एक दिवसीय क्रिकेट : अनिल र भीमको उत्कृष्ट प्रदर्शनमा क्यानडाविरुद्ध नेपालको सानदार जित

काठमाडौं । एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत आज भएको तेस्रो तथा अन्तिम खेलमा अनिल साह र भीम सार्कीको उत्कृष्ट प्रदर्शनमा क्यानडालाई ९ विकेटले हराउँदै नेपालले सानदार जित हासिल गरेको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले नेपाललाई आठ विकेट गुमाउँदै जितकाे लागि २३३ रनको लक्ष्य दिएको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २३२ रन बनाएको हो । त्यसको जवाफी ब्याटिङमा उत्रेको नेपालले ४४.३ ओभरमा एक विकेट गुमाउँदै पूरा गरेको हो ।

नेपालको तर्फबाट ब्याटिङ गर्ने क्रममा ओपनर कुशल भुर्तेल १४ बलमा १३ रन बनाएर आउट भए भने अर्का ओपनर अनिल साह नटआउट रहेर सतक हाने । भुर्तेल आउट भएपछि मैदानमा आएका भीम सार्कीले पनि नटआउट रहेर सतक हाने । अनिल साहले नटआउट रहँदै ११२ तथा भीम सार्कीले नटआउट रहँदै १०१ रन बनाए ।

क्यानडाका लागि नवनित धनिवालले ५० रन बनाए । यस्तै निखिल दत्तले ४५, कप्तान साद विन जाफरले अविजित ३१, हर्ष ठाकेरले २९, श्रीयास मोभाले २५ र श्रीमान्थ विजयरत्नेले २२ रन बनाए ।

बलिङमा नेपालका हेमन्त धामीले तीन विकेट लिए । कुशल मल्ले दुई तथा ललित राजवंशी र आकाश चन्दले समान एक–एक विकेट लिए ।

नेपाले तीन खेलको सिरिज एक खेल अगावै जितिसकेको थियो । पहिलो खेल सात रन र दोस्रो खेल चार विकेटले जितेको नेपाल सिरिजमा २–० ले अगाडि थियो । नेपालले आज क्यानडाविरुद्ध तेस्रो जित निकाल्दै सिरिजमा ‘क्लिन स्विप’ गरेको हो ।

प्रतिक्रिया