राजासहितको प्रजातन्त्र र दुई तहको सरकार आजको आवश्यकता : थापा

वीरगञ्ज । राजासहितको प्रजातन्त्र र दुई तहको सरकार हुनुपर्ने राप्रपा नेपालको अध्यक्ष कमल थापाले बताएका छन् । वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले संघीय संरचना खारेज गर्ने तत्कालीन लक्ष्य लिएको बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई भ्रष्ट व्यवस्थाको रूपमा टिप्पणीसमेत गरे । देशमा कायम रहेको भ्रष्ट व्यवस्था अन्त्य गरेर मुलुकमा हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि संघीय संरचना खारेज गर्नुको विकल्प नरहेको उनले जिकिर गरे ।

अध्यक्ष थापाले संघीय संरचना खारेज गरेर स्थानीय निकायलाई बलियो बनाउँदै सुशासनको माध्यमबाट मुलुकमा आर्थिक विकास र सुशासन हासिल गर्ने आफ्नो पार्टीको लक्ष्य रहेको बताए । उनले निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्नेसमेत बताए । त्यसका लागि एक वर्षभित्र कम्तिमा दुई लाख पार्टीको सक्रिय सदस्यता वितरण गरिसक्नुपर्ने बताए । पार्टीलाई बलियो बनाउन सक्रिय सदस्यता वितरणलाई पार्टीका नेता, कार्यकर्ताले प्रतिस्पर्धाको रूपमा अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

अध्यक्ष थापाले भने, ‘हाम्रो तत्कालीन जिम्मेवारी भनेको देशमा कायम रहेको भ्रष्ट व्यवस्था अन्त्य गर्ने र विकल्पमा हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापना गर्ने, हाल कायम रहेको संघीय संरचना खारेज गर्ने, स्थानीय निकायलाई बलियो बनाउने र देशमा भ्रष्टाचारलाई अन्त्य गरेर सुशासनको माध्यमबाट देशको आर्थिक विकास र समृद्धि हासिल गर्ने हो ।’ संघीय धर्म निरपेक्ष असफल भएको दाबी गर्दै उनले यसको विकल्प हिन्दू राष्ट्र राजसंस्था र समृद्धि हुनुपर्ने बताए । केन्द्र र स्थानीय गरी दुई तहको राज्य संरचना हुनुपर्ने, जनताद्वारा निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रतिनिधिसभाको लागि प्रत्यक्ष र राष्ट्रिय सभाको लागि समानुपातिक निर्वाचन नियमन कार्यान्वयनको लागि सहमति र सहकार्य वा सर्वपक्षीय सम्मेलन गर्ने र त्यसबाट भएन भने आन्दोलन गर्ने तथा आन्दोलन गर्न राष्ट्रिय मोर्चा बनाएर आन्दोलन गर्दा आफ्नो माग पूरा हुने अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया