एपीएफ अस्पताल बलम्वुमा अन्कोलोजी युनिट स्थापना

काठमाडाैं । नेपाल एपीएफ अस्पताल बलम्वुमा अन्कोलोजी युनिटको स्थापना गरिएकाे छ । अस्पतालको २२औँ वार्षिकोत्सवको अवसर पारेर सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र सशस्त्र प्रहरी परिवार महिला संघकी पूर्व केन्द्रीय अध्यक्ष कल्पना थापाले पूर्व सशस्त्र प्रहरी महानिरीक्षक स्व. सहवीर थापाको स्मृतीमा स्थापना गरिएको ‘सहवीर थापा अन्कोलोजी युनिट’को फागुन २ गते संयुक्त रुपमा उद्घाटन गरे ।

अन्कोलोजी युनिट संचालनको लागि स्थापना गरिएको अक्षयकोषमा महानिरीक्षक अर्याल तथा उनको परिवारको तर्फबाट ५ लाख रुपैयाँ प्रदान गर्नुकोसाथै वहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुले समेत सहयोग रकम प्रदान गरे ।

साथै महानिरीक्षक अर्यालले नेपाल एपीएफ अस्पताल बलम्वुमा निर्माण भएको नयाँ इमरजेन्सी भवनको समेत उद्घाटन गरे । महानिरीक्षक अर्यालले अस्पतालमा कार्यरत रहि वर्षभरी उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरु तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत कदरपत्र प्रदान गरे ।

त्यस्तै उनले अस्पतालमा कार्यरत रहि उच्च पेशागत दक्षता प्रदर्शन गर्ने नेपाल एपीएफ अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी नायव महानिरीक्षक डा. रुपक महर्जन लगायत अन्य कर्मचारीलाई IG APF Commendation प्रदान गर्नुकासाथै अस्पताललाई अनुकरणीय सहयोग पुर्‍याउँदै आएका विभिन्न संघसंस्था तथा महानुभावहरुलाई कदरपत्र प्रदान गरेका थिए ।

सोही अवसरमा महानिरीक्षक अर्यालले नेपाल एपीएफ अस्पतालको विविध गतिविधिहरु समेटि तयार पारिएको ‘अस्पताल प्रतिबिम्ब २०८०’को विमोचन समेत गरे । महानिरीक्षक अर्यालले नेपाल एपीएफ अस्पताललाई आजको अवस्थासम्म ल्याई पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुप्रति हार्दिक आभार प्रकट गर्दै अस्पतालमा कार्यरत कर्मचारीहरुलाई प्रविधि र सीपको नविनतम विकासहरुलाई आत्मसाथ गरी आगामी दिनहरुमा समेत स्वास्थ्य सेवा प्रवाहमा कटिबद्ध भई निरन्तर लागि रहन निर्देशन दिए ।

उनले देशमा आईपरेको विपद् तथा महामारीको समयमा अस्पतालले निर्वाह गरेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्दै अस्पतालमा सेवा लिन आउने आम सर्वसाधारण तथा विपन्न वर्गका परिवारहरुको लागि नेपाल सरकारबाट उपलब्ध हुने सम्पूर्ण उपचारका सेवाहरु प्रदान गर्न सदैव अग्रसर रहनु पर्ने बताए ।

‘म होईन हामी भन्ने मान्यता लिई मालिक होईन सेवक हुँ भन्ने पवित्र भावनकासाथ कर्तव्य पथमा लागि रहन’ निर्देशन दिंदै महानिरीक्षक अर्यालले भने– ‘शरिरमा लागेको रोगको औषधी उपचारबाट संभव होला तर सामुहिक एकतामा व्यक्तिगत स्वार्थ र विचलनको संक्रमण भयो भने त्यो रोगको न कुनै उपचार हुन्छ न त निधान गर्ने सक्ने औषधी नै हुन्छ ।’

महानिरीक्षक अर्यालले अस्पतालको सेवा र विस्तार कार्यमा संगठनलाई प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउने संघीय, प्रादेशिक तथा स्थानीय निकायहरुका साथै विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संघसंस्थाहरु र अस्पताल सेवालाई छिटो छरितो एवं प्रभावकारी बनाउन अहम भूमिका निर्वाह गर्ने कर्मचारीहरुप्रति धन्यवाद प्रकट गरे ।

कार्यक्रममा स्वास्थ्य शैक्षिक प्रतिष्ठान तथा संस्थाहरुका प्रमुखहरु, सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष, अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु, बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका कार्यकारी निर्देशक, विभिन्न मन्त्रालय तथा सरकारी अस्पतालका पदाधिकारीहरु लगायत सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया