बर्दिबास । सडक, भोजन र पर्यटनबिचको अन्योन्याश्रित सम्बन्धलाई एकाकार गर्न होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले बिपी राजमार्गको प्रवेश बिन्दु बर्दिबासमा सडक खाना महोत्सव आयोजना गर्ने भएको छ । महोत्सव ४ देखि ७ फागुनसम्म चल्नेछ ।
नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघका मधेस प्रदेशका अध्यक्ष हीरा गौतमले बर्दिबास सडक खाना महोत्सव हाम्रा लागि मात्र नभई सम्भवतः मधेश प्रदेशकै लागि नौलो अभ्यास र पहिलो थालनी भएका बताए ।
‘महोत्सवमा मधेस प्रदेशका आठ वटै जिल्लाको भोजन संस्कृतिलाई समेट्न रौतहटको कटिया (मासुको परिकार), बाराको सेकुवा, धनुषाको तरुवा (मिथिला भोजन), सिराहा कमलाको माछा र सप्तरी बरमझियाको पेडाको आनन्द एकै थलोबाट लिने व्यवस्था मिलाइएको छ’, उनले भने, ‘यसले मधेस प्रदेशका जिल्लाहरूबीच सामाजिक, सांस्कृतिक र व्यापारिक सहयोग, सम्बन्ध र सौहार्दतामा वृद्धि हुनेमा हामी आशावादी छौँ ।’
उनले तीन दिनसम्म आयोजना हुने सडक भोजन महोत्सवले व्यापार व्यवसायलाई गति दिनुका साथै आन्तरिक पर्यटनको जगमा इँटा थप्ने काम गर्ने बताए । मधेस प्रदेशको भोजन संस्कृति, सृजना, स्थानीय उत्पादन र पर्यटन प्रवर्धनमा टेवा पुग्ने विश्वासका साथ सडक भोजन महोत्सवको आयोजना गरिएको हो ।
यस्तै, होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुञ्ज खड्काका अनुसार महोत्सवमा ५० वटा होटलको सेवा एउटै थलोबाट दिने व्यवस्था मिलाइएको छ । ‘मधेस प्रदेशको भोजन संस्कृतिलाई यसै थलोबाट पस्कने जमर्को पनि गरेका छौँ । महोत्सवमा सडक भोजनका साथै स्थानीय र राष्ट्रिय कला संस्कृतिको प्रस्तुतिको व्यवस्था पनि मिलाइएको छ । यसले मधेस प्रदेश र बर्दिबासको पहिचान अभिवृद्धिमा योगदान पुग्ने अपेक्षा छ’, उनले भने ।
उनका अनुसार महोत्सव आयोजनामा १५ लाख खर्च लाग्ने अनुमान छ । यसमध्ये साढे ६ लाख बर्दिबास नगरपालिकाले सहयोग गरेको छ । ‘यो मधेस प्रदेशकै लागि नौलो अभ्यास र पहिलो प्रस्तुति भएकोले महोत्सवको सफलताका लागि सबैको सहयोग, शुभेच्छा र सहभागी हुनुपर्छ’, उनले भने ।
होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका महासचिव नारायण घिमिरेले महोत्सवमार्फत मधेसको मौलिक खाना भुजिया, तरुवा, बगिया, करीवरीजस्ता परिकारको स्वाद र पहिचान बढाई व्यवसायीकरण गर्ने सोच रहेको बताए ।
होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका सचिव परमेश्वर महतोले पनि कोरोनापछिको आर्थिक मन्दीले आक्रान्त बनेको बजारलाई चलायमान बनाउने उद्देश्यले सडक खाना महोत्वस आयोजनको तयारी गरेको जानकारी दिए ।
‘यो महोत्सव आफैँमा नौलो प्रस्तुति भएकोले यसप्रति सबैको चासो र उत्सुकता बढेको छ । मधेसका सबैजसो समुदायको भोजन संस्कृतिलाई समेट्ने प्रयास गरेका छौँ । खाना महोत्सव व्यापार प्रवर्धका साथै समाजिक सौहार्दताको प्रतीक बन्ने अपेक्षा छ’, उनले भने ।
प्रतिक्रिया