सानीभेरीमा अधिकृतले आफ्नै श्रीमतीलाई नियुक्त गरेपछि तीव्र आलोचना

रुकुम पश्चिम । माघ २५ गते रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा एउटा नतिजा प्रकाशन भयो । सामुदायिक सहजकर्ताका रुपमा पाचौँ तहको कर्मचारीको नतिजा सार्वजनिक गरिएको थियो । उक्त नतिजा विज्ञापनबिनै निकालिएको भन्दै अहिले चौतर्फी तीव्र आलोचना भएको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकीले आफ्नै श्रीमतीलाई गाउँपालिकाकाे सहजकर्तामा छनौट गरेपछि अहिले जताततै आलोचना बढिरहेको हो । बुढाथोकीले आफ्नो पदीय उपयोग गरी श्रीमतीलाई सहजकर्तामा नियुक्त गरेको भन्दै सामाजिक सञ्जालमा उनको तीव्र आलोचना भएको छ ।

अधिकृतले गाउँपालिकाको सामुदायिक सहजकर्ता पद पाँचौं तहमा श्रीमती शुशिला ओली बुढाथोकीलाई छनौट गरेका हुन् । उक्त पदका लागि लिखित तथा मौखिक परिक्षामा उनकी श्रीमती बुढाथोकी र कल्पना भण्डारी सफल भएका छन् भने अर्का एक जना वैकल्पिकमा छनौट भएका छन् ।

उक्त परिक्षाबिना सूचना र विज्ञापन नगरेरै गरेको भन्दै ती कर्मचारी छनौटको विरोध भइरहेको छ । सानीभेरी गाउँपालिका र ओरेक नेपालको साझेदारीमा हिंसा तथा विपद प्रभावितहरुको लागि महिलामैत्री स्थलमा कार्य गर्ने गरी सहजकर्ताको रुपमा काम गर्ने गरी कर्मचारी छनौट गरिएको हो ।

प्रक्रिया पुरा गरेर मात्रै उनलाई उक्त पदमा नियुक्त गरेको सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले जानकारी दिए । उनले संस्थाको आर्थिक सहयोगमा उक्त पदमा छनौट गरेकाले यसलाई प्रक्रिया विपरित भन्न नमिल्ने बताए ।

प्रमुख प्रशासकीय अधिकृतकी श्रीमतीलाई नियुक्त गरेको भन्दै सञ्जालमा गलत प्रचार भएको उनले बताए । ‘लिखित मौखिक परिक्षाबाट नतिजा प्रकाशन गरेको छ, विधि र प्रक्रियाभित्र रहेर गरिएको कुरा कसरी सिधै नियुक्ती भयो ?’, उनले भने ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया