स्वतन्त्र सांसद अनिरुद्रप्रसाद सिंहसहित सयौँ नेता–कार्यकर्ता जसपामा प्रवेश

सप्तरी । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले एक कार्यक्रमको बीच पार्टीकै संघर्षबाट मुलुकमा शोषित पीडित जनताले अधिकार, अवसर, सम्मान र पहिचान प्राप्त गरेको बताएका छन् ।

शनिबार सप्तरीको बोदे बरसाइन नगरपालिका– ५ बजारमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा उनले भने, ‘मुलुकमा यसअघि ६ वटा संविधानको निर्माण भयो, शासकहरु बदलियो, राणाशाहीको खात्मा भयो, निरंकुश र निरदलिय नामक तानाशाही व्यवस्था अन्त्य भयो र बहुदलिय व्यवस्था आयो तर कुनै पनि व्यवस्थामा मधेशीलाई अधिकार दिइएन ।’

पहाडका जनजातिलगायतका समूदाय पनि अधिकार, अवसर र पहिचानबाट वञ्चित नै रहेको भन्दै अध्यक्ष यादवले मात्र सरकार र सत्ताको लागि आन्दोलन भएको बताए । ‘ती बेलामा मधेसी जनअधिकार फोरमको नेतृत्वमा मधेस जनविद्रोह भयो र मधेसीलगायत शोषित पीडित जनताको मुक्तिका लागि भीषण लडाई अघि बढ्यो’, उनले भने, ‘जसको परिणाम संघीय गणन्त्र आयो, जुन मधेसीलाई विहारी, धोती भाई भन्ने गरिन्थ्यो तर अहिले नेपालमा मधेस प्रदेशको स्थापना भएको छ ।’

उनले जसपाकै संघर्षले मधेस प्रदेश स्थापना भएको बताए । ‘जसपा हुदैन्थ्यो भने मधेस प्रदेश बन्दैन्थ्यो’, उनले भने, ‘आज सरकारी सेवामा मेधसी, जनजाति, थारु, मुस्लिम, दलित र महिला कोटा सबै ठाउँमा छ र राजनीतिमा पनि धेरै ठूलो परिवर्तन भएको छ ।’

उनले नागरिकताको लडाई हिजोसम्म लड्नु परेको स्मरण गराउँदै भने, ‘जसपाकै संघर्षले नागरिकताको समस्या समाधान भएको छ तर अझै संघर्ष भने रोकिएको छैन, राजनीतिक अधिकारका साथसाथै अब आर्थिक विकासको जरुरत छ ।’

उनले सबै प्रदेशभन्दा उर्वरभूमि मधेस प्रदेशमा रहे पनि सातवटै प्रदेशमा सबैभन्दा बढी गरिबी र बेरोजगारी यहीँ रहेको बताए । ‘विकासको विषयमा कसैले पनि सोचेनन्, राणाकालदेखि नै मधेसी जनताको भूमि अधिग्रहण गर्ने बाहेक अरु गरेनन्’, उनले भने ।

सोही कार्यक्रममा सप्तरीको निर्वाचन क्षेत्र ४ (ख) बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र रुपमा निर्वाचित अनिरुद्रप्रसाद सिंह यादव जसपा नेपालमा पुनः प्रवेश गरेका छन् ।

पार्टी अध्यक्ष यादव, पार्टीका नेता एवं मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, राष्ट्रियसभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, नवनिर्वाचित राष्ट्रियसभा सदस्य पूजा चौधरी लगायतले प्रदेशसभा सदस्य यादवसहित पार्टीमा प्रवेश गरेकाहरुलाई गम्छा, माला र टिका लगाएर स्वागत गरे ।

पछिल्लो निर्वाचनमा जसपाबाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार भई ९ हजार ९ सय ८५ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनका निटतम प्रतिद्वन्द्वी जसपाका उम्मेदवार अभिषेक यादवले ७ हजार ९ सय २० मत प्राप्त गरेका थिए ।

योसँगै मधेस प्रदेशसभामा जसपा नेपालका प्रदेशसभा सदस्यको संख्या १९ पुगेको छ । यसअघि महोत्तरी २ ‘ख’ बाट निर्वाचित स्वतन्त्र सांसद सुरिता साह र पर्सा ३ ‘क’ बाट निर्वाचित स्वतन्त्र सांसद प्रमोदकुमार जैसवाल जसपामा प्रवेश गरेका थिए ।

वृहत् पार्टी प्रवेश कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका अनुपलाल साह, पूर्वकृषि सचिव शंकरलाल चौधरी लगायत विभिन्न पार्टी परित्याग गरी सयौं प्रभावशाली व्यक्तिहरु पार्टी प्रवेश गरेको पार्टीका मधेश प्रदेश मुख्य सचिव दिनेशकुमार यादवले जानकारी दिए ।

जसपा नेपाल सप्तरी ४ (ख) प्रदेशसभा क्षेत्रीय समन्वय समितिका अध्यक्ष मनोजकुमार यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । लोसपा, नेपालका बोदे बर्साईन नगर अध्यक्ष अमरेन्द्रकुमार यादव, माओवादी केन्द्र, नेकपा एमाले, राप्रापा ,लगायत विभिन्न पार्टी परित्याग गरि जसपा नेपालमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया