बारा । सबैको दाना पानी किसानकै मिहिनेतकै कारण चल्छ । यो कटुसत्य हो । जती पैसा कमाएको व्यक्तिलाई पनि खानको लागि अन्नपात नै चाहिन्छ । सबैलाई चाहिने अन्नपात किसानले नै उत्पादन गर्छन । सबैको अन्नदाता किसान भने सबै क्षेत्रबाट अपहेलित छन् । किसानले गर्ने कामलाई तल्लो स्तरको काम भन्दै गिज्याउने समेत गरिन्छ । उनै किसानलाई अपहेलित गर्ने काम समेत भइरहेको प्रति सरोकारवालाले चिन्ता जोहर गरेका छन् ।
जस्लाई संसारका विकसित मुलुकहरुले किसान र शिक्षकलाई विशिष्ट श्रेणीमा राख्ने गर्छन् । तर हामी कहा तिनै किसान र शिक्षकलाई फरक नजरले हेर्ने गरिएको छ । उनीहरुलाई सरकारी सेवा उपलब्ध गराउनुको सट्टा झन्न प्रताडीत पार्ने काम राज्य संयन्त्रबाट नै हुने गरेको नागरिक अगुवाहरुले बताएका छन् । किसानले उत्पादन गरेको कच्चा पदार्थबाट उत्पादन गरेको मालवस्तुको सम्बन्धित उद्योगीले आफै बिक्रिी मूल्य तोक्छन् । तर त्यही किसानले उत्पादन गरेको मालवस्तुको मूल्य सरकारले तोक्छ । तर त्यो मूल्य पनि किसानको लागि व्यवहारिक नदेखिएको बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दासले बताए ।
‘किसान एकतिरबाट होइन, चौतर्फी मारमा छन,’ उनले भने, ‘उत्पादनको लगानी अनुसार उचित मूल्य पाएका छैनन् ।’ सरकारले किसानलाई उचित बिउ, मल, सिचाई लगायतको सुविधा उपलब्ध गराउनु पथ्र्यो । तर किसानले ती सबै सुविधा पाउनुको सट्टा उल्टै उत्पादित वस्तु बिक्री गर्दा चिनीमिल उद्योगीबाट ठगिनु पर्ने वाध्यता रहेको उनले बताए ।
हालै बारा र पर्साका किसान ठगिएको घटना रौतहटमा प्रकासमा आएको उनले बताए । तर अहिलेसम्म किसान ठग्ने उद्योगीलाई प्रशासनले कुनै कारवाही नगरेको उनले गुनासो गरे । रौतहटको डुमरियास्थित बाबा बैजुनाथ सुगर एण्ड केमिकल ईण्डष्ट्रिज प्रालिले किसानको उखु तौल गर्ने काटामा गडबढी गरी ठगेको घटना बाहिर आउदा पनि सरकार पक्षले ठोस कदम नचालेको उनले गुनासो गरे ।
चिनीमिलले उखु तौल गर्ने काटामा गडबडी गरी ठगी गर्ने शिलशिला बढ्न थालेपछि बारा, पर्सा र रौतहटका उखु किसानले चिन्ता जाहेर गरेको उखु उत्पादक किसान संघ बाराका अध्यक्ष बिरेन्द्र कुशवाहाले बताए ।
रौतहटका बाबा बैजुनाथ चिनीमिलका संचालकले किसान माथि ठुलो अत्याचार गरेको उनले गुनासो गरे । प्रशासनको कमजोरीका कारण किसान उद्योगीहरुको अत्याचार सह्न वाध्य छन ।
नापतौल विभागका कर्मचारीसंग मिलोमतो गरी उद्योग संचालकले किसानलाई ठग्ने क्रम बढेसंगै यहाका किसान स्थानीय प्रहरी प्रशासन र नापतौल विभागका कर्मचारीको कमजोरी प्रति यसरी चिन्ता जाहेर गरेका हुन् ।
