काठमाडौं । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले आगामी महासमितिको बैठकमा कांग्रेसलाई आमुल परिवर्तनको लागि ‘१५ बुँदे सङ्कल्प प्रस्ताव’ पेश गर्ने तयारी गरेका छन् । आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा बस्ने महासमिति बैठकमा नेता शाहीले कांग्रेसलाई आमुल परिवर्तनको लागि ‘१५ बुँदे सङ्कल्प प्रस्ताव’ पेश गर्ने जानकारी दिएका हुन् । उनले भने– ‘बिभिन्न जिल्ला र क्षेत्रका महासमिति सदस्यहरुसँग विशेष छलफल र बिचार विमर्श गरेर नेपाली कांग्रेसको आगामी महासमितिको बैठकमा नेपाली कांग्रेसलाई आमुल परिवर्तनको लागि ‘१५ बुँदे सङ्कल्प प्रस्ताव’ पेश गर्दै छु ।’
उनले पेश गर्ने संकल्प प्रस्तावमा पार्टीमा योगदान र कामका आधारमा मूल्याङ्कन हुनुपर्ने विषयलाई प्राथमिकताकासथ उठाउने बताए । उनले भने, ‘गुटका आधारमा होइन कि उसले कति काम गरेको छ ? त्यसका आधारमा मूल्याङ्कन गर्ने प्रणालीको व्यवस्था गर्न जरुरी छ । कुनै पनि पदीय जिम्मेवारी दिंदा पनि व्यक्तिको अनुहार हेरेर होइन, उसको दक्षता र क्षमताका आधारमा दिनुपर्छ । ‘कसैलाई काखा र कसैलाई पाखा नगरौं’ व्यक्ति होइन विचार, पद होइन पद्धति, सत्ता होइन समाज र नेता होइनः नीतिको मूल मर्म र आदर्शमा आधारित नैतिक मूल्य मान्यतासहितको राजनीतिको सुरुवात गर्न नेपाली कांग्रेसले ढिलो गर्नुहुन्न । पार्टीमा विकृति, विसङ्गतिको अन्त्य गरी विधि, नियम, प्रक्रिया र सामूहिकताको आधारमा चल्नुपर्छ ।’
नेता शाहीको अर्को महत्वपूर्ण प्रस्ताव भने जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीकाे व्यवस्था हो । उनले पेश गर्ने तयारी गरेको १५ वुँदे प्रस्तावमा भनिएको छ – ‘अहिलेको मिश्रृत निर्वाचन प्रणालीले अस्थिरता सृजना मात्रै गरेको छ । प्रधानमन्त्रीको ध्यान देशको विकास र समृद्धी भन्दा पनि आफ्नो पद जोगाउन गठबन्धनका सर्तहरु मानेर संसदमा बहुमत जुटाउन मै सम्पूर्ण समय खेर गएको देखिन्छ । वर्ष–वर्षमा सरकार परिवर्तनको फोहोरी खेल चलिराख्दा जनपेक्षित काम सरकारले गर्न सकिरहेको छैन । एउटा प्रधानमन्त्रीले आफ्नो सोच विचार, भिजन, योजना अनुसार काम सुरु गर्न नपाउदै सरकार ढल्ने अवस्था आउछ । त्यसैले स्थिर सरकार, तीव्र विकास, भ्रष्टाचार नियन्त्रण र बलियो सरकार निर्माणको लागि जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री व्यवस्थाका विषयमा पनि छलफल गरिनुपर्ने आवश्यकता एकदमै भैसकेको छ । ‘पाँच वर्ष ढुक्कसँग आफ्नो भिजन र योजना अनुसार काम गर्न कार्यकारी प्रधानमन्त्री व्यवस्था पो उपयुक्त हो कि, अब छलफल गरौं’ । यसैगरि ‘प्रतिनिधि सभा को निर्वाचन प्रणालीमा पनि परिवर्तन गर्न आवश्यक देखिन्छ। अब ‘प्रतिनिधि सभाको निर्वाचनमा सबै सिट प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्न जरुरी छ । अनि ‘राष्ट्रिय सभा’ मा समानुपातिक र समावेशी गरौं ।’
प्रतिक्रिया