण मिडिया क्षेत्रमा कार्यरत हजारौँ पत्रकार र कर्मचारीले रोजगारीसमेत गुमाए । काठमाडौंमा रहेका ठूला भनिएका सञ्चारगृहसमेत कोरोना महामारीको चपेटामा परे । उदाहरणका लागि कान्तिपुर मिडिया गु्रपले २०७७ असार दोस्रो हप्ताबाट ‘साप्ताहिक’, ‘नेपाल म्यागेजिन’ र ‘नारी’को प्रकाशन स्थगित ग¥यो । दुई दशकसम्म निरन्तर प्रकाशित भइरहेका यी प्रकाशन कोरोनासिर्जित संकटका कारण बन्द गर्नुपरेको जनाइएको छ । हिमाल म्यागेजिन पनि यही अवधिमा अस्तायो । यी त उदाहरण मात्रै हुन् । प्रकाशन बन्द भएसँगै यी प्रकाशनमा काम गर्ने अधिकांश पत्रकारको रोजगारीसमेत गुमेको छ । यी सबैको पछाडि आर्थिक संकट नै हो ।

यही अवस्था रहिरहने हो भने, राज्यको प्रत्यक्ष लगानीमा सञ्चालित र नियन्त्रित मिडियाबाहेक निजी क्षेत्रको लगानीमा स्थापित पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन मिडिया सञ्चालन गर्न कठिन हुने देखिन्छ । यति मात्रै होइन, मिडियामा आएको यो संकटले नेपालमा २०४६ सालपछि विस्तार भएको जनस्तरको सूचनाको पहुँचलाई संकुचन मात्र गर्दैन कि यसले अन्ततः लोकतन्त्रलाई नै धरापमा पार्छ । आमसञ्चार कुनै पनि मुलुकका लागि लोकतन्त्रको बलियो आधार हो ।

मिडियामा देखिएको संकटको पहिलो मारमा पत्रकार, यी संस्थामा कार्यरत कर्मचारी र स्वयं सञ्चारगृह परेका छन् । अहिलेको अवस्थामा सुधार नआउने हो भने निकट भविष्यमा अहिले ‘अब्बल मानिएका’ धेरै सञ्चारकर्मी पत्रकारिता पेसाबाटै पलायन हुने सम्भावना देखिँदै छ । यसको साथै यस संकटले जीवन निर्वाहका लागि मिडिया र पत्रकारिता उपयुक्त क्षेत्र होइन रहेछ भन्ने मानसिकताको विकास पनि हुने र भविष्यमा पत्रकारितालाई पेसा बनाउन चाहने जोकोहीलाई निरुत्साहित पार्छ । पत्रकारिता क्षेत्रका लागि यस्तो अवस्था देखिनु आफँैमा दुर्भाग्य हो ।
समुन्नत लोकतन्त्रका लागि, पहिलो, बहुल विचार आदान–प्रदान हुन सक्ने फराकिलो ‘स्पेस’ चाहिन्छ । दोस्रो, सार्वजनिक सरोकारका मुद्दामा नागरिक सुसूचित हुन सक्ने माध्यम आवश्यक पर्छ र तेस्रो, राज्यका हरेक गतिविधि र निर्णय प्रक्रियामा स्वतन्त्र निगरानीको जरुरत पर्छ । स्वतन्त्र पत्रकारिता सुदृढ हुन सके मात्र यी सब कुरा सम्भव हुन्छ । अर्थात् मिडिया क्षेत्र धरमर हुँदा यसको सिधा असर लोकतन्त्रमा पर्छ र अहिले यही भइरहेको छ ।
२०४६ सालअघि राज्यको नियन्त्रण र निगरानीमा मिडिया थियो । राज्यद्वारा सञ्चालित र नियन्त्रित गोरखापत्र, रेडियो नेपाल, राष्ट्रिय समाचार समिति र नेपाल टेलिभिजनले सत्ताको विचारलाई प्रवद्र्धन गर्थे । पञ्चायतकालमा सत्ताको सामान्य आलोचना गर्ने पत्रपत्रिकासमेत राज्यको कारबाहीमा पर्थे र सरकारको आलोचना गरेको आरोपमा पत्रपत्रिका बन्द हुने र सम्पादक, सञ्चालक जेलनेल पर्नु सामान्यजस्तै थियो । पत्रकार भएवापत र समाचार प्रकाशन गरेका कारण धेरै अग्रजहरूले पञ्चायतको जेल जीवन भोगे ।

