अर्बौँ खर्च गरे पनि बनेन सेरीपान्तडी सडक

कालिकोट । २८ वर्ष बितिसक्दा पनि सेरीपान्तडी सडक निर्माण हुन सकिरहेको छैन । २०५२ साल भदौ १ गते उद्घाटन गरिएको सेरीपान्तडी सडक अहिलेसम्म निर्माणाधिन अवस्थामै छ । २०५२ सालमा नेपाली सेनाको कार्यदललाई सडक खन्ने कामको जिम्मा दिइएको थियो ।

सामान्य रुपमा सडक खने पनि कुनै नागरिक हिँड्नसम्म नसकिने सडक खनियो । २०५२ सालमा २ अर्ब ५० लाखमा नेपाली सेनाको कार्यदललाई सडक निर्माणको काम दिइएको थियो । सडक निर्माणको काम हुँदै गर्दा २०५९ सालमा पूर्वराजा ज्ञानेन्द्र शाहले सडकको अनुगमन गरेका थिए । अनुगमनपश्चात सडकको लागि विनियोजन भएको रकम सकिएलगत्तै सडक निर्माणको काम पनि ठप्प भयो ।

पुनः २०७४ सालमा उक्त सडक निर्माणका लागि पहलकदमी थालियो । शुभकालिका गाउँपालिकाका प्रथम अध्यक्ष खडानन्द चौलागाई र प्रदेशसभा सदस्य कुर्मराज शाहीको विशेष पहलमा प्रदेश सरकारको ६५ करोड रकम उक्त सेरीपान्तडी सडकलाई दिइयो । आधाउधि कामसमेत भयो तर काम सम्पन्न हुन भने सकेन ।

सडक निर्माणको काम अधुरै रहेपछि पुनः कर्णाली प्रदेश सरकारका तत्कालिन भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री कुर्मराज शाहीको पहलमा कर्णाली प्रदेश सरकारबाट ४४ करोड रकम सेरीपान्तडी सडकलाई विनियोजन गरियो । तर हालसम्म सडक निर्माणको काम भइरहे पनि भौगोलिक विकटताका कारण सडक निर्माणमा जटिलता आयो । विभिन्न मितिमा ठेक्का गर्दै काम गर्न लागेको २८ वर्षसम्म सडक पूरा नहुँदा सेरीपान्तडी सडकको निर्माणमा ढिलाई भइरहेको छ ।

२०५२ सालबाट निर्माण थालिएको खाँडाचक्र नगरपालिकाको सेरी घाटदेखि महावैको पान्तडीसम्मको २३ किलोमिटर सडकको हालसम्म १० किलोमिटर सडकको ट्रयाक खोल्ने काम मात्र भएको छ । सेरीपान्तडी सडक निर्माण कार्य ढिलासुस्ती हुँदा शुभकालिकाको सुकाटिया, राराकाटिया, महावैको गेला, पाद्मघाट, तिलागुफा लगाएत क्षेत्रका नागरिकले दैनिक दुःख भोक्नुपरेको छ ।

शुभकालिका गाउँपालिका निवर्तमान अध्यक्ष खडानन्द्र चौलागाईँले मान्म जोडने सडक निर्माण हुनुभन्दा पहिला २०५२ सालमा सर्भे गरी सेरीघाटदेखि जुम्ला सडक नाम राखेर ५२ सालबाट नेपाली सेनाले कामसुरु गरेको बताए । उनले पछि मान्मबाट सडक खन्ने काम हुँदा त्यो सडक अलपत्र परेको बताए ।

शुभकालिका गाउँपालिकाले पनि यो सडक निर्माण गर्दा अहिलेसम्म अर्बौँ रकम खर्च भएको शुभकालिका गाउँपालिका अध्यक्ष गोविन्द्र प्रसाद आचार्यले बताए । सर्मिला कन्ट्रक्सन दैलेखले हाल सडक निर्माणको जिम्मा लिएको छ । प्यासिफिक कर्ण कन्ट्रक्सले सडक निर्माणका लागि पेटी सडकको जिम्मा दिएको इञ्जिनियर अर्जुन गौतमले जानकारी दिए ।

उनका अनुसार सेरीदेखि पान्तडी सडक खण्डको १३ किलोमिटर ट्रयाक खोल्ने जिम्मा आफूले पाएको बताएका छन् । इन्जिनियर गौतमले आफ्नो कर्ण कन्ट्रक्सनले ३ लाख घनमिटर मोटो, १ लाख घनमिटर कडा चट्याङ, १५ हजार जालीको काम गर्नुपर्ने बताए । १० हजार जालीको काम सम्पन्न भएको र हालसम्म जम्मा १० किलोमिटर सडक निर्माणका लागि ट्रयाक खुल्ला गरिएको गौतममले बताएका छन् ।

कम्पनीले काम छिटो गर्ने लक्ष्य राखे पनि वर्षमा ५ करोडभन्दा बढीको काम गर्न नदिएकाले सडक निर्माणमा ढिलाई भएको उनले बताए । सेरीपान्तडी सडक निर्माणका लागि सडक खन्ने ठाउँमा स्थानीयबासीको जग्गा परेपछि विवाद हुने गरेको छ ।

तर स्थानीय सरकारका जनप्रतिनिधिको पहलमा स्थानीयबासीलाई सम्झाई बुझाई गर्ने काम गरेपछि नागरिकले सडक खन्न दिएको शुभकालिका गाउँपालिकाकी उपाध्यक्ष धर्मकला शाहीले बताइन् । उपाध्यक्ष शाहीले सडक निर्माणका लागि स्थानीय सरकारले पहलकदमी चालिरहेको र माथिल्लो निकायमा पनि कुरा राखेको बताइन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया