छापा पत्रकारिताले भोग्नुपरेको समस्या

गोविन्द पोखरेल

समयले हरेक क्षेत्रमा परिवर्तन ल्याउँछ । प्रकृतिदेखि सामाजिक क्षेत्रमा पनि परिवर्तनले आफ्नो प्रभाव छाडेर गएको हामी देख्न सक्छौँ । मानव जीवनमा पनि शारीरिक विकाससँगै सीप, सोच, बौद्धिकता र व्यवहारमा परिवर्तन आउँछ । अहिलेको समयले मानव समुदायलाई प्रविधिमय बनाउँदै लगेको छ । सबै विषयमा प्रविधिको बोलवाला बढी रहेको अवस्थामा कतिपय नयाँ कार्यक्षेत्र फैलँदै गएका छन् भने कतिपय पुराना प्रविधिमा आधारित कार्यहरू ओझेल पर्दै गएका छन् । अहिलेको युगमा सबैले प्रविधिमैत्री बन्दै तदनुरूप चल्नु नै फाइदाजनक हुन्छ । नत्र समयले मानिसलाई पछि पार्दै लान्छ ।

२०४६ सालको जनआन्दोलनले नेपालमा प्रजातन्त्र ल्यायो । यो प्रजातन्त्रसँगै थुप्रै क्षेत्रमा परिवर्तनहरू आए । शिक्षा, स्वास्थ्य र यातायातका क्षेत्रमा जस्तै सञ्चार क्षेत्रमा पनि लगानीका ढोकाहरू खुले । पञ्चायत कालमा मुर्झाएर रहेका छापा पत्रकारिताले पनि बौरिने मौका पाए । राणा शासनकालमा विदेशी भूमिबाट सञ्चार हुने समाचारका साधन नेपालबाट पनि केही हदसम्म प्रकाशित हुन थालेका थिए । छापा पत्रकारिताले पञ्चायत व्यवस्था फालेर प्रजातान्त्रिक व्यवस्था स्थापना गर्न थोरबहुत मद्दत गरेका थिए । सरकारी सञ्चार माध्यम एकप्रकारले अहिलेजस्तै सरकारकै गुणगानमा व्यस्त र मस्त रहने भएकाले विश्वासयोग्य थिएनन् । त्यसबखत तिनै साप्ताहिक, पाक्षिक र मासिक लगायतका छापा पत्रपत्रिका समाचारका विश्वासिला माध्यम बन्न पुगेका थिए । सायद सञ्चारका अन्य माध्यम नभएर पनि होला उपलब्ध छापा पत्रपत्रिकालाई नै विश्वास गर्नुपर्ने वाध्यता भएको ।

त्यसताका पत्रपत्रिकाहरूको मिसन थियोे । सरकारी सञ्चार माध्यमबाहेक अन्य साप्ताहिकलगायत सबै छापा सञ्चार माध्यमले ‘प्रजातन्त्र’ प्राप्तिलाई नै आफ्नो लक्ष्य बनाएका थिए । नभन्दै २०४६ सालपछि जनआन्दोलनबाट नेपालमा प्रजातान्त्रिक व्यवस्था स्थापना भयो । जनतामा एकखालको उत्साह र उमंगको सञ्चार भयो । पञ्चायती व्यवस्था समाप्त भएर बहुदलीय व्यवस्था स्थापना भएको सुखद् कारणले नै होला तीन–चार वर्षसम्म छापा पत्रकारिता सप्रिएर फस्टाएको अवस्थामा थियो । यसपछि भने नेपालको भूमिमा ब्रोडसिट पत्रिकाले बजार पाउने र उद्योग धन्दा फस्टाउने ठानेर होला केही व्यक्ति छापा पत्रिकामा लगानी गर्न अगाडि बढे । यो अवस्थासम्म पनि छापा पत्रिकामाथि पाठक वर्गको अटुट विश्वास र माया थियो । स्थिर सरकार र परिपक्व नेतृत्व प्रजातन्त्रले दिन्छ भन्ने विश्वास जनतामा थियोे । तर, प्रजातन्त्रपछि निर्वाचित नेपाली कांग्रेसको एकमना सरकार आन्तरिक किचलोका कारण कुबेलामा ढल्यो, जसले गर्दा राजनीति, सञ्चार क्षेत्रलगायत सबैतिर निराशा छायो ।

यसै बेलादेखि राजनीतिमा खिचातानी सुरु भयो भने पत्रकार र छापा पत्रिकाहरू पनि विभाजित हुन पुगे । प्रजातन्त्र स्थापनार्थ गरिएको परिश्रम बिर्सिएर पत्रकार र पत्रिकाले पार्टी पत्रकारिता गर्न थाले । २०५१ सालको चुनाव पछिदेखि छापा पत्रकारिता क्रमशः पार्टी पत्रकारिता, गुट पत्रकारिता र नेता पत्रकारितातर्फ विभक्त हुँदै गयो । पाठकहरू अन्योलमा पर्दै गए । पत्रकार र पत्रिकामा उदाएको पक्षधरताले गर्दा एउटै समाचार पनि पत्रिकैपिच्छे फरक रूपमा आउन थाले । जसले गर्दा छापा पत्रिकाले आर्जन गरेको विश्वसनीयता गुम्दै गयो । सत्ता सुखभोग हो र हामीले पहिला गरेको दुःखअनुरूप अब सुखभोग गर्न पाउनुपर्छ भन्ने मान्यता नेताहरूको सोचमा देखा पर्न थाल्यो । यसले सबै पार्टीभित्र गुट, उपगुट र नजानिँदो गरी समानान्तर समिति जन्मन थाले ।

यिनै गुट, उपगुट र समानान्तर समिति सञ्चालन गर्ने नेताहरूसँगै पत्रकारहरू पनि तदनुरूप विभाजित देखिए । प्रजातन्त्र प्राप्तिपछि पार्टी पत्रकारिता गरिरहेका पत्रकारहरू क्रमशः पार्टीभित्रको गुट पत्रकारिता र नेता (व्यक्ति) पत्रकारितातर्फ लहसिँदै गए । कतिपय छापा पत्रिकाहरू पार्टीका गुट र उपगुट हुँदै व्यक्तिका बन्न पुगे । हुँदाहँुदै ठूला विज्ञापन दाताहरूसमेत गुट र नेता व्यक्ति हेरेर विज्ञापन उपलब्ध गराउने अवस्थामा पुगे । यस अवस्थाले गर्दा कतिपय पत्रिकाको आर्थिक (अर्थ प्राण) अवस्था सुक्न पुग्यो । सञ्चार माध्यम बाँच्ने भनेको विज्ञापनले नै हो । विज्ञापनमा मन्दी आएपछि छापा पत्रिकाले आफ्नो पत्रिकामा काम गर्ने पत्रकार र कर्मचारीलाई समयमै तलब भत्ता उपलब्ध गराउन नसक्नु स्वभाविकै हुन पुग्यो ।


जब पत्रिकाहरूमा आर्थिक मन्दी सुरु भयो तब पत्रकारहरू पनि छटपटाउन थाले । स्वभाविकै होला यस्तै अवस्थामा तलब नपाएका पत्रकारले परिश्रम नगरी अतिरिक्त आम्दानी हुने ठाउँहरू खोज्न थाले । सही सत्य समाचार खोजेर आफ्ना पाठकसमक्ष पु¥याउने भन्दा पनि आफ्नो आर्थिक गर्जाे टार्नुपर्ने अवस्था पत्रकारहरूले भोग्न थाले । यिनै कारणले गर्दा पर्चाकारिता, पक्षपोषण, पार्टीकारिता र चाटुकारिताको आरोप छापा पत्रकारितालाई लाग्न थाल्यो । स्वच्छ समाचार, खोजमुलक समाचार र वस्तुनिष्ट समाचार तलबविहीन पत्रकारले खोज्न छाडे । पत्रकारिताको आचार संहिता एकातिर असमाचारको बाढी अर्कातिर हुन थाल्यो । जसले गर्दा पत्रकार र छापा पत्रिका प्रतिको पाठकको विश्वासमा ठेस पुग्यो । र, आमपाठकलाई समाचारहरू असान्दर्भीक, झुठ र अर्घेलो लाग्न थाले ।