कुनै पनि कारणले अहिले सरकार नियन्त्रित सञ्चार माध्यमभन्दा बाहेकका मिडिया कमजोर बन्ने या बन्द हुने अवस्था आए के होला ? कल्पना गरौँ ! त्यति बेलाको मिडिया उही पञ्चायती व्यवस्थामा सत्ताको भजन गाउने मात्रै बाँकी रहनेछन् । दुनियाँमा मिडियालाई राज्यको बलियो प्रतिपक्ष मानिन्छ । यदि माथि भनिएजस्तै भएमा सार्वजनिक सरोकारका विषयमा प्रश्न गर्ने र विमर्श गर्ने ‘स्पेस’ साँघुरिनेछ । राज्य सञ्चालन गर्नेहरूले गरेका अनिमितता, भ्रष्टाचार र ब्रह्मलुटबारे पत्रपत्रिकामा अहिले दिनहुँजसो प्रकाशित हुने लामा–लामा समाचार कमै हेर्न, पढ्न र सुन्न पाइनेछ । यसले जनतालाई सुसुचित बनाउन काममा बिर्को लगाउनेछ ।
संकटमा परेको नेपाली मिडिया उद्योगलाई उत्प्रेरित गर्न र त्यहाँ आश्रित पत्रकारको सीप र क्षमता बढाउन सरकारले आर्थिक तथा अन्य योजना ल्याउनु राज्यको दायित्व हो । वर्तमान व्यवस्थाको संरक्षण र प्रप्तिमा नेपाली मिडियाको भूमिका अतुल्य छ, यसलाई कसैले पनि नजरअन्दाज गर्न सक्दैन । मिडियाको वर्तमान अवस्थालाई गम्भीर रूपमा लिएर यसको जगेर्नाका लागि सहजीकरण र पहल गर्नु लोकतान्त्रिक राज्यको जिम्मेवारी र दायित्व हो ।

कोरोना संक्रमणको मारमा अन्य उद्योगजस्तै मिडिया क्षेत्र पनि धराशायी बन्न पुगेको छ । पहिले पनि सीमित विज्ञापन बजारका कारण नेपाली मिडिया बलियो जगमा उभिन सकेका थिएनन् । कोरोना संक्रमणपछि सरकारद्वारा घोषित बन्दाबन्दीले झनै मिडिया उद्योग नराम्ररी प्रताडित बन्न पुग्यो । कोरोनाले समस्यामा परेका मिडियालाई सबल बनाउन सरकारले विशेष भूमिका निर्वाह गर्नुपथ्र्यो । तर, सरकारले यसबारे अहिलेसम्म केही गरेको पाइँदैन ।

विज्ञापन बजारको अभाव, जनशक्तिको समस्या र राज्यका नीतिका कारण मिडिया उद्योग समस्यामा पर्दै गएका छन् । अन्य निजी उद्योगले जति पनि सहुलियत र सुविधा मिडिया उद्योगले पाउन सकेका छैनन् । लोककल्याणकारी विज्ञापन प्रकाशित गरेबापतको भुक्तानी नियमित छैन । यसमा अझै अंकुश लगाउने प्रयास हुँदै छ । यो व्यवस्था ल्याउन भूमिका खेल्ने र राज्यलाई गलत काममा सचेत गराउनु प्रतिक्षको भूमिका खेल्ने मिडिया संकटमा परेर हलचल हुन नसक्नु भनेको दुःखद् पक्ष हुनेछ ।

लोकतन्त्र र नागरिक अधिकार बलियो हुन मिडिया बलियो हुुनुपर्छ भनिन्छ । मिडिया कमजोर र स्वतन्त्र हुन सकेन भने त्यसले त्यो देशलाई ठूलो क्षति पुग्छ । जनतालाई सूचित गराउने अभिभारा बोकेको नेपाली मिडियालाई उत्प्रेरित गर्न र पत्रकारको उचित मूल्यांकन गरी उनीहरूको सीप र क्षमता बढाउन सरकारले आर्थिक तथा अन्य योजना ल्याउनुपर्छ । केन्द्रीय स्तरबाट सञ्चालनमा रहेका केही अपवादका मिडियाबाहेक अन्य मिडिया चल्नै नसक्ने अवस्थामा पुगिसकेका छन् ।

नेपाली मिडियालाई सक्षम र सबल बनाउन सरकारी स्तरबाट आवश्यक भूमिका निर्वाह गरिनुपर्छ । मिडियालाई बैरीका रूपमा नभई नागरिक अधिकार र लोकतन्त्रको पहरेदारका रूपमा सरकारले बुझ्नुपर्छ । कतिपय सन्दर्भमा सरकारका गलत क्रियाकलापलाई उजागर गरेकै आधारमा मिडियामाथि अंकुश लगाउने प्रयास पनि हुने गरेको छ । यसले सरकारलाई नै कमजोर बनाउँछ र अन्ततः लोकतन्त्रलाई बदनाम गराउँछ । अन्य क्षेत्र जस्तै हाम्रो मिडिया क्षेत्र पनि विकृतिरहित छैन तर यस क्षेत्रमा भएका गलत क्रियाकलापलाई उदाहरणका रूपमा बारम्बार प्रस्तुत गरिरहनुभन्दा मिडियाले गरेका सबल कार्यलाई उदाहरणका रूपमा लिएर यस क्षेत्रमा भएका विकृति हटाउँदै लैजानुपर्छ ।

मिडिया गरी खाने क्षेत्र पनि हो । यसले समाज र राज्यका सबै अंगलाई खबरदारी गर्दै समुन्नत समाज निर्माणमा हिजो खेलेको भूमिका र आउने दिनमा खेल्न सक्ने भूमिकाको उच्च सम्मान गर्दे यसको संरक्षण गरिनुपर्छ । राज्यले अलिकति ध्यान दिने हो भने यसको जस लोकतन्त्र र लोकतान्त्रिक व्यवस्थामा राज्य सञ्चालन गर्नेहरूलाई जाने छ । लोकतन्त्र बलियो बनाउन पनि मिडिया बलियो बन्नुपर्छ भन्ने मान्यताको विकास जरुरी छ ।

प्रतिक्रिया