बारा र पर्साका किसानलाई रौतहटको डुमरिया स्थित बाबा बैजुनाथ चिनीमिलद्वारा ठगिने क्रम जारीरहेको खुलासा भएपछि यहाका किसान थप आक्रोशित बनेका छन् । बाबा बैजुनाथ चिनीमिलले तौलमा गरीरहेको गडबडीको समाचार संकलन गर्न पुगेका पत्रकारलाई नियन्त्रणमा लिएर कुटपिट गरेपछि ठगीको घटना बाहिर आएको उनले बताए । उक्त चिनीमिलले तौलमा गरीरहेको ठगीबाट बारा/पर्साका उखु किसानलाई जोगाउन रिलायन्स सुगर एण्ड केमिकल ईण्डष्ट्रिज प्रालि श्रीपुर बाराले समेत स्थानीय प्रशासनसंग आग्रह गरेको छ । उखु ढुवानी गर्ने चालक तथा ट्रक्याटरधनीलाई आर्थिक प्रलोभनमा पारी बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डट्रिज प्रालि कटहरिया ९ डुमरियाले बारा र पर्साका उखु किसानलाई ठगीरहेको आरोप रिलायन्स सुगर मिलले लगाएको छ ।
बाबा बैजुनाथका व्यवस्थापकले ठुलो संख्यामा बिचौलियाहरु बारा र पर्सामा परिचालन गरी यहाका किसानलाई ठगी गरीरहेको भन्दै रिलायन्स सुगर एण्ड केमिकल इण्डष्ट्रिज श्रीपुर बाराका कार्यकारी निर्देशक शैलेन्द्र कुमारले पनि चिन्ता जाहेर गरेका छन् । यो घटनाले समग्रमा चिनी उद्योग संचालकहरुलाई बदनाम गर्ने काम गरेको उनको भनाई छ । ‘बाराका किसान उखुको तौलमा ठगिदै गरेको तथ्य विभिन्न संचार माध्यमबाट प्रमाणित भईसकेको छ,’ उनले भने, ‘बाबा बैजुनाथले चिनीमिलमा राखेको तौल काटामा हेरेफेर गरी किसानलाई ठगी गरीरहेको छ ।’ किसानले चिनीमिलमा ल्याएको उखुको तौलमा ठगी गरीरहेको उनले बताए ।
बारा र पर्साका किसान बाबा बैजुनाथ चिनीमिलबाट ठगिएको तथ्य फेला परेपछि त्यसलाई नियन्त्रण गर्न बारा र पर्साका तत्कालिन प्रमुख जिल्ला अधिकारीलाई गत वर्ष नै ध्यानाकर्षण गराउदा पनि कुनै एक्सन नहुदा यस्तो अवस्था आएको उनले बताए । यस वर्ष पनि दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउने तयारी समेत गरिएको रिलायन्स सुगर एण्ड केमिकल इण्डष्ट्रिज प्रालिकै प्रशासन प्रमुख मनोहर झाले जानकारी दिए । बाबा बैजुनाथले बारा र पर्साबाट चिनीमिलमा पु¥याएको ट्रेक्टर चालकलाई प्रति टिप पाच सय रुपैयाँ, बेलुकाको खाजामा मदिरा र मासु तथा ट्रयाक्टरमा १० लिटर तेलको प्रलोभन देखाई ठगी गर्ने गरेको खुलेको छ ।
एउटा ट्रक्टरलाई तौल गर्दा प्रति ट्रेक्टरमा १० देखि ३० क्विन्टल उखु सो मिलले ठगी गरीरहेको उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवले बताए । ‘आफ्नै सामुने उखु लोड भएको ट्रयाक्टर तौल गर्दा उखुको वास्तविक तौल घटेको पाइयो,’ उनले भने, ‘हाम्रो अनुपस्थितीमा के होला सहजै अनुमान गर्न सकिन्छ नि ।’ बाबा बैजुनाथ चिनीमिलका संचालक बैजु बाबरालाईसंगै राखेर तौल गर्दा घटी प्रमाणित भएको उनले बताए ।
आफ्नो ठगी लुकाउन बैजुले आफ्ना मान्छे लगाएर समाचार संकलन गर्न आएका रौतहटका एक संचारकर्मीलाई निर्घात कुटपीट गरेको उनले जानकारी दिए । पत्रकार कुटने र उखु उत्पादक संघका पदाधिकारीलाई धम्काउने चिनीमिल संचालकलाई कानुनी कारवाही गर्न उनले स्थानीय प्रशासनसंग माग समेत गरेका छन् । पत्रकार कुटेको, पत्रकारको मोबाइल फुटाइदिएको स्विकार गर्दा पनि बैजुलाई स्थानीय प्रहरी प्रशासनले नियन्त्रणमा लिएर कानुनी कारवाही गरेको छैन् । यसले यहाँका उखु किसान त्रसित बनेका छन् ।
प्रतिक्रिया