काठमाडौं महानगरपालिका कुमारीगाल खरिबोटस्थित स्टेसनरी पसलका सन्तोष अधिकारीले पत्रपत्रिका बेच्न थाल्नुभएको थुप्रै वर्ष भयो । उनले आफ्नो परिवारको खर्च त्यही पसलको आम्दानीबाट चलाउँदै आउनुभएको थियोे । केही दिनअघि सन्तोषले यो पंक्तिकारलाई बोलाएर पेसा परिवर्तन गर्नुपर्ने अवस्थामा पुगेको गुनासो गरे । उनले छापा पत्रिकाका ग्राहक घट्दै गएर सकिएको, पत्रिका बिक्री हुन छाडेको र पत्रिकाले सत्य र खोजमूलक समाचार सम्प्रेषण गर्न नसक्दा पत्रिका बिक्रेताहरू यो अवस्थामा पुगेका हुन् भनेर सुनाउनुभयो । वास्तवमा सन्तोषजीको यो साधारण अभिव्यक्तिमा पत्रकारले सोच्नुपर्ने थुप्रै कुरा लुकेका छन् । २०४६ सालपछि फस्टाएको छापा पत्रकारिताले एउटा तप्कालाई राम्रैसँग रोजगारीको व्यवस्था गरेको थियोे । तर, अब त्यो अवस्था रहेन ।

पछिल्लो समय पत्रकारहरू एकप्रकारले सुविधाभोगी हुँदै गए । दुःख गरेर समाचार खोज्ने भन्दा डेक्समा बसेर अरूले लेखेको समाचार आफ्नो विचारअनुसार काँटछाँट गरेर पेज भर्ने ध्याउन्नतिर लागे । यस्तो अवस्थामा कतिपय समाचारको आशय र मर्म नै फरक पर्नु स्वाभाविकै हो । ती समाचार पढ्ने पाठकले एउटै समाचारको वास्तविकता बुझ्नलाई भिन्नभिन्न पत्रिका हेर्नुपर्ने भयो । जसले गर्दा पाठकवर्गलाई आर्थिकदेखि मानसिक भारसमेत पत्रकारले थपिदिए । यहीबेला समाजमा सामाजिक सञ्जाल हावी हुँदै गयो । एफएम रेडियो र विभिन्न टेलिभिजन च्यानलहरू थपिए । जनताले छिटोछरितो रूपमा निर्वाध सही सत्य सूचना प्राप्त गर्न सक्ने माध्यमहरू बढ्दै गए । छापा पत्रिकामा भोलिपल्ट पढ्न पाउने समाचार पाठकले आजै पाए । जसले गर्दा छापा पत्रिकाका पाठक घटे ।

अहिले छापा पत्रकारिता निकै कमजोर अवस्थाबाट गुज्रिरहेको छ । अझ भनौँ पत्रिकाहरूको आर्थिक अवस्था कमजोर बनेको छ । तर, जहाँ समस्या त्यहाँ उपाय नहुने कुरा हुँदैन । अनलाइन पोर्टलहरूलाई समेत उछिनेर सामाजिक सञ्जालमा अभ्यस्त भइसकेका आफ्ना पाठकलाई पुनः पत्रिका पढ्न रुचि बढाउन भने जरुरी छ । अब यसका लागि के गर्ने भन्ने सवाल उठ्छ । हामीले अहिलेसम्म पाठकहरूसमक्ष पुगेर उनीहरूको रुचि बुझ्ने कोशिस गरेकै छैनौँ । वाक्कदिक्कलाग्दो राजनीतिक समाचारबाहेक अरू समाचारलाई स्थान दिन कन्जुस्याइँ गरिरहेका छौँ । कसैको भजन गाउँदै अर्काे कसैलाई खुइल्याउने समाचार अबका पाठकले खासै चाख मानेर पढेनन् । भाषण भूषण, उद्घाटन, शिलान्यास र पुस्तक विमोचनका समाचारलाई आधुनिक पाठकले तिरस्कार गरिसकेका छन् ।

अहिले विश्वका विकसित देशहरूमा समेत छापा पत्रिकाहरू क्रमशः बन्द हँुदै गएका छन् तर, नेपालमा छापा पत्रिकाको महत्व, गरिमा र आवश्यकता अझै छ । यसलाई समयसापेक्ष बनाउन भने सक्नुपर्छ । स्वभावैले पत्रकारिता क्षेत्र प्रतिपक्ष भूमिकामा रहनुपर्ने हो । तर, अहिले पत्रिकाहरू सत्तापक्ष र प्रतिपक्ष खेमामा विभाजित देखिन्छन् । यहाँनेर के भन्नै पर्छ भने सत्तापक्षको बोझ उठाउने सरकारी सञ्चार माध्यम प्रसस्त छन् । अन्यले जोडबल लगाएर सरकारको भक्तिगान गाउनुपर्ने जरुरत छैन । यसर्थ पत्रकारहरू आफँै सच्चिएर आफ्नो सञ्चार माध्यमका समाचारहरू सच्याउन जरुरी छ । पत्रिकाका पाठकले खोजपूर्ण समाचार पढ्न चाहिरहेको अवस्थामा जबर्जस्ती गोजी समाचार पढाउन सकिँदैन । यसर्थ खोजपूर्ण, सोधपूर्ण र सत्यतथ्यमा आधारित समाचार लेखनतर्फ पत्रकारहरू लाग्नै पर्छ ।

