कलैया अस्पतालमा तीन युनिट थप, मुख्यमन्त्रीद्वारा उद्घाटन

बारा । कलैया अस्पताल बारा जिल्लाकै जेठो अस्पताल हो । यो अस्पतालले बारा जिल्लाका बिरामीलाई निरन्तर सेवा दिँदै आएको छ । मुलुक संघीयतामा रूपान्तरण भएपछि यो अस्पतालको काम फेरिएको छ । लामो समयदेखि जिल्ला अस्पतालको रूपमा कलैया अस्पतालको नामबाट उपचार सेवा दिँदै आएको यस अस्पतालको नाम अहिले कलैया प्रादेशिक अस्पतालमा रूपान्तरित भएको छ ।

जिल्लास्थित ठूला राजनीतिक दलका नेताको उदासीनता र केन्द्र सरकारको वैमनस्यताका कारण स्तरवृद्धि नहुँदा कलैया अस्पताल पछाडि परेको थियो । तर, देशमा संघीयता लागू भएपछि मधेसी दलका नेताले कलैया अस्पताललाई चासोको रूपमा हेर्न थालेका थिए ।

मधेसी दलका नेताहरू पूर्वसांसद एवं जनता समाजवादी पार्टी मधेस प्रदेश कमिटीका पूर्वअध्यक्ष रामबाबुकुमार यादव, पूर्व प्रदेशसभा सदस्य पारसप्रसाद साह, अस्पताल व्यवस्थापन समितीका अध्यक्ष प्रकाश चौगाई लगायतको पहलमा कलैया अस्पतालको सेवाको स्तर वृद्धि भएको जसपाका युवा नेता सुजितकुमार पाण्डेले जानकारी दिए ।

‘प्राथमिक उपचारमा सीमित रहेको यस अस्पतालमा पछिल्लो समय सेवाको स्तर वृद्धि भएको छ’, उनले भने, ‘अहिले सघन तथा जटिल रोगका उपचारसमेत कलैया अस्पतालमा हुन थालेको छ ।’ प्राथमिक उपचार सेवामा सीमित रहेको यस अस्पताललाई स्थानीयले रेफर अस्पताल अस्पताल भन्दै खिल्ली उडाउने गर्थे । तर पछिल्लो समय अस्पथाल व्यवस्थापन समिति अध्यक्ष र अस्पताल प्रमुखको संयुक्त पहलमा सेवाको स्तर वृद्धि भएको उनले बताए ।

यस अस्पतालमा विस्तार गरिएको इन्डोस्कोपी युनिट, हेमोडायलिसिस तथा एसएनसियु युनिट सेवाको बुधबार उद्घाटन गरिएको छ । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले विस्तार भएको तीन वटै सेवा युनिटको उद्घाटन गरेका हुन् । उद्घाटनपछि इन्डोस्कोपी युनिटको सेवा बुधबारदेखि नै सुचारु गरिएको कलैया प्रादेशिक अस्पतालका प्रमुख डा.अजयकुमार गुप्ताले जानकारी दिए ।

‘बाँकी रहेको दुई वटा युनिटको सेवा सुचारु गर्न व्यवस्थापनको सम्पूर्ण तयारी पूरा गरिसकिएको छ’, उनले भने, ‘यसमा केही प्राविधिक समस्या र दक्ष जनशक्तिको समस्यालाई हल गर्ने काम भइरहेको छ ।’ यो दुबै युनिटमा भएको समस्यालाई हल गरेर एक साताभित्रै यी दुबै युनिटलाई फुलफेजमा सञ्चालनमा ल्याउने तयारी गरिएको उनले जानकारी दिए ।

यो दुबै युनिट सञ्चालनमा आएपछि मृगौला रोगी, नवजात शिशुमा देखिने जटिल समस्या तथा रोगको परीक्षण, उपचार भर्ना गरेरै सुरु गरिने उनले जानकारी दिए । हाल पेटसम्बन्धी समस्या भएका बिरामीको परीक्षण तथा उपचार सेवा सुचारु भइसकेको उनले बताए । अस्पतामा स्पेसल न्यु बर्न केयर युनिट, मुटुसम्बन्धी जाँचको लागि इक्कोकार्डियोग्राफी र सर्जरी सुविधाका लागि ल्याप्रोस्कोपी उपकरण कलैया अस्पतालमा दक्ष प्राविधिकसहित थपेर सेवा विस्तारमा सहयोग गर्न मुख्यमन्त्री यादवको ध्यानाकर्षणसमेत गराइएको मेसु गुप्ताले जानकारी दिए ।

मुख्यमन्त्री यादवले अस्पताल व्यवस्थापन समिति तथा मेसुलाई कागजी प्रक्रिया पूरा गर्न निर्देशन दिँदै सेवा बिस्तार गराउन आफूले सहयोग गर्ने आश्वासनसमेत दिए । यी दुबै सेवा सञ्चालन गर्ने तयारी सुरु गरिएको र चाँडै नै माग गरिएको सेवा सञ्चालनमा ल्याइने मेसु गुप्ताले दाबी गरे ।
कलैया अस्पतालमा अहिले दिनहँु पाँच सयभन्दा बढी बिरामी ओपिडी सेवा लिइरहेको उनले जानकारी दिए । जसमा ३० प्रतिशतभन्दा बढी पेटसम्बन्धी रोगका बिरामी हुने गरेका छन् । उक्त अवसरमा कलैया अस्पतालमा दिनहुँ १० देखि १५ जनता महिलालाई सुरक्षित रूपमा सुत्केरी सुविधा प्रदान गरिँदै आएको कलैया अस्पतालकी इन्डोर इन्चार्ज जानकी महतोले बताइन् ।

उक्त कार्यक्रममा सहभागी जनता समाजवादी पार्टीका राजनीतिक समिति सदस्य रामकिशोर यादव, प्रमोद गुप्ता, पूर्वसांसद एवं जनता समाजवादी पार्टी मधेस प्रदेश कमिटीका पूर्वअध्यक्ष रामबाबु कुमार यादव, पूर्व प्रदेशसभा सदस्य पारसप्रसाद साह, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश चौगाई, नेपाली कांग्रेसका मनोज गुप्ता लगायतकाले कलैया अस्पतालको सेवा विस्तारमा सहयोग पु¥याउन मुख्यमन्त्री यादवको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया