गणपति वनस्पती उद्योगमा हड्ताल, उद्योगको उत्पादन बन्द

बारा । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–३ बजनीमा रहेको गणपति वनस्पती उद्योगमा श्रमिक र व्यवस्थापन बीचको विवादले उग्ररूप लिएको छ । उद्योगमा कार्यरत श्रमिकहरूले उद्योग परिसरभित्र हड्ताल गरेका कारण उद्योगको काम बन्द भएको छ । सो उद्योगले ५० जना स्थायी श्रमिक कटौती गर्ने सूचना निकाले पछि त्यहाँ कार्यरत श्रमिक समस्यामा परेका छन् ।

उद्योगले आर्थिक मन्दीको बहनामा माघ २३ गते ५० जना श्रमिकलाई कामबाट बिदा गरेको सूचना निकालेपछि त्यहाँ कार्यरत ८९ जना स्थायी श्रमिकहरू उद्योगको कामबन्द गरेर दिनभरी उद्योग परिसरमा धर्ना दिइरहेका छन् ।

विगत २५ वर्षदेखि निरन्तर रूपमा काम गर्दै आइरहेका कामदारलाई एकैपटक निकाल्ने सूचना जारी गरेपछि अहिले गणपति वनस्पती उद्योगमा कार्यरत कामदारहरू बिचल्लीमा परेका छन् । उद्योगमै काम गरेर परिवारको जीविकोपार्जन गर्दै आएको र आफूहरूलाई उद्योगले आर्थिक मन्दीको बहानामा कामबाट निकाल्नु दुःखद् रहेको त्यहाँ कार्यरत कामदार प्रधुमनप्रसाद चौरसियाले बताए ।

गणपति वनस्पति उद्योगले आर्थिकमन्दीको बहानामा पहिलादेखि नै स्थायी कामदारलाई जगेडामा राखेर काम गराइरहेको थियो । आफूहरूले २५ वर्षदेखि यहीँ काम गरिरहेकोमा अहिले उद्योगले आर्थिक मन्दीको बहानामा आफूहरूलाई निकाल्न लागेको कामदार युवराज पराजुलीले बताए ।
उक्त उद्योगमा कार्यरत श्रमिकले श्रमिक कटौती गर्न पाइँदैन, कटौती गर्न लागेको श्रमिकलाई पूर्णबहाली गर, लगायतको नारा लगाउँदै दैनिक रूपमा उद्योग परिसरभित्र विरोध प्रदर्शन गरिरहेका छन् ।

बढ्दो बजार प्रतिस्पर्धा गर्न नसकेबाट उत्पादित तेलहरू भारत निकासी हुँदै आएकोमा भारतले तेलको आयातमा एक्साइज डिउटी बढाएकोबाट निर्यात ठप्प भएकाले थप उत्पादन गर्नुपर्ने नभएका कारण श्रमिकलाई कामबिना नै पारिश्रमिक भुक्तानी गर्दै आएको अवस्थाले आर्थिकभार वहन गर्न नसक्ने अवस्थाले कामदार कटौती गर्न लागेको उद्योगका प्रशासन शाखा प्रमुख दिनेशचन्द्र गिरीले बताए । आफूहरूले श्रमिकलाई वार्ताको माध्यमबाट बोलाएर समस्याको समाधानमा गर्न लागिपरेको समेत उनले बताए ।

श्रमिकहरूलाई आइतबार उद्योगले श्रम कार्यालय वीरगञ्जमा वार्ताको लागि बोलाएको र आफूहरू वार्ताको लागि ५ बजे श्रमिक कार्यालय वीरगञ्जमा पुग्दा उद्योगको तर्फबाट कोही पनि वार्तामा नआएको श्रमिक युवराज पराजुलीले बताए । श्रमिकको हड्तालको कारण गणपति वनस्पती उद्योगबाट उत्पादन हुँदै आएको तोरीको तेल बन्द हुँदा उद्योगलाई करोडौँको क्षति भएको छ ।

माघ २६ देखि ८९ जना कामदारले काम छोडेर उद्योग परिसरमा हड्ताल गर्दै आइरहेका छन् । श्रम ऐन २०७४ मा कामदार कटौती गर्नुपर्ने अवस्थामा विदेशी श्रमिकलाई पहिले कटौती गर्नुपर्ने उल्लेख भए पनि उद्योगले विदेशी कामदारको कटौती नगरेर नेपालकै कामदारलाई कटौती गरेको श्रमिकहरूको आरोप छ ।

प्रतिक्रिया