वर्तमान समय पत्रकारहरूले स्वतन्त्रापूर्वक लेख्न पाउने समय हो । यो समयको भरपुर उपयोग गरेर छापा पत्रिकाले आफूलाई अब्बल प्रमाणित गर्न सक्नुपर्छ । अन्यथा समय घर्कीसकेपछि पश्चात्ताप गर्नुबाहेक अर्को विकल्प नरहन सक्छ । अहिले थोरै बुझ्ने पाठकले पनि तत्थ्यमा आधारित खोजमूलक समाचार छ कि छैन भन्ने हेरेर मात्र पत्रिका किन्न थालेका छन् । छापा पत्रिकाले एकातिर आफ्ना पाठक समाचार पर्गेल्न सक्ने भएकामा खुसी मान्नुपर्ने अवस्था छ भने अर्कोतिर पत्रिका बिक्री नभएकोमा दुःख मान्नुपर्ने अवस्था छ । यो ‘बिक्री नहुने’ अवस्थाबाट छापा पत्रिका मुक्त हुन सत्यतत्थ्यमा आधारित खोजपूर्ण समाचारकै आवश्यकता पर्छ ।

अहिले चारैतिरबाट छापा पत्रिकामाथि प्रहार भइरहेको अवस्था छ । एकातिर पत्रकारहरूको आफ्नै कमीकमजोरीले यसो भएको हो भने अर्कोतिर विज्ञानले प्रविधिमा गरेको उच्च विकासले पनि यसलाई दपेटीरहेको छ । सामाजिक सञ्जालले पत्रपत्रिकाका पाठकलाई जकडेर राखेको अवस्थामा अनलाइन पोर्टलका छिटाछरिता तर दोधारे समाचारले भुलाइरहेका छन् । अनलाइन न्युज पोर्टलहरू पार्टी, गुट, नेता हुँदै अहिले आएर आआफ्नै मात्रै हुन पुगेका छन् । उद्योगपति, व्यापारी अथवा विज्ञापनदाताहरू आफैँले सहज रूपमा प्राप्त गरेको समाजिक सञ्जालमार्फत विज्ञापन गर्न थालेका छन् । जसले गर्दा छापा माध्यमको आर्थिक प्राण नराम्रोसँग खुम्चिन पुगेको छ ।

ह्वाट्सएप, भाइबर, टिकटक, युट्युब लगायतका सामाजिक सञ्जाल व्यापक बनेपछि अन्य सञ्चारका सशक्त माध्यममा विज्ञापन आउने क्रम कम हुँदै गएको छ । यो अवस्थाबाट छापा पत्रकारितालाई जोगाउन र पाठकको रुचि बढाउन खोजी रिपोर्टिङ र पाठककै रुचि अनुसारको सामग्रीबाहेक अरू उपाय देखिँदैन । रेडियो, टेलिभिजन, अनलाइन माध्यमले दिएका सामग्रीभन्दा अहिले पनि छापा पत्रिकाका पाठक बढ्ने अवस्था रहेको छ । तर, सामग्री भने सत्यतत्थ्यमा आधारित र खोजपूर्ण हुनैपर्छ ।

अहिलेकै अवस्थाको मूल्यांकन गरेर भन्नुपर्दा सरकारी धारणा र नीति पनि छापा पत्रकारिता विपरीत रहेको पाइन्छ । सरकारी विज्ञापन प्राप्त गर्नसक्ने अवस्था छैन । मन्त्रालय स्तरबाटै आफ्ना मातहतका निकायलाई ‘सरकारी सञ्चार माध्यममा मात्र विज्ञापन दिनु’ भन्ने खालको अघोषित निर्देशन जारी भएको बुझ्न सकिन्छ । सबै सञ्चार माध्यमले यथोचित विज्ञापन प्राप्त गर्ने वातावरण सरकारले निर्माण गर्नुपर्छ । यसका लागि छापा माध्यमले सरकारलाई ठूलै दबाब दिनुपर्ने हुन्छ । अन्यथा ऐतिहासिक रूपमा प्रकाशित हँुदै आएका छापा माध्यम बन्द हुने अवस्था नजिकिँदै आएको देखिन्छ ।

प्रतिक्